कभर खबर

  • ९ फाल्गुन २०७६, शुक्रबार २१:३५

सिम्तामा मुख्यमन्त्रीको सम्बोधन, राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकासमा जाेडिने

‘अझै पनि गाउँ घरमा महिला हिंसा तथा जातीय छुवाछुतलगायतका हिंसा सामाजिक विभेदका रुपमा रहेको छन । यसको अन्त्य गर्न प्रदेश सरकारले कदम चाल्ने छ ।’

सुर्खेत– ९, फाल्गुन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकासमा जोडेको बताउनु भएको छ ।

मुख्यमन्त्री शाहिले शुक्रबार सुर्खेतको सिम्ता गाउँपालिकामा शिवरात्री महोत्सव तथा दोस्रो अध्यक्ष कप रनिङ सिल्डको उद्घाटन गर्दै आफुले राजनीतिक परिवर्तनसंगै आवश्यकताका आधारमा भौतिक पूर्वाधार निर्माणलाई प्राथामिकता दिएको दाबी गर्नुभयो । उहाँले अहिलेसम्म कर्णालीका जनता अध्याँरोमा बसेको स्मरण गर्दै प्रदेशलाई अब उज्योलो प्रदेशका रुपमा विकास गर्ने बताउनुभयो । प्रदेशमा अझै पनि विभिन्न प्रकार हिंसाहरु भईरहेको बताउँदै उहाँले भन्नुभयो, ‘अझै पनि गाउँ घरमा महिला हिंसा तथा जातीय छुवाछुतलगायतका हिंसा सामाजिक विभेदका रुपमा रहेको छन । यसको अन्त्य गर्न प्रदेश सरकारले कदम चाल्ने छ ।’ मुख्यमन्त्री शाहि देशभर भ्रष्टाचार बढेको कुरा उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘मानिसहरुको मानसिकता कसरी पैसा कमाउने भन्ने तिर गएको छ । त्यसकै कारण मुलुकमा भ्रष्टाचार बढ्दै गएको हो ।’ उहाँले आफ्नो प्रदेश भ्रष्टाचार न्युनिकरणमा कटिबद्ध रहेको बताउनुभयो ।

राणा शासन, पन्चायत र बाहुदल सरकारले गर्न नसकेको काम कम्युनिष्ट सरकारले दश बर्ष भित्रै गरेको मुख्यमन्त्री शाहिले दाबी गर्नुभयो । उहाँले विकास निर्माणको काममा तीनवटै सरकार लागि परेको र त्यसको लागि पहिला जनताको जीवन स्तर र आर्थिक स्रोत वृद्धि गर्न तीनै तहका सरकार लागि परेको बताउनुभयो ।

नेपाल भ्रमण बर्ष संगै जोडेर आयोजना गरिएको शिवरात्री महोत्सव तथा अध्यक्ष कप रनिङ सिल्ड प्रतियोगितालाई गाउँपालिकाको कोटस्थित थुम्का मन्दिरमा सम्बोधन गर्दै मुख्यमन्त्री शाहिले विगतका तुलनामा शिवरात्री महत्व र महिमामा फरक पर्दै गएको बताउनुभयो। कार्यक्रमका अवसरमा उहाँले सिम्ता गाउँपालिका हरेक विकास निर्माणका काममा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले गाउँपालिका भित्र ३९.१५ गरिबी रहेको जनाउदै आफ्नो कार्यकाल भित्र ३०.५ मा झार्न संघ र प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले प्रत्येक वर्ष पर्यटन महोत्स लगायतका कार्यक्रम आयोजना गर्दै विभिन्न पदमा बसेका व्यक्तिलाई अथिति बनाएर सिम्ताको विकास र समस्याको बारेमा जानकारी गराएको स्पष्ट पानुभयो ।

मुख्यमन्त्रीसहित सुर्खेत क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य धुर्वकुमार शाहि र प्रदेशसभा सदस्य ठम्मर विष्टको पनि सहभागिता रहेका थियो । यसका साथै सल्यानको बन्गाड कुपिण्डे नगरपालिका उप–प्रमुख मन्जु यरी, जाजरकोटको नलगाड नगरपालिका उप–प्रमुख वालकुमारी बस्नेत र बारेकोट गाउँपालिका उपाध्यक्ष ओम कुमारी शाहि लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

दोश्रो अध्यक्ष कप खेलकुद प्रतियोगितामा १२ पुरुष भलिबल टिम, २ महिला टिमको सहभागिता रहेको छ । यसबाहेक व्याडमिन्टन, म्याराथन, म्युजिकल चेयर लगायतका खेलहरु गर्ने आयोजकले जनाएको छ । कार्यक्रम ११ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति: ९ फाल्गुन २०७६, शुक्रबार २१:३५