कभर खबर

  • २० श्रावण २०७७, मंगलवार १९:१०

एकहप्ता अगाडी कांग्रेस प्रवेश गरेकाहरु पुनः नेकपामा फर्किए

सल्यान, २० साउन ।एकहप्ता अघि नेपाली कांग्रेसमा प्रवेश गरेका नेकपाका कार्यकर्ता पुनः नेकपामै फर्किएका छन् ।

सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाका एक सय ५१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसले नगर कार्यसमिति भेला गराएर उनीहरुलाई पार्टी प्रवेश गराएको थियो । त्यसमध्ये अधिकांश नेकपाका कार्यकर्ता भएको कांग्रेस सल्यान जनाएको थियो । तर पार्टी प्रवेशको एकहप्ता पनि नवित्दै उनीहरु नेकपामा फर्किएका हुन् ।

नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक तथा सल्यान ‘क’ का सांसद गुलाव जंग शाहले फर्किएकाहरुलाई पुनः पार्टीमा स्वागत गरेका छन् ।

यसअघि उनीहरुलाई कांग्रेस नेता डिल्लीराज रेग्मी, केशबहादुर विष्ट, निमबहादुर वली र सुरेश अधिकारीले पार्टी प्रवेश गराएका थिए । तर प्रवेश गराएको एकहप्ता नवित्दै कांग्रेसका ८ कार्यकर्तासहित ८१ जना नेकपामा सामेल भएका छन् ।

बनगाड कुपिण्डे नगरपालिकाको वडा नं.८ बावियाचौरमा एक कार्यक्रमको आयोजना गरी सांसद शाहले उनीहरुलाई पुनः पार्टीमा फर्किएको घोषणा गरेका हुन् ।

कार्यक्रमका अवसरमा सांसद शाहले विकास निर्माणका काम गर्दा जनप्रतिनिधिले जनतासंग साझेदारी गर्नुपर्ने बताए । शाहले जनताको साझेदारी विहिन तरिकाले गरिएका कुनै पनि योजना प्रभावकारी नहुने बताए ।

पार्टी फर्किए कार्यकर्ताहरुले नेतृत्वले पटकपटक दुःख दिएको, विकास निर्माणमा सहभागिता नगराएको र जनप्रतिनिधिले एकलौटी निर्णय लिएको आक्रोशमा अरु पार्टी प्रवेशको नाटक गरेको भएपनि विचार नेकपासंगै रहेको बताएका छन् ।

प्रकाशित मिति: २० श्रावण २०७७, मंगलवार १९:१०