कसैलाई चोइटिएर जान मन छ भने गए हुन्छ,हामीलाइ फरक पर्दैन् – माधव नेपाल

कभरखबर डेस्क ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरुसँग स्पष्ट बहुमत सदस्यहरु रहेकोले केपी शर्मा ओलीले नेकपा र सूर्य चिह्नमा दाबी गर्न नपाउने बताउनुभएको छ ।

उहाँले आफूसँग प्रचण्ड बहुमत भएकाले कसैलाई चोइटिएर जान मन छ भने गए हुनेसमेत बताउनुभयो । आमहड्तालको भोलिपल्ट आज पत्रकार सम्मेलन गर्दै प्रचण्ड-नेपाल समूहका अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटनपछि देश र लोकतन्त्रको मामलामा आफूहरुले विरोध जनाएको बताउनुभयो ।

यो विषयलाई आन्तरिक मामिला मात्रै मान्न नसकिने भन्दै उहाँले देश र लोकतन्त्रको मामिला भएकाले सबै एकजुट भएर प्रतिनिधिसभा विघटनको कदमको विरोध गर्नुपर्ने बताउनुभयो । दैनिक ज्यालादारी मजदुर, बिरामीहरुका लागि केही असहज आएको तर पछिसम्मका लागि आफूहरु फेरि एकपटक सडकमा आउनुपरेको उहाँको भनाइ छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले धम्कीको भाषा बोलिरहेको भन्दै उहाँले कसैको धम्कीले त्यति सजिलै सडक नछाड्नेसमेत बताउनुभयो । यस्तै शान्तिपूर्ण विरोधमा सहभागी व्यक्तिहरुमाथि प्रहरी प्रशासनमार्फत ज्यादती भइरहेको भन्दै उहाँले त्यसको पनि विरोध गर्नुभएको छ ।

नागरिकलाई पर्न गएको असरप्रति माफी माग्छौँ : प्रचण्ड-नेपाल समूह

बिहीवार आमहड्ताल गरेको  नेकपाको  प्रचण्ड-नेपाल समूहले नागरिकलाई पर्न गएको अप्ठ्यारोप्रति माफी मागेको छ । आज पत्रकार सम्मेलन गर्दै प्रचण्ड-नेपाल समूहले हिजोको आमहड्ताल रहर नभएर बाध्यता भएको बताएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अप्ठ्याराकाबीच आफूहरुले नागरिकको समर्थन पाएको दाबी गर्नुभयो । उहाँले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवारी कदम र लोकतन्त्रमाथि भएको प्रहारको जवाफमा बिहीवार आमहड्ताल गरेको बताउनुभयो ।

प्रकाशित मिति: २३ माघ २०७७, शुक्रबार ११:१२