गाउँपालिका अध्यक्षको कार्यकक्षमा शक्तिशाली बम, सेनाद्वारा डिस्पोज

उदयपुर – उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा भेटिएको शक्तिशाली प्रेसरकुकर बम सेनाले डिस्पोज गराएको छ । १८ नम्बर वाहिनीबाट गएको सेनाको टोलीले मंगलबार बिहान डिस्पोज गरेको हो। अज्ञात समूहले गाउँपालिका अध्यक्ष मेजरकुमार राईको कार्यकक्ष प्रवेशद्धारको दायाँपट्टी बम राखेको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले समयमै वस्तुको पहिचान भएकाले मानवीय र भौतिक क्षतिबाट जोगिएको बताए । उनले नेपाली सेनाको सहयोगमा बम डिस्पोज गर्न सफल भएकोले बताए ।

सोमबार बिहान ९ः ३० बजेको समयमा कार्यालय सहयोगीले कर्मचारीरु प्रवेश गर्ने क्रममा हाते झोलाभित्र कुकर र तारजडित मोबाइलसहित रहेको शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेको गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले जानकारी दिएका थिए ।

बम फेला परे लगत्तै इलाका प्रहरी कार्यालय लिम्चुङ्गबुङ्गले घटनास्थललाई कडा सुरक्षाका साथ घेरा हालेर राखेको थियो । भौगोलिक कठिनाईकाकारण २४ घण्टापछि डिस्पोज गरिएको एसपी बुढामगरले बताए ।

उनले भने, ’जानकारी पाए लगत्तै सेनासँग समन्वय गरेर टोली परिचालन गरियो, तर घटनास्थल पुग्ने एक दिन लाग्ने भएकाले डिस्पोजल गर्न केही ढिलाइ भयो ।’ एसपी मगरका अनुसार डिस्पोजल टोली सोमबार अबेर पुगेकोले सो स्थानमा केही सर्च गरिए पनि अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिइएको बताए । गाउँपालिका अध्यक्ष मेजरकुमार राईले कुनै समूहले अहिलेसम्म आफूसँग चन्दा नमागेको र बम नै राख्ने गरी बिबाद पनि नभएको बताए । अन्नपूर्ण

प्रकाशित मिति: १४ माघ २०७६, मंगलवार १२:०६