बालुवाटार छलफल फेरि तिक्ततातर्फ, शीर्ष नेता भन्छन्- सहमतिमा ओली आउनै चाहेनन्

काठमाडौं । बालुवाटार छलफल फेरि निराशामा परिणत भएको छ । पार्टीभित्र संकट गहिरिँदै गएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सघन वार्तामा बसेका थिए ।

आइतबारको छलफलले सहमतिको संकेत गरे पनि सोमबारको छलफल निराशामा बदलिएको एक नेताले जानकारी दिए । प्रधानमन्त्री केपी ओली आइतबारको कुराकानीबाट समेत पछि हटेको स्रोतको दाबी छ ।

“केपी ओली हिजो मिलेर जानुपर्छ, सहमतिको विकल्प छैन भन्दै हुनुहुन्थ्यो । आज त नमिल्ने गरी आउनुभएको रहेछ । विषय जहाँको तहीँ छ । केही मिलेको छैन,” शीर्ष नेता स्रोतले भन्यो । स्रोतका अनुसार बालुवाटारमा आज बिहान ९ बजेबाट छलफल भएको थियो । र, छलफल १०:५० सम्म चलेको थियो । जनै पूर्णिमाको शुभकामनाबाट आदनप्रदान भएको कुराकानी तिक्ततामा पुगेर टुङ्गिएको ती नेताको दाबी छ ।

कुराकानीको आरम्भमै अध्यक्ष प्रचण्ड र झलनाथ खनालले स्थायी कमिटी बैठक सुचारु गर्नुपर्ने कुरा राखेका थिए । बैठक अनिर्णयको बन्दी बनेको र अहिले त अनिश्चितकालसम्म स्थगित रहेकाले तुरुन्तै बोलाउनुपर्ने उनीहरूको अडान थियो । तर, प्रधानमन्त्री ओलीले स्थायी कमिटीमा नजाऊँ बरु सचिवालय बसेर टुङ्ग्याऊँ भनेर अडान राखेपछि कुराकानी बिग्रिएको ती नेताको दाबी छ ।

“हिजो उहाँ मिलेर जानुपर्छ भन्दै हुनुहुन्थ्यो । अहिले सचिवालयको रटान लगाइरहनुभएको छ । सचिवालयमा बहुमतसिद्ध गरेर अहिलेको समस्याले निकास पाउने पनि होइन,” ती नेता भन्छन् । आजको छलफलमा सुवास नेम्वाङ पनि सहभागी थिए । भोलि पनि बैठकलाई निरन्तरता दिनेगरी आजको बैठक सकिएको बालुवाटार स्रोतले जानकारी दियो ।

प्रकाशित मिति: १९ श्रावण २०७७, सोमबार १२:०६