१९ जनाको पदावधि सकिने भएपछि राष्ट्रिय सभाको निर्वाचन आज, नतिजा पनि आजै आउने

काठमाडौं – राष्ट्रिय सभाका एकतिहाइ सदस्यको निर्वाचन अन्तर्गत आज मतदान हुदैंछ । आज बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमध्ये सातवटै प्रदेशबाट १८ जना राष्ट्रिय सभा सदस्यमा आज निर्वाचन हुन लागेको हो भने एकजना राष्ट्रपतिले मनोनयन गर्ने्छिन् ।

निर्वाचनमा दुई हजार ५६ मतदाता छन् । जसमध्ये पाँच सय ५० प्रदेशसभा र एक हजार पाँच सय ६ स्थानीय तहका प्रमुख उपप्रमुख छन् । निर्वाचनमा पदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ हुनेछ । १८ सितका लागि विभिन्न दलका गरी ४५ उम्मेदवार छन् ।

राष्ट्रिय सभा निर्वाचनमा नेकपाले १६, नेपाली कांग्रेसले १६, समाजवादी पार्टीले ७ तथा राष्ट्रिय जनता पार्टी राजपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले २–२ जनालाई उम्मेदवार बनाएका छन् । प्रदेश नम्बर–१ मा महिला, दलित र अन्य समूहमा तीनजना, प्रदेश नम्बर–२ मा महिला, दलित, अपांगता वा अल्पसंख्यक र अन्य समूहमा चारजना, वाग्मती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुईरदुईजना र प्रदेश नम्बर–५ मा महिला, अपांगता वा अल्पसंख्यक समुदाय र अन्य समूहका तीनजनाका लागि निर्वाचन हुन लागेको हो ।

यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूह गरी दुई दुईजना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नं २ को जनकपुरधाम उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, वाग्मती प्रदेशको ललितपुर महानगरपालिका–४ वडासमिति भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरलाई मतदानस्थल तोकिएको छ ।

यसैगरी प्रदेश नं ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदानस्थल निर्धारण गरिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङको मसीले विवरण र निर्वाचन चिह्न तथा स्थानीय तहका प्रमुखरउपप्रमुखले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा रातो रङको मसी विवरण र निर्वाचन चिह्न उल्लेख गरी मतपत्र छापेको छ । फागुन २० गते राष्ट्रियसभाका एकतिहाइ अर्थात् १९ जनाको पदावधि सकिने भएपनि रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । मतदान सकिएपछि आज नै नतिजा प्रकाशन गर्नेगरी व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: ९ माघ २०७६, बिहीबार ०९:०४