
केशव कुमार बि.सी.
रुकुम पूर्व
ढोरपाटन सिकार आरक्ष पश्चिम नेपालको रुकुम पूर्व, बाग्लुङ र म्याग्दि जिल्लामा अवस्थित रहेको नेपालको एक मात्र सिकार आरक्ष हो । समुद्रि सतहबाट २,८५० मिटर देखि ५,५०० मिटर सम्मको उचाईको भूगोलमा रहेको यो सिकार आरक्ष १,३२५ बर्ग किलोमिटरमा फैलिएको छ । यो सिकार आरक्ष उत्तरमा डोल्पा, पूर्वमा म्याग्दी, दक्षिणमा बाग्लुङ र पश्चिममा रुकुम पूर्व संग जोडिएको छ । ढोरपाटन सिकार आरक्ष बि।सं। २०४० सालमा स्थापना भई २०४४ सालमा सरकारी मान्यता प्राप्त गरेको आरक्ष हो ।
यस क्षेत्रमा नावर, झारल, हिमचितुवा, बाघ, हिमाली थार, हाब्रे, कस्तुरी लगाएत ३२ प्रजातिका बन्यजन्तुहरु तथा डाँफे, मुनाल, कालिज लगाएत ६४ प्रजातिका चराचुरुङ्गीहरु पाइन्छन् । ब्यवस्थित रुपमा संचालन गरिएको ढोरपाटन सिकार, उत्तरतिर बग्ने उत्तरगंगा नदि, सुन्दर बुकी पाटन, धौलागिरी हिम श्रृङ्खलाका मनै लोभ्याउने साना ठूला हिमालहरु, यहाँको पृथक जनजिवन यस आरक्षका बिशेषताहरु हुन ।
यस क्षेत्रमा सिकारका लागि निश्चित समय निर्धारण गरिएको छ । हरेक बर्षको असोज देखि मंसिर र फागुन देखि बैशाख सम्म दुई पटक सिकारका लागि खोलिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय(समयमा सिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा सिकार गराउने गरेको छ । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था मिलाइएको छ ।
सिकार आरक्ष ढोरपाटन सम्म पुग्नलाई यात्रा सहज बनिसकेको छ । राजधानी कारठमाडौबाट बस र जीपमा सजिलै ढोरपाटन पुग्न सकिन्छ । सौखिन तथा आर्थिक अवस्था राम्रो हुनेहरुका लागि हेलिकोप्टरबाट पनि ढोरपाटनसम्मको यात्रा गर्न सकिन्छ । काठमाडौबाट झण्डै साढे पाँच घण्टाको २०० किलोमिटर यात्राबाट पोखरा पुगिन्छ र पोखराबाट बसको ६ घण्टाको १५६ किलोमिटर यात्रामा बुर्तिबाङ पुग्न सकिन्छ । आर्कोतिर लुम्बिनी प्रदेशको राजधानी दाङबाट सल्यान हुदै राप्ति लोकमार्गको बाटो करिब ६ घण्टामा मुसिकोट र मुसिकोटबाट रुकुमकोट, लुकुम पाथिहाल्ना हुदै मध्यपहाडि राजमार्गको बाटोबाट झण्डै पाँच घण्टामा बुर्तिवाङ पुग्न सकिन्छ । र बुर्तिवाङबाट ३५ किलोमिटरको कच्चिबाटो पहाडि सुन्दर वस्तिहरु छिचोल्दै ढोर पाटनको पाटनमा पुग्न सकिन्छ ।
यसरी ढोरपाटन पुगिसकेपछि पर्यटकका लागि बस्न र खान उपत्यका भित्र ब्यवस्थित होटेल र होमस्टेहरु समेतको ब्यवस्था गरिएको छ । यस क्षेत्रको भ्रमणका लागि फागुन दोस्रो हप्तादेखि असोजसम्मको समय उपयुक्त र मनोरम हुन्छ ।
दक्षिणबाट उत्तरतिर बग्ने उत्तरगंगा नदी, चारैतिरबाट एकैनासे गुँरासे डाँडाले घेरिएको सुन्दर उपत्यका, चारैतिरका सुन्दर वस्ती, घोडचढी, गुम्बा तथा बाइसधाराको दर्शन तथा अवलोकन यस क्षेत्रका थप आकर्षणहरु हुन् ।
प्रकाशित मिति: ८ चैत्र २०७७, आईतवार १५:३८