आवाजबिहिनको आवाज बन्न मिडियालाई अर्थमन्त्री ज्वालाको आग्रह

सल्यान

कर्णाली प्रदेश का अर्थ मन्त्री प्रकाश ज्वालाले राजनीति भन्दा जनजीविका, विकास र पछाडि परेका वर्ग तथा समुदायका कुरा लाई प्राथमिकता दिन मिडियाहरुलाई आग्रह गर्नु भएको छ । धेरै मिडियामा राजनीतिक कुरालाई मात्रै महत्व दिँदा विकास र पछाडि परेका वर्गका कुराले कम महत्व पाएकोले त्यसतर्फ पत्रकारको ध्यान जानुपर्ने ज्वालाले बताउनुभयो ।
उहाँले मिडियाको विकाशको लागि कर्णाली प्रदेश सरकार सदैव लागिपरेको बताउनुभयो । सल्यानको पत्रकारितामा आफ्नो विशेष साइनो भएकोले जिल्लाको पत्रकारिताको विकासमा हातेमालो गर्न पाउँदा आफूलाई गर्व लाग्ने उहाँले बताउनु भयो ।
ज्वालाले सहमति नै लोकतन्त्रको उत्तम विकल्प भएकोले आगामी नेतृत्व सहमति बाट छान्न आग्रह गर्नुभयो ।

कर्णाली प्रदेश सभा सदस्य गुलाब जंग शाहले राम्रा कामको प्रशंसा र नराम्रा कामको आलोचना गर्न आग्रह गर्नु भयो । उहाँले सल्यानको पत्रकारिता देशमै नमूना योग्य भएकोले यसको साख जोगाइराख्न सबै लाग्नु पर्ने बताउनु भयो ।
शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले पत्रकारहरु कुनैपनि कुरामा पक्ष विपक्ष नभइकन एक भएर अघि बढ्दा सबैलाई फाइदा हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य टेकराज शाही, पूर्ण प्रसाद चौलागाई, कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, महासचिव दीपेन्द्र शर्मा, शारदा नगरपालिका का उपमेयर सावित्रा बस्नेत, सल्यान शाखाका सल्लाहकार रमेश गौतम र सनत शर्मा, प्रेस युनियनका केन्द्रीय सदस्य युवराज रेग्मी लगायतले बोल्नु भएको थियो । जिल्ला शाखाका अध्यक्ष प्रतीक शर्माको अध्यक्षतामा भएको पाँचौं साधारणसभाको सञ्चालन सचिव शंकर केसी र स्वागत मन्तव्य प्रगति गिरीले गर्नु भएको थियो ।

प्रकाशित मिति: १७ माघ २०७७, शनिबार १५:३३