कभर खबर

  • १२ फाल्गुन २०७६, सोमबार ०६:३०

काेरियाका नेपालीमा काेराेना त्रास, ७ हजार नेपालीको मुखमा मास्क, हातमा पञ्जा

चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई उद्दार गरेर ल्याएको दुई साता नबित्दै अब नेपालीको ध्यान फेरि कोरियाको थेगु प्रान्ततिर मोडिएको छ।

राजधानी सियोलबाट ३ सय किलोमिटर दक्षिणमा रहेको सो प्रान्तमा आइतबारसम्म साढे पाँच सय व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने पाँच जनाको मृत्यु भइसकेको छ। पोखराका मेघराज सुवेदी पनि यहीँ प्रान्तको दाङचाङ सहरमा काम गर्नुहुन्छ ।

दुई दिनयता कम्पनीमा काम गर्दा होस् वा बजार हिँड्डुल गर्दा सुवेदीको मुखमा मास्क र हातमा पन्जा टुट्दैन।

उनी कोठामा बस्दा पनि मास्क र पन्जा लगाएरै बस्छन्। यसरी नै थेगुमा रहेका ७ हजार नेपाली अहिले मास्क र पञ्जा लगाएरै काम गर्छन्। कोठामा बस्दा पनि मास्क र पञ्जा नै लगाएर बस्छन् ।

धरानका पेम्बा लामा पनि थेगुमै काम गर्छन्। पेम्बा पनि हिजोआज बाहिर निस्किँदा धेरै अलमल गर्दैनन्।

फटाफट आफ्नो काममा जान्छन् र सिधै कोठा फर्कन्छन्।

दुई दिनयता सो प्रान्तमा रहेका झण्डै ७ हजार नेपालीले यसरी नै सतर्कता अपनाएका छन्। कोरिया सरकारले समेत सावधानी अपनाउन बेलाबेला मोबाइलमा म्यासेज पठाउने गरेको पेम्बाले बताउनुभयो ।

‘कुनै शंका लाग्ने बित्तिकै अस्पाताल जानु भनेर म्यासेज आउँछ। तर अहिलेसम्म त्यस्तो अवस्था आएको छैन,’ उहाँले भन्नुभयो ।

सहरमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहे पनि नियमित काम भइरहेको पेम्बाले जानकारी दिनुभयो ।

‘कम्पनीले अहिले सावधानी मात्र अपनाउनु भनेको छ। हामी काममा गइरहेका छौं,’  उहाँले भन्नुभयो । थेगुमा कोरोनाभाइरसको संक्रमणका कारण त्यहाँ रहेका नेपालीहरू त्रसित छन्।

नेपाली दूतावासबाट पनि कुनै जानकारी नआएको भन्दै के गर्ने भन्ने अलमल भएको पेम्बाले बताउनुभयो ।

थेगुबाहेक अन्य प्रान्तमा रहेका नेपालीहरू समेत कोरोनाभाइरसको त्रास मान्न थालेका छन्। कोरियामा झण्डै ४० हजार नेपाली कामदार छन्। त्यहाँका नगरपालिकाहरूले अहिले मानिसहरूलाई कुनै शंका लागेमा तुरुन्त खबर गर्न भनेर टोल फ्री नम्बर दिएको छ।

आइतबार भने सियोलस्थित नेपाली दूतावासले थेगु प्रान्तमा रहेका नेपालीहरूलाई सावधानी अपनाउन आग्रह गर्दै सूचना जारी गरेको छ।

आइतबारमात्र कोरियामा १ सय २३ जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएकोमा ७३ जना थेगुस्थित एक गिरिजाघरमा रहेका मानिसहरू छन्। त्यसैले अहिले थेगुलाई नै संक्रमणको प्रारम्भिक केन्द्रबिन्दु मानेको छ।

चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसबाट २ हजार ४ सय ६१ जनाको मृत्यु भएको छ भने ८० हजार मानिस संक्रमित छन्।

प्रकाशित मिति: १२ फाल्गुन २०७६, सोमबार ०६:३०