
सुर्खेत – कर्णाली प्रदेशका नेकपा प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविस्वासको प्रस्ताव ल्याउनुपर्ने माग गर्दै पार्टीमा निवेदन दर्ता गराएका छन् । प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने १८ सदस्यहरुले नेकपाको प्रदेश सभाको संसदीय दलका सचेतकलाई पत्र बुझाएका हुन् ।
संसदीय दलमा बुझाइएको पत्रमा यसअघि मुख्यमन्त्रीको चर्चामा रहेका यामलाल कँडेलले पनि हस्ताक्षर गरेका छन् । पत्रमा शाही मुख्यमन्त्रीमा निर्वाचित भएसँगै सरकार र संसदीय दलको नेतृत्व प्रभावकारी नभएको आरोप लगाइएको छ । साथै दल र सरकारको काम कारवाहीमा पनि यसको प्रभाव परेको भन्दै पत्रमा जनस्तरमा पार्टी र सरकारको उपस्थिति फितलोसमेत भएको आरोप लगाइएको छ ।
प्रदेशसभाको संसदीय दलको विधान अनुरुप संसदीय दलको नेता उपर विश्वास नभएकोले अविश्वासको प्रस्ताव दर्ता गराएको उल्लेख छ । साथै पत्रमा यथासक्य संसदीय दलको बैठक आयोजना गरी मार्ग प्रशस्त गर्नसमेत माग गरिएको छन् । कर्णालीमा ४० प्रदेश सभा सदस्यमध्ये ३३ जना नेकपाका सदस्य छन् ।
शाही मुख्यमन्त्रीभन्दा पनि आफ्नो व्यापार व्यवसायमा बढी सक्रिय रहेको नेकपाका नेताहरु नै बताउंछन् । शाहीमाथी सुर्खेतभन्दा बढी काठमाण्डौंमा वस्ने गरेको र प्रदेशको पार्टीलाई समेत व्यवस्था गर्ने गरेको आरोप छ ।
प्रकाशित मिति: २५ आश्विन २०७७, आईतवार १५:१०