
सुर्खेत।
सुर्खेतको वीरेनद्रनगर नगरपालिकाले दलित समुदायका १० गरिब तथा जेहेनदार छात्रछात्रालाई छात्रवृत्ति दिने योजना ल्याएको छ । नगरपालिकाले प्रतिविद्यार्थी ५० हजार रुपैयाँका दरले प्राविधिक शिक्षामा छात्रवृत्ति दिने भएको हो ।
छात्रवृत्तिका लागि नगरपालिकाले चालू आर्थिक वर्ष २०७७/७८ मा ५ लाख रुपैयाँ विनियोजन गरेको छ । यो रकमबाट ३ वर्षे प्राविधिक शिक्षाअन्तर्गत पहिलो वर्षमा अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले जारी गरेको सूचनाअनुसार प्राविधिक तथा व्यावसाियकतर्फ डिप्लोमा प्रथम सेमेस्टरमा अध्ययनरत हुनुपर्ने, वडा शिक्षा समितिको सिफारिस राख्नुपर्ने, गरिब परिवारका विद्यार्थीलाई प्राथमिकता दिइने, अध्ययनरत विद्यालय वा प्राविधिक शिक्षालयको सिफारिस चाहिने, घरजग्गाको लालपुर्जाको फोटोकपी प्रतिलिपि राखेर आगामी १५ दिनभित्र दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: १८ फाल्गुन २०७७, मंगलवार ११:५३