
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्षबीच समाधान खोज्ने सहमति भएको छ । आइतबार साक्षी समेत राखेर भएको छलफलमा समाधान खोज्न दुवै पक्ष सहमत देखिएका हुन् ।पार्टी र सरकार सञ्चालनका सन्दर्भमा देखिएको अन्तरविरोध हलक्कै बढेर विभाजनको सन्निकट पुगेपछि नेकपाहरू असमझदारीको बीचबाट सहमति खोज्ने प्रयास थालेका हुन् । र, उनीहरूले विभिन्न विकल्पबाट साझा विन्दुको खोजीको जुटेका हुन् ।
“दुवै अध्यक्षहरू विषयमा प्रवेश गर्नुभएको छ,” छलफलमा सहभागी एक नेताले भने, “तिक्तता असाध्यै झाँगिइसकेको थियो । आजको बैठक तुलनात्मक रूपम सौहार्द भयो ।”उनका अनुसार भोलिबिहान बैठक बसेर थप छलफल गर्ने समझदारी जुटेको छ । त्यतिञ्जेल दोस्रो पक्षका नेताहरू बसेर सहमतिको प्रस्ताव तयार पार्ने अनौपचारिक सहमति भएको नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने ।
बैठकका साक्षी बसेका हैसियले ओलीका तर्फबाट ईश्वर पोखरेल, महासचिव विष्णु पौडेलले भूमिमा खेल्ने र प्रचण्डका तर्फबाट जनार्दन शर्मा र वर्षमान पुनले सहमतिको विन्दु खोज्न सघाउने दुई अध्यक्षबीच समझदारी भएको पौडेलको भनाइ छ ।“उहाँहरू आज थप छलफल गर्नुहुन्छ,” उनले भने, “हामीले अध्यक्ष प्रचण्डलाई भेटेरै एकताका लागि जोड दिनुस् भनेका छौं । अरू नेताले भूमिका खेलिराख्नु भएको छ । आजको छलफलले पनि संवादको ढोका खोलेको छ,” उनले भने ।
प्रधानमन्त्रीको प्रेस सल्लाकार सूर्य थापाले पनि बैठक सौहार्द बनेको र विषयमा प्रविष्ट भएको जानकारी दिए । दुवै पक्षका नेताहरू बसेर सहमतिका विकल्पहरू तयार पारेपछि भोलि दुई अध्यक्ष बस्ने र थप छलफल गर्ने समझदारी जुटेको छ । त्यसपछि स्थायी कमिटीको बैठक बस्ने उनले बताए ।
प्रकाशित मिति: २१ असार २०७७, आईतवार १६:४२