
सुर्खेत – कर्णाली प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले आगामी शुक्रबार सुरु हुने प्रदेशसभाको हिउँदे अधिवेशनको प्रारम्भमा विधेयक दर्ता गर्ने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले शान्ति सुरक्षा कायम, अपराधको अनुसन्धान, रोकथाम तथा नियन्त्रण गर्न प्रदेश प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन र नियमन गर्ने उद्देश्यले प्रदेश प्रहरी कानून ल्याउन लागेको जानकारी दिए । उनले नेपाल प्रहरीलाई प्रदेश प्रहरीमा समायोजन गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी समन्वय तथा सुपरिवेक्षण गर्न बनेको विधेयकका आधारमा मस्यौदा तयार पारिएको बताए ।
प्रस्तावित विधेयकमा प्रदेश प्रहरी सेवामा जनपद र प्राविधिक गरी दुई समूह रहनेछन् । त्यस्तै, श्रेणी वा तह संघीय कानूनको मापदण्डमा रही प्रदेश सरकारले निर्धारण गर्ने, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको समितिले प्रदेश प्रहरीको सङ्गठन, संरचना र संख्या निर्धारण गर्ने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति: २० माघ २०७६, सोमबार १४:१४