को हुन् सापकोटा ? जसलाई नेकपाले सभामुखको उम्मेद्वार बनायो

काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुखको उमेद्वार बनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सापकोटालाई सभामुखको उमेद्वार बनाउने निर्णय गरेको हो ।

पार्टीका अध्यक्ष केपी शर्मा ओली आफ्नै बफादारका रूपमा रहेका सुवास नेम्वाङलाई सभामुख बनाउनु पर्ने अडानबाट पछि हटेपछि पूर्व माओवादी पृष्टभूमिका अग्नि सापकोटाले सभामुख बन्ने अवसर प्राप्त गरेका छन्।यो सँगै प्रचण्डले आफ्नो जित भएको भन्दै खुसी व्यक्ति गरेको उनी निकट एक नेताकाे भनाइ छ ।

को हुन् सापकोटा ?

नेकपाले सभामुखकाे उम्मेद्वार बनाएका सापकाेटा सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा निवार्चित नेकपाका सांसद  हुन् । सापकाेटाले २०३० सालदेखि राजनीतिमा प्रवेश गरेका थिए । पूर्वमन्त्री समेत रहेका उनी २०५१ सालदेखि माओवादी पार्टीको केन्द्रीय सदस्य बनेका थिए।

हाल नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका सापकोटाले एकतापूर्वकाे  पार्टीमा पनि स्थायी कमिटी सदस्य एवं प्रवक्ताको भूमिका निर्वाह गरेका थिए।

माओवादीमा रहँदा २०६४ र २०७० सालमा संविधानसभा सदस्य बनेका सापकोटा त्यसअघि २०४८ सालमा संयुक्त जनमोर्चा नेपालको तर्फबाट सांसद बनेका थिए।

सापकोटा २०६८ साल बैशाष २२ गते सुचना तथा संचार र २०७२ कात्तिक १ गते वन तथा भु–संरक्षण मन्त्री समेत भईसकेका छन् ।

पूर्व माओवादीको प्रचार तथा स्कूल विभागका प्रमुख समेत रहेका सापकोटले समाजशास्त्रमा स्नात्तकोत्तर गरेका छन्।

२०१४ साल फागुन २४ गते बुवा धनपति र आमा तिलमाया सापकोटाको कोखबाट अग्नी सापकोटाले जन्म लिएका हुन् । जसको एकजना श्रीमती र तीन छोरा रहेका छन् । सापकोटा पार्टीमा प्रचण्डका प्रिय पात्रका रुपमा रहेका छन् ।

प्रकाशित मिति: ५ माघ २०७६, आईतवार २०:०३