कभर खबर

  • ४ कार्तिक २०७७, मंगलवार २१:४९

कर्णालीमा अविश्वास प्रस्ताव र मुख्यमन्त्रीको निर्णय बदर ! तर अनेकथरी प्रेस नोट किन ?

कर्णाली- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कर्णाली विवादबारे चार बुँदे सहमति भएको बताइएको छ । मंगलबार बिहान ओली र प्रचण्डबीच भएको भेटघाटमा भएको सहमतिको प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाले जारी गरेको प्रेस नोटमा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने निर्णय भएको उल्लेख छ । त्यस्तै, प्रमुख सचेतकमा मुख्यमन्त्रीले नियुक्त गरेकी सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने सहमति भएको पनि उल्लेख छ ।

त्यस्तै मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको सल्लाहकार थापाले जनाएका छन् ।

थरिथरिका प्रेस नोट

यद्यपि थापाले प्रेस नोट सार्वजनिक गरेलगत्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले अध्यक्षद्वयबीच कुनै सहमति नभएको भन्दै अर्को प्रेस नोट सार्वजनिक गरे । त्यसपछि प्रचण्डका प्रेस संयोजक जुगलले अर्को प्रेस नोट सार्वजनिक गर्दै कर्णालीको पार्टी कमिटी र संसदीय दललाई नै विवाद समाधान गर्न दिने गरी समझदारी बनेको हो ।

अध्यक्षद्वयबीच भएको भेटघाटका बारेमा प्रेस सल्लाहकारहरूले फरक फरक सूचना सम्प्रेषण गरेपछि आम जनता झुक्किएका छन् । छलफलमा के समझदारी बनेको हो भन्ने प्रश्नको स्पष्ट जवाफ आएको छैन ।

सूर्य थापाले जारी गरेको प्रेस नोट 

सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहानको भेटघाटमा भएको सहमति निम्नानुसार रहेको जानकारी गराउन चाहन्छु ः

१) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।

२)प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।

३) मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र

४) अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने । यस बारेमा आजका कतिपय सञ्चारमाध्यममा आएको जस्तो गरी छलफल र सहमति नभएको सबैको जानकारीका लागि अनुरोध गर्दछु ।

 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकी फेसबुकमा लेखे   

‘आधिकारिक श्रोतका अनुसार दुई अध्यक्षबीच कुनै सहमति जुटेको छैन ।’

 

जुगलले लेखेको प्रेस नोट 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो ।

उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।

प्रकाशित मिति: ४ कार्तिक २०७७, मंगलवार २१:४९