
काठमाडौं – सरकारले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सफल भएको छ । दुई वार्ता टोलीबीच तीन चरणमा भएको वार्तामा सहमति बनेपछि त्यसलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले शुक्रबार एउटै मञ्चबाट संयुक्त सम्बोधन गरेर सार्वजनिक गर्नुहुने भएको छ ।
फागुन २१ गते दिउँसो २ बजे राष्ट्रिय सभागृहमा विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने वार्ता टोलीका सदस्य एंव प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।
बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ । प्रेस नोटमा सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको उल्लेख छ । हत्या हिंसामा लागेको भन्दै सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।
प्रकाशित मिति: २० फाल्गुन २०७७, बिहीबार ११:०६