नेकपामा ओली पक्षधर र प्रचण्ड–नेपाल समूहकाे छुट्टाछुट्टै हस्ताक्षर संकलन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसदहरूले हस्ताक्षर संकलन सुरु गरेका छन् । अध्यक्ष पद नछाडे प्रधानमन्त्रीबाट पनि हटाउने तयारी भएको भन्दै ओली पक्षले संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन संघीय संसदका सदस्यहरूको हस्ताक्षर संकलन सुरु भएको हो ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार पनि ओली पक्षीय सांसदहरूको भेला भएको छ । राजधानीबाहिर रहेका सांसदहरूलाई पनि काठमाडौं  लगिदै छ।

 सचिवालय बैठकमा स्थायी कमिटी बैठकको प्रस्ताव आउने भएकाले ओलीले संसदीय दलमा बहुमत जुटाएर दलको बैठक बोलाउन प्रस्ताव लैजान खोजेका छन् । एक सांसदले भने, ‘स्थायी कमिटी होइन, प्रधानमन्त्री चयन गर्ने संसदीय दलले हो । त्यसो भए संसदीय दलमै चुनाव गरौँ, म दलमै फेस गर्छु भन्नुहुन्छ प्रधानमन्त्रीले । प्रधानमन्त्री फेर्ने हो भने अब संसदीय दलको बैठक हुन्छ ।’

प्रधानमन्त्रीले पछिल्ला तीन/चार दिनयता लगातार सांसदहरूसँग भेटेर उनीहरूका कुरा सुनिरहेका छन् । सांसदहरूसँग प्रधानमन्त्रीले कमी/कमजोरी हटाउने, अबदेखि पार्टीसँग सल्लाह गरेर चल्ने तर हटाउन खोजिए सबै परिस्थितिको सामना गर्ने बताएका छन् ।

प्रधानमन्त्रीको पक्षमा प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी एक सय १५ जना सांसदले साथ दिने ओलीनिकट नेताहरूको दाबी छ । बुधबार बिहानसम्म सुदूरपश्चिम प्रदेशका नेकपाका १९ सांसदमध्ये १६ जना आफ्नो पक्षमा उभिएपछि ओली पक्ष उत्साहित भएको छ ।

प्रचण्ड–नेपाल समूहले पनि सुरु गरे हस्ताक्षर

प्रधानमन्त्री केपी ओलीले दलमा बहुमतसिद्ध गर्ने तयारी गरेसँगै प्रचण्ड– नेपाल समूहले पनि हस्ताक्षर सुरु गरेका छन् ।

“हामीले पनि हस्ताक्षरको तयारी गरेका छौं,” नाम नबताउने सर्तमा एक सांसदले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहानैदेखि प्रतिनिधिसभा सदस्यहरूलाई बोलाएर बिहानैदेखि हस्ताक्षर गराइरहेका छन् । हस्ताक्षर अभियानले ओली बहुमतमा देखाएको कृष्ण राईले बताए । ओलीले हस्ताक्षर सुरु गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि जवाफ दिएका हुन् ।

अध्यादेश प्रकरणपछि नेकपा विवाद उत्कर्षमा छ ।

प्रकाशित मिति: १७ बैशाख २०७७, बुधबार १६:४२