
काठमाडौं– सरकारले दुईबर्ष पुरा गरेको अवसरमा संसदमा नेताहरुले सरकारका कामकारबाहि बारे बालेका छन् । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले दुई वर्षमा दुईवटा पनि राम्रो काम गर्न नसकेको प्रतिक्रिया दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका दुई वर्षका काम र प्रगतिको विषयमा जानकारी गराएपछि देउवाले सरकारले दुईवटापनि राम्रो काम गर्न नसकेको बताएका हुन् । संसद बैठकपछि पत्रकारहरुसँग छोटो कुरा गर्दै सभापति देउवाले भने, ‘दुई वर्षमा दुईवटा पनि महत्वपूर्ण काम गरेको देखिदैन् ।’
पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले दुई तिहाईको सरकारले अर्थतन्त्र तथा सामाजिक क्षेत्रमा गुणात्मक परिवर्तनको काम गर्ने जनताको अपेक्षा पुरा नगरेको बताए । उनले भने, ‘विगत देखि हुँदै आएका केही कुराहरुका सकारात्मक सूचकहरु जस्तै विजुली पुरानै प्रोजेक्टहरु थिए अहिले बने र अहिले १२ सय मेगावाटसम्म बन्यो, भन्ने कुरो त कहिंयौ वर्षदेखि बन्दै आएका थिए यो वर्ष पुरा भए संयोगले त्यो चाहिं आफ्नो कारणले भयो भन्नुहुन्छ र अरु पुरा हुन नसकेका नबनेका चाहिं पुरानो विरासतले भनेर धेरै पटक पुरानो विरासतले भन्नुभयो यसरी पन्छाउने कुतर्क गर्ने शोभनिय कुरा होइन् । यस अर्थमा पनि मैले सुध्र्रने संकेत देखिन् ।’ उनले प्रधानमन्त्री ओली कै विषयमा चिन्तित हुनुपर्ने अवस्था रहेको बताए । सरकारका काम निराशाजनक छ भनेर आफ्नै पार्टीले भनेको अवस्थामा त्यसलाई स्वीकार गरेर सच्याउने दिशामा जाने भन्दापनि अत्यन्त अहंकारपूर्ण ढंगले र प्रतिक्रियात्मक ढंगले प्रस्तुत भएको बताए ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री ओलीले राम्रो भाषण गरेको बताए । उनले भने, ‘प्रधानमन्त्रीको भाषण अनुसार जनताले अनुभुति गर्न पाएका छैनन् । खै सुन्दाखेरी त कतिन राम्रो गरेको छ भन्ने लागेको होला, भाषण त धेरै राम्रै थियो तर त्यो अनुसार मुलुकमा जनताले अनुभुति गरेको छ कि छैन् त्यो मुख्य सवाल हो मलाई लाग्दैन उहाँले भनेजस्तै जनताले त्यही अनुसार प्राप्त गरेको छ अनुभुति गरेको छ सम्झेको छ, त्यो अनुसार चाहिं पटक्कै होइन् । उहाँले सबै कुरा राम्रो देख्नुभएको छ । तर मुलुकमा सबैकुरा राम्रो भएको छैन् ।’ उनले सरकारको यो प्रवृतिले संविधानको औचित्य कुनैदिन समाप्त हुने समेत बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले भने सरकारको पाँच वर्ष मध्ये दुई वर्षमा आधार तयार भएको बताए । उनले भने, ‘जनतामा अपेक्षा छ । आशा छ । बढी र यो विगतमा जे जे भयो र जे प्रकारका अप्ठ्याराहरु हामीले सामना गरेर यहाँ सम्म आइपुग्यौं, त्यो हेर्दा जनतामा अपेक्षा र आशा बढी हुनुलाई अन्यथा मान्नुपनि हुँदैन । अहिले हामीले एउटा आधार तयार गरेका छौं र बाँकी रहेको यो तीन वर्षमा हामीले जनता समक्ष गरेका प्रतिवद्धताहरुलाई पुरा गर्ने ठोस आधार तयार गरेका छौं ।’
