पार्टीको खाताबाट ३० लाख रूपैयाँ लिएपछी भीम रावललाई आर्थिक अनियमितता आरोप

काठमाण्डौँ– पार्टीको खाताबाट ३० लाख रूपैयाँ लिएपछी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावललाई आर्थिक अनियमितताको आरोप लागेको छ । पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले आर्थिक अनियमितता आरोपमा रावललाई कारबाही गर्न सिफारिस समेत गरेको छ ।

सुदूरपश्चिम कमिटी स्वयंले कारबाही गर्न नमिल्ने भएर कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको जनाएको छ । ‘‘प्रदेश कमिटी स्वयंले कारबाही गर्न नमिल्ने भएर केन्द्रमा सिफारिस गरेको हो,’’ उद्योगमन्त्रीसमेत रहेका प्रदेश इन्चार्ज लेखराज भट्टले भने, ‘‘पार्टीका पैसा अनुमतिबिना लिएर गएपछि कारबाहीको सिफारिस गरिएको हो ।’’

त्यसैगरी, नेपबहादुर चौधरीलगायतलाई पनि आर्थिक अनियमिताको आरोपमा कारबाहीका लागि सिफारिस गरिएको छ । राजनीतिक रूपमा विभाजन हुनुअघि रावल नेकपामा सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी थिए । विभाजन भएलगत्तै रावलले पार्टीको खातामा रहेको ३० लाख रूपैयाँ लगेको भन्दै केन्द्रीय सदस्य कर्ण थापालगायतले आरोप लगाएका थिए । राजनीतिक रूपमा बिभाजन भएलगत्तै रकम लगेको भन्दै सुदूरपश्चिम कमिटीमा कारबाहीका लागि माग गरिएको थियो ।

प्रकाशित मिति: २३ पुष २०७७, बिहीबार ११:२५