बालबिवाहको असरः विवाह गर्ने उमेरमा भएका सम्वन्धविच्छेदले परिवारमा विखण्डन, बालबालिकाको विचल्ली

मिना बुढाथोकी

सल्यान साउन ३
बागचौर नगरपालिका –१ निवासी सपना बस्नेत (नाम परिवर्तन) अहिले २२ वर्षकी हुनुभयो । २२ वर्षकै उमेरमा अहिले उहाँका ८ वर्ष र ५ वर्षका गरी २ जना छोराहरु छन् । १४ वर्षको मै खाउँ मै लाउँ भन्ने उमेरमा विवाह गरेकी बस्नेतलाइ ऊ बेला विवाह गर्दाको सुन्दर सपना अहिले झल्झली याद आउँछ । त्यो बेला उहाँका पति दिलिप पनि १६ वर्षका हुनुहुन्थ्यो । पढेर ठुलो मान्छे बन्ने सपना देख्ने उमेरमा उहाँहरुले भने भागेर विवाह गर्नुभयो । तर समय सधैँ एकै नासको कहाँ हुन्छ र ?


आँखाबाट तप्प आँशु चुहाउदै बस्नेतले भन्नुभयो २२ वर्षकै उमेरमा श्रीमानबाट छुट्टिएर बस्ने दिन पनि आउला भनेर मैले कहिले सोचेँ हुँला र ? सानै उमेरमा बाल विवाह गरेकी उहाँलाई अहिले पछुतो भएको छ । श्रीमानबाट छुट्टीएर बस्नको लागि उहाँ अहिले अदालतको सहारा लिन पुग्नुुभएको छ । अरु साथीहरूले सुन्दर जिवनको सपना देख्दै पढिरहेको देख्दा उनको मन धुरुक्कै हुन्छ । आफ्नो त भविष्य डामाडोल भयो नै कहिले कलिला सन्तानको समेत डरलाग्दो भविष्य देखेर कहिले आफैलाई सराप्छु, उहाँले भन्नुभयो ।


बनगाड कुपिण्डे नगरपालिका–१ निवासी सम्झना बुढा (नाम परिवर्तन) ले ०७५ सालमा प्रेम गरी बालविवाह गर्नु भयो । उहाँ अहिले २१ वर्षकी हुनुहुन्छ । तर, सोचे अनुसार परिवार चल्न नसकेपछि उहाँ अहिले जिल्ला अदालतमा सम्बन्ध विच्छेद मुद्दाको फैसला कुरेर दुई वर्षीया छोरीसँग अलग्गै बसिरहनु भएको छ ।


बालविवाह गर्नु भएकी सम्झनालाई पतिले मदिरा सेवन गरी कुटपिट गर्ने, मानसिक तथा शारिरीक यातना दिएका कारण उहाँले अंशसहित सम्बन्ध विच्छेदको मुद्दा दिनुभयो । पतिले ‘न त बाहिर काम गर्न जान दिन्छ, बिना कारण म माथि कुटपिट गर्न थाल्छ । पीडा सहन नसकेपछि छोरी लिएर बस्दैछु, सम्झनाले भन्नुभयो । उहाँले थप्नुभयो ‘सानैमा नजानेर विवाह गरियो, अब दुःख पाएपछि उ सँग बस्न सक्ने अवस्था छैन, सम्बन्ध विच्छेद गर्ने प्रक्रियामा छु ।’

१७ वर्षको उमेरमा ०७२ सालमा बैवाहिक जीवन सुरूआत गर्नु भएकी शारदा नगरपालिका–६ निवासी २३ वर्षीया सर्मिला बुढाथोकी (नाम परिवर्तन) ले ०७८ पुुस २५ गते सम्बन्ध बिच्छेदको लागि जिल्ला अदालतमा मुद्दा दर्ता गराउनु भयो । जिल्ला अदालत परिसरमा भेटिनु भएकी सर्मिलाले पतिले दिनहँु जसो शारीरिक यातना दिने, कुटपिट गर्ने भएकाले पतिबाट अलग भएर माइती घरमा बस्दै आएको बताउनु भयो ।


सर्मिलाले भन्नुभयो–रात दिन झगडा हुन्छ, अब म तलाइ पाल्न सक्दिन त आफ्नो बाटो लाग, म मेरो बाटो लाग्छु भन्नुहुन्छ । पतिको व्यवहार र वचन खप्न नसकेपछि सम्बन्ध विच्छेदको निर्णयमा पुगेँ । पतिको अमानवीय व्यवहार सम्झदै निर्मला भन्नुभयो–एक पटक त घर सल्लाहअनुसार माइतीमा बाबु बिरामी हुनुहