
काठमाडौं–८, फागुन। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गोकुल बाँस्कोटाको राजीनामापछि रिक्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थ मन्त्री युवराज खतिवडालाई दिएका छन्।
त्यस्तै, सहरी विकास मन्त्रालयको जिम्मेवारी वसन्त नेम्वाङलाई दिएका छन्। वसन्त नेम्वाङले अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्दै आएका छन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डरीले मन्त्री खतिवडालाई सञ्चार मन्त्रालय र नेम्वाङलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी हुन्।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका विषयमा छलफल भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले बिहीबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।
प्रकाशित मिति: ८ फाल्गुन २०७६, बिहीबार १८:५४