कभर खबर

  • ४ फाल्गुन २०७७, मंगलवार २१:२६

नेकपाको आगामी कार्यदिशाबारे सल्यानमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण

सल्यान ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सल्यानको आयोजनामा जिल्ला स्तरीय बृहत अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्रीले संसद विघटन गरेपछि उत्पन्न समस्या र आगामी कार्यदिशाको बारेमा आम कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गरिएको जनाइएको छ ।


अगुवा कार्यकर्ता भेलालाई सम्बोदन गर्दै नेकपाका स्थायी कमिटी सदस्य जर्नादन शर्मा (प्रभाकर) ले राष्ट्र र राष्ट्रियताको रक्षाका लागी नेकपा सडकमा ओर्लिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले संसद बिघटन गरेपछि देशमा अस्थिरता बढ्ने भएकाले स्थायित्व र समृद्धिका लागी संसद पुर्नस्थापना हुनुपर्ने माग गर्दै आफुहरु संघर्षमा उत्रिएको उहाँको भनाइ छ ।
राष्ट्र भन्दा माथि पार्टी हुन नसक्ने भएकाले राष्ट्र र राष्ट्रियताको रक्षाको लागी आफुहरुले संघर्ष गर्दै आएको दाबी गर्दै उहाँले केपिबाद प्रवृतिका कारण लामो संघर्षबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा बढेको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै नेकपा केन्द्रिय सदस्य तथा संघिय मामिला विभाग प्रमुख परशुराम मेघि गुरुङले सर्वोच्चले विघटित प्रतिनिधिसभा पुर्नस्थापना गर्ने दावी गर्नुभयो ।आमनागरिक, नागरिक समाज, पुर्वप्रधानन्यायधिस सहित सबै क्षेत्रबाट संसद पुर्नस्थापनाका लागी जोडदार रुपमा माग आएको र सबै क्षेत्र संसद पुर्नस्थापनाको पक्षमा रहेकाले जसरी पनि संसद पुर्नस्थापना हुने उहाँले बताउनुभएको हो ।नेपाली जनताले सडकबाट नै संसद विघटनका विरुद्ध फैसला गरी सकेकाले अव अदालतले पनि सोही अनुसार फैसला गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले नेकपाका ९० प्रतिशत नेता कार्यकर्ताहरु मुलधारमा रहेको आधिकारिक पार्टी नेकपामानै भएको दाबी गर्नुभयो ।कार्यक्रमाइ सम्बोधन गर्दै उहाँले भन्नुभयो‘केपी वलीले चालेको कदम प्रतिगामी हो,हामीले दुइ पार्टीको बीचमा एकता गर्यौ,त्यो भन्दा पहिले चुनावी तालमले भयोे, त्यसपछी जनताले दुइ तिहाइ बहुमत बाट जिताएको वलीलाइ अपाच्य भयो। ’

केपी वलीको एउटा सानो झुण्ड केपी वली एण्ड कम्पनी मात्रै प्रतिगमनको पक्षमा रहेकाले यो प्रतिगमन एक्लो हुँदै गएको छ र छिट्टै पराजित हुने कुरामा विश्वस्त हुन उहाँले अगुवा कार्यकर्तालाइ आग्रह गर्नुभयो । उहाँले व्यंग्य गर्दै भन्नुभयो, केपी वली पक्षमा हिड्दा हिड्दै पद बाँड्ने काम घुइयाको भाउ जस्तै भएको छ , तपाँइहरुलाइ पनि बाटोबाटै केन्द्रीय सदस्य बनाइ दिन सक्छन् ।


सो अवसरमा केन्द्रिय सदस्य टेक बहादुर बस्नेत, काली बहादुर मल्ल लगाएकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।भेलामा सल्यानबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी सदस्यहरु, प्रदेश सल्लाहकार परिषद् सदस्यहरु, पार्टीका जिल्ला कमिटी सदस्यहरु, प्रदेश परिषद सदस्यहरु, नगर तथा गाउँ कमिटी सदस्यहरु, वडा कमिटीका अध्यक्ष तथा सचिव, जनवर्गिय संगठनका जिल्ला संयोजक तथा सहसंयोजक, पार्टीबाट निर्वाचित वडाअध्यक्ष तथा कार्यपालिका सदस्य लगाएतको सहभागिता रहेको नेकपा सल्यानले जनाएको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०७७, मंगलवार २१:२६