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुइवर्षको अवधिमा केही काम गर्न नसकेपनि सरकारले बोल्ने काम चाहिँ गरेको बताए । उनले विकास बजेट खर्च गर्न नसकेको स्वीकार प्रधानमन्त्री स्वयंले गरिसकेको र जनतालाई चित्त बुझ्दो काम गर्न नसकेको प्रष्ट भइसकेको बताए । उनले भने, ‘उहाँले आफ्नो दुई वर्षको कार्याकालको फेहरिस्त प्रस्तुत गर्नलाई प्रयास गर्नुभयो । त्यहाँ उल्लेखनिय कामहरु केही भएको छैन् । काम नै केही भएको छैन भने त्यसको कत्तिको दम रहन्छ । दमदार रहेको प्रस्तुति यसपटक उहाँले गर्न सक्नुभएको छैन् । म भ्रस्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने कुरामा भ्रष्टाचारीहरुको काण्डहरु कतिको भइरहेको छ के भइरहेको छ भन्नेकुरा आम जनताले हरेक दिन हरेक पल प्रश्न उहाँमाथि राख्दैछन् ।’
नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्री ओलीले गरेको व्याख्या व्यवहारमा नमिल्ने बताए । उनले महँगी बढेको र असुविधा बढ्रदै गएका कारण नेपाली जनता निराश भएको बताए । उनले भने, ‘खास गरेर २ वर्षको सरकारको उपलब्धिको बारेमा जति प्रधानमन्त्रीले ब्याख्या गर्नुभयो त्यो ब्यवहार सँग नमिल्दो छ अहिले नेपाली जनतामा निराशा छाएको छ नेपाली जनता महंगीबाट आक्रान्त छन् । अशुविधाबाट आक्रान्त छन् । र जुन सपना बाँडिएको थियो र जुन सपनाको बारेमा अहिले ब्याख्या गरिएको छ त्यो केवल ब्याख्या छ यो वास्तविकतासँग यसको कुनै मेल छैन् ।’
नेपाली कांग्रेसका अर्का नेता दिलेन्द्रप्रसाद बडुले संघीय संरचनापछि पहिलो र सबैभन्दा बलियो सरकार बनेको अवस्थामा पनि बजेट खर्च गर्न नसक्नुले सरकारले काम गर्न नसकेको स्पस्ट हुने बताए ।
त्यस्तै नेपाली कांग्रेसका नेता राजेन्द्र केसीले प्रधानमन्त्री ओलीले दुई वर्षमा केही काम गर्न नसकेपनि आफ्नो कर्मकाण्ड पुरा गरेको बताए ।
समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले अस्थिर राजनीति भएको देशमा दुई वर्ष सरकार चल्नु नै उपलब्धि भएको जसरी प्रस्तुत भएको बताए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको प्रगति सुनेर कांग्रेस लगायतका प्रतिपक्षी दलहरु छक्क परेको प्रतिक्रिया दिए । उनले भने, ‘कांग्रेसबाट विरोध आएन कांग्रेस चुप्प लागेर सुन्यो र प्रगति सुनेर कांग्रेस आफै छक्क प¥यो । किन भने तथ्याङ्क यही हो र जनताको बिचमा पनि यो पुग्छ । हामीले जे काम गरेका छौं त्यो प्रधानमन्त्री ज्यूले राम्रोसित राख्नुभायो र त्यसप्रति कांग्रेसको तर्फबाट प्रश्न आयो विरोध आएन । प्रधानमन्त्री ज्यूले त्यसको पनि जवाफ दिनुभयो र ती तथ्याङक मै आधारीत थिए ।’
अर्थमन्त्री डा. युवराज खतिवडाले केही ठूला संरचना निर्माणमा स्वभाविक समय लाग्ने भएपनि तत्काल गर्न सकिने कामहरु सम्पन्न भएको बताए । सरकारले दुई वर्षमा सामाजिक सुरक्षा लागयतका धेरै राम्रा कामको सुरुवात गरेको उनको भनाई छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नवराज सिलवालले सरकारले दुईवर्षमा उत्साहजनक काम गरेको बताए ।
संघीय संरचनापछि सरकार गठन भएको दुई वर्ष पुरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार सरकारले गरेका कामहरुको फेहरिस्त प्रतिनिधिसभामा प्रस्तुत गरेका थिए । उनले भ्रस्टाचार न्यूनिकरणमा जोड दिएको र विकासको आधार तयार भइसकेको बताएका थिए । त्यस्तै प्रधानमन्त्री ओलीले मुलुकका अधिकांश आर्थिक तथा सामाजिक सूचकहरुमा उल्लेख्य सुधार भएको भन्दै सरकार सफलताको पथमा स्पष्ट पारेका छन् ।
प्रकाशित मिति: ३ फाल्गुन २०७६, शनिबार २०:३९