
तनहुँ- तनहुँको म्याग्दे गाउँपालिका–२ का श्यामलाल श्रेष्ठ बाँदर आतङ्कले हैरान छन् । बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उनी मात्र होइन, उमाचोकका अधिकांश कृषक पीडित छन् ।
खेतबारीमा आएर बाली खाइदिनुका साथै घरमै आएर पनि अन्नबाली नष्ट गर्ने क्रम बढ्दै गएको श्रेष्ठको गुनासो छ । “खेतमा काम गर्न गएको बेलामा बाँदरले आक्रमण पनि गर्ने गरेको छ, बाँदर आतङ्कबाट हैरानै भइयो”, श्रेष्ठले भने, “बाँदर आतङ्कबाट छुटकारा चाहिएको छ ।”
सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले तनहुँमै पहिलोपटक उमाचोकमा बाँदर भुलाउन जङ्गलमा फलफूलको बिरुवा रोपण गर्न लागिएको जानकारी दिए । “बाँदरले आफ्नो आहाराको अभावमा किसानको खेतीबाली नष्ट गर्ने तथा मानिसलाई नै आक्रमण गर्ने समस्या न्यूनीकरणका लागि फलफूलका बिरुवा लगाउन लागेका हौँ”, रानाभाटले भने ।
यस कार्यक्रमका लागि डिभिजन वन कार्यालय तनहुँले रु सात लाख ५० हजार सहयोग गरेको छ भने २० प्रतिशत सामुदायिक वनले लागत साझेदारी गर्नेछ । सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा करिब ८४० वटा विभिन्न प्रजातिका वनजन्य फलफूलको बिरुवा रोपिनेछ । “बुट्यान जङ्गलमा बाँदरले मन पराउने बर्सेनि उत्पादन हुने खालका बिरुवा लगाइनेछ, त्यसका लागि जग्गा मिलाउने, तारबार गर्ने काम भइरहेको छ”, उनले भने ।
उनका अनुसार यहाँ काफल, चिउरी, जामुन, अमला, लोकल आँपहरु, कटहर, चिलीलगायतका बिरुवा उत्पादन गरिनेछ । दुई÷तीन वर्षमा फलफूल उत्पादन हुने भएपछि बाँदर जङ्गलमै भुल्ने र बस्तीसम्म नजाने विश्वास गरिएको छ । “म्याग्देका विभिन्न ठाउँमा बाँदर आतङ्क छ, त्यसमध्ये पनि उमाचोकमा बढी नै आतङ्क रहेको पाइयो”, रानाभाटले भने, “विगतमा धेरैपटक खेतबारीमै गएर महिलालाई आक्रमण गर्ने गरेको घटना छ ।”
म्याग्देमा बाँदरले दुःख दिन थालेपछि गत वर्ष गाउँपालिकाले कृषकलाई बाँदर भगाउने उपकरण प्रदान गरेको थियो तर उक्त उपकरण प्रभावकारी नभएको कृषकको भनाइ छ । म्याग्दे गाउँपालिका–१ का कृषक एककुमार श्रेष्ठले बाँदरले बारीमा पसेर सबै बाली नष्ट गरिदिने गरेको गुनासो गरे । म्याग्दे गाउँपालिका–२ का कृषक बुद्धिबहादुर मगरले बाँदरले दुःख दिएपछि दिनभर बारी कुरेर बस्नुपर्ने बाध्यता रहेको बताए ।
-रासस
प्रकाशित मिति: १७ चैत्र २०७७, मंगलवार ०९:३५