सुशासन र सेवा प्रवाहलाई व्यवस्थित बनाउन सुशासन मापन विधि सुरु

सल्यान– सल्यानको कपुरकोटमा सुशासन र सेवा प्रवाहलाई व्यवस्थित बनाउनका लागि सुशासन मापन विधि कार्यान्वयन गरिने भएको छ । पारस्परिक जवाफदेहीता परियोजना अन्तर्गत कपुरकोट ३ मा रहेको धनवाङ स्वास्थ्य चौकीमा निर्णय प्रक्रियामा समुदायको सहभागिता बढाउन, वार्षिक योजना र स्वास्थ्य सेवा सुधार योजनाको सही रुपमा कार्यान्वयन गर्नका लागि सुशासन मापन विधि सुरु गरिएको हो । आईतबार यस विधिका बारेमा अभिमुखिकरण गरिएको र सोमबार सुशासन मापनका सूचकहरुका विषयमा छलफल गरिएको परियोजनाका जिल्ला अधिकृत दिपेन्द्र शाहीले जानकारि दिए ।


सोमबारको कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेनले विकास र सुशासन एक अर्काका परिपुरक भएको बताउँदै सुशासन विनाको विकास अपुरो हुने बताए । पारदर्शिता, जवाफदेहिता, विधिको शासन, समताको लागी सबै क्षेत्र उत्तीकै जिम्मेवार बन्नुपर्नेमा उनको जोड थियो ।

पारस्परिक जवाफदेहीता परियोजना अन्तर्गत वडा स्तरबाट विभिन्न समस्याहरु पहिचान गरेर पालिका स्तरिय साभेदारी मञ्चमा आउने गरेको उल्लेख गर्दै अध्यक्ष सेनले समस्या समाधानका लागी कार्यपालिका र गाउँसभाले आवश्यक निर्णय लिने गरेको बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले स्वास्थ्य लगाएत सबै क्षेत्रमा सुशासन कायम गर्न र सेवा प्रभावकारी बनाउन सेवा प्रदायक र सेवा ग्राही सबै जिम्मेवार बन्नुपर्ने बताईन् ।


कपुरकोट ३ का वडाध्यक्ष तथा स्थानीय सभाका अध्यक्ष मिन बहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका विषयगत शाखाका प्रमुख, शिक्षक, विद्यार्थी, संचारकर्मी, नागरिक समाज, व्यापारि लगाएतको सहभागीता थियो । शंकर केसीले सहजिकरण गरेको कार्यक्रममा एफएचआई ३६० का खड्ग रम्तेल, हरप्लेस नेपालका परियोजना ब्यवस्थापक दिपकमान श्रेष्ठ लगाएतले सुशासन मापन विधिका बारेमा प्रष्ट पारेका थिए ।

प्रकाशित मिति: २७ माघ २०७६, सोमबार १४:०२