अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन, कपुरकोटमा समन्वय समितिको बैठक सम्पन्न

सल्यान-  सल्यान जिल्लामा रहेका स्थानीय तहका केन्द्रहरुमा पनि प्रतिनिधी सभाको आगामी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको छ । माघ १५ विहिबार देखी माघ २१ गते सम्म अन्तिम मतदाता नामावली तयार गर्नका लागि कार्यक्रम सञ्चालन हुने भएको हो । जसका लागि सल्यानका सबै स्थानीय तहहरुमा सहायक नाम दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ ।

जस अन्तर्गत कपुरकोट गाउँपालिकामा पनि बुधबार स्थानीय सहयोग समन्वय तथा प्रचारप्रशार समितिको बैठक सम्पन्न भएको सहायक नाम दर्ता अधिकारी सरिता कुमारी कंडेलले जानकारि दिइन् । समितीका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकामा आएर मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन निवेदन दिन तथा मृत्यु भएका वा बसाइँ सरी गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउनका लागि सूचना दिन सबैमा अनुरोध गर्ने निर्णय गरेको छ ।

माघ १५ गते कपुरकोट गाउँपालिकाको केन्द्रमा मतदाता नामावली प्रकाशन हुँदैछ । यस्तै माघ १६ गते देखी १८ सम्म मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन निवेदन दिन तथा मृत्यु भएका वा बसाइँ सरी गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउनका लागि सूचना दिन सकिने सहायक नाम दर्ता अधिकारी कंडेलले जनाइन् । यस्तै माघ १६ र १७ गते कसैले झुठा विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यसमा उजुरी दिन सकिने उनले बताइन् ।

बैठकमा समितिका सदस्यहरु गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का, नेकपाका प्रतिनिधी घनश्याम शर्मा र टोपेन्द्र केसी, नेपाली कांग्रेस कपुरकोटका सभापति मिन बहादुर सेन, राप्रपाका प्रतिनिधी करुणा गिरी, प्रहरी चौकी कपुरकोटका प्रमुख यम बहादुर बस्नेत लगाएतको सहभागीता थियो ।

निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने छ । आगामी वैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणमा गर्ने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा भइसकेको छ ।

मतदाता नामावली ऐन, २०७३ अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने नगरिने व्यवस्थानुरुप पुस ६ गतेदेखि मतदाता नामावली दर्ता स्थगन गरिएको थियो । मतदाता नामावलीमा नाम दर्ता भइ पुस ५ गतेसम्म १८ वर्ष उमेर पूरा भएको व्यक्ति मात्र आगामी निर्वाचनमा मतदाता हुन सक्ने छन् ।

प्रकाशित मिति: १४ माघ २०७७, बुधबार १३:१४