कभर खबर

  • २९ श्रावण २०७८, शुक्रबार ०६:४५

पानी पर्ने वित्तिकै किन जान्छ सल्यानको वत्ती ?

सल्यान — दाङको तुलसीपुरमा जडान गरिएको ब्रेकर जीर्ण हुँदा जिल्लावासी जथाभावी लोडसेडिङ भोग्न बाध्य छन् । सामान्य हावा लाग्दासमेत बिजुली जाँदा स्थानीयलाई सानो कामका लागि पनि ठूलो दुःख भोग्नुपर्ने बाध्यता भएको हो ।

पटकपटक विद्युत् अवरुद्ध हुँदा दैनिक कामकाज प्रभावित भएको छ । फर्निचर, ग्रिल उद्योग, कम्प्युटर इन्स्टिच्युट, फोटोकपी सेन्टर, छापाखाना र वित्तीय संस्था सञ्चालनमा समस्या भएको छ । विद्युत् समस्याकै कारण सरकारी कार्यालयबाट सेवाग्राहीले छिटो सेवा पाउन नसकेको बन्गाडकुपिण्डे नगरपालिकाका नवीन बुढाथोकीले बताए । उनका अनुसार बिजुली आउने जाने कुनै टुंगो नै नहुँदा काममा ढिलासुस्ती भएको हुने गरेको छ । ‘दिनमा १५/२० पटक बिजुली जान्छ,’ उनले भने, ‘जति पटक हावाहुरी चल्छ र पानी पर्छ उति नै पटक बिजुली निभ्छ ।’ वर्षाको समयमा घण्टौंसम्म विद्युत् अवरुद्ध हुने गरेको उनले बताए ।

बत्तीकै कारण सानो कामका लागि ठूलो दुःख भोग्नुपर्ने बाध्यता भएको खलंगाका रमेश भण्डारीले बताए । ‘बत्ती आउने र जाने कुनै निश्चित हुँदैन, बत्ती आए पनि कम भोल्टेजको हुन्छ,’ उनले भने, ‘प्राधिकरणले ध्यान नदिँदा बिजुलीबाट हुने अधिकांश कामकाज लामो समयदेखि प्रभावित भइरहेका छन् ।’

बिजुलीका कारण लामो समयदेखि व्यापार व्यवसाय चौपट बनेको त्रिवेणी गाउँपालिकामा फर्निचर उद्योग सञ्चालन गर्दै आएका विनोद नेपालीले बताए । ‘घण्टा/घण्टामा बत्ती आउने–जाने भइरहन्छ,’ उनले भने, ‘बत्ती र कोरोनाले व्यवसाय नै धरापमा पर्‍यो ।’ उनले व्यापार नफस्टाउँदा परिवार पाल्न र बैंकको कर्जा तिर्न समस्या भएको गुनासो गरे ।

गत वर्ष शारदा नगरपालिका–१ सितलपार्टीमा विद्युत् सबस्टेसन निर्माण गरिए पनि आपूर्ति प्रभावकारी नभएको स्थानीयको गुनासो छ । दाङको तुलसीपुर हुँदै सल्यानमा ३३ केभीको विद्युत् आपूर्ति भइरहेको विद्युत् प्राधिकरण, सल्यान वितरण केन्द्रका प्रमुख धर्मपति यादवले बताए । उनका अनुसार तुलसीपुरमा जडान गरिएको ब्रेकर पुरानो तथा जीर्ण हुँदा बत्तीमा बारम्बार समस्या आउने गरेको हो । ‘अहिले ब्रेकर मर्मत गर्दै काम चलाइरहेका छौं,’ उनले भने, ‘नयाँ ब्रेकर जडान नहुँदासम्म नियमित विद्युत् आपूर्ति हुन समस्या छ ।’

जिल्लामा तुलसीपुर–कपुरकोट हुँदै खलंगामा लाइन विस्तार गरिएको छ । धेरैजसो भाग वन क्षेत्रमा पर्ने भएकाले ठूलो पानी पर्दा र हावाहुरी लाग्दा पोल र रुखहरू ढलेपछि विद्युत् आपूर्ति बन्द हुने गरेको उनले जानकारी दिए ।

कान्तीपुर दैनिकबाट

प्रकाशित मिति: २९ श्रावण २०७८, शुक्रबार ०६:४५