
काठमाण्डौँ– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आइतवार अपराह्न ४ बजे सचिवालय बैठक बोलाएको छ । बैठकले सभामुखको उम्मेदवार तय गर्ने बताइएको छ । आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले सभामुखकै विषयमा छलफल गरेका थिए ।
यौन दुर्व्यवहारको आरोप लागेपछि असोजको दोस्रो साता तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधि सभा सभामुखविहीन बनेको थियो । सभामुखका लागि दुवै अध्यक्षले आफूनिकट नेताहरूको दाबी प्रस्तुत गरेका थिए ।
सभामुखको आकांक्षी बनेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले पार्टीले सभामुखको उम्मेदवार तय गरेपछि राजीनामा बुझाउने बताएकी थिइन् । आइतवार बस्ने सचिवालयले उम्मेदवार टुंगो लगाएपछि उपसभामुख तुम्बाहाम्फेले राजीनामा गर्ने अपेक्षा गरिएको छ ।
सभामुखका लागि दुई अध्यक्षबीच शक्ति संघर्ष चलेपछि गतसाता बुधवार प्रचण्डले पार्टीका शीर्षनेतासँग वामदेव गौतमनिवास भैंसेपाटीमा भेला गरेका थिए । अध्यक्ष प्रचण्डले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, संगठन विभाग प्रमुख गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग परामर्श गरेपछि अर्का अध्यक्ष ओलीमाथि सभामुख छोड्न दबाब परेको थियो ।
सभामुखका लागि अग्नि सापकोटा, हरिबोल गजुरेल, सुवासचन्द्र नेम्वाङ, पम्फा भुसाल र देव गुरुङको नाम चर्चामा थियो । उपसभामुख तुम्बाहाम्फे स्वयंले पनि आफूलाई सभामुख बनाउनुपर्ने अडान छाडेकी छैनन् । सभामुखका प्रत्यासी गजुरेलले अध्यक्षद्वयले गरेको निर्णय आफूलाई थाहा नभएको बताए । गजुरेलले भने, ’उहाँहरू बसेर तय गर्नुभएको छ । कसको नाममा सहमति जुट्यो, त्यो चाहिँ मैले बुझ्न पाएको छैन ।’ यसअघि गजुरेलले सापकोटालाई प्रस्ताव गरेका थिए भने सापकोटाले गजुरेललाई सभामुख बन्न प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीमाथि दबाब परेपछि उनले सभामुख पूर्वमाओवादीकै भएपनि हुने तर सरकार सञ्चालनमा पूर्ण सहयोग हुनुपर्ने शर्त राखेको स्रोतले दाबी गरेको छ । अध्यक्षद्वयको पछिल्लो छलफलपछि सभामुखमा सापकोटाको चर्चा बढेको छ ।
सापकोटाले शनिवार अपराह्न अध्यक्ष प्रचण्डलाई भेटेका थिए । स्रोतको दाबीअनुसार प्रचण्डले सापकोटालाई तयार रहन आग्रह गरेका थिए । ‘अग्नि सापकोटालाई सभमुख बनाउने विषयमा लगभग सहमति जुटेको छ, सचिवालय बैठकले आधिकारिक निर्णय गर्नेछ’ प्रचण्ड निकट स्रोतले भन्यो ।
सापकोटाको नाममा प्रचण्डले लामो समय देखि अडान लिएका थिए । सभामुखको उम्मेदवारलाई लिएर अर्का अध्यक्ष ओलीसँग तनाव बढेको समयमा प्रचण्ड ’रिफ्रेसमेन्ट’का लागि सापकोटासँग सिन्धुपाल्चोकको गाउँमा पुगेका थिए । पार्टीमा अप्ठेरो परेको समयमा प्रचण्डले सापकोटासँग परामर्श गर्ने गरेका छन् । पछिल्ला तीनवटा निर्वाचनमा लगातार प्रत्यक्ष निर्वा्चित हुने नेकपाका सीमित नेतामा उनी पर्छन ।
२०६४ सालको संविधानसभा, २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सापकोटा लोकप्रिय मतका साथ सिन्धुपाल्चोकबाट विजयी भएका थिए । राजनीतिमा लाग्नुपूर्व उनी शिक्षक थिए ।
प्रकाशित मिति: ५ माघ २०७६, आईतवार १३:५६