
सल्यान- सल्यानका एक युवा नेताले प्रहरीलाई तीन सय ५० थान मास्क र एक हजार थान ग्लोभ्स प्रदान गरेका छन् । कोरोनो भाईरसको रोकथाम गर्न भन्दै देशमा लकडाउन भएको अवस्थामा ड्युटीमा खटिने सुरक्षाकर्मीलाई संक्रमणको जोखिम हुने भन्दै सुरक्षा सामग्री वितरण गरिएको हो । नेपाली काग्रेस शारदा नगरपालिकाका नगर सभापति सचेत शाहले जिल्लाभरका प्रहरीलाई पुग्ने गरी मास्क र ग्लोभ्स सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् ।
शनिबार जिल्ला प्रहरी कार्यालयमा सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडालाई शाहले सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री ग्रहण गर्दै खतीवडाले नेता शाहलाई धन्यवाद दिएका छन् । संकटको यस घडीमा यो सहयोगले सुरक्षाकर्मीलाई आफ्नो ड्युटी गर्नको लागि थप हौसला र मद्दत पुग्ने उनले बताए ।
नगर सभापति एवम् कांग्रेस युवा नेता शाहले महामारीको कारण कुनै नागरिकको पनि ज्यान जाने अवस्था आउन नहुने धारणा राख्दै सर्वसाधारणको सेवाको लागि प्रहरीलाई धन्यवाद दिएका छन् । शाहले आवश्यकता अनुसार सशस्त्र प्रहरीलाई पनि सामाग्री उपलव्ध गराउने बताएका छन् ।
प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार १७:३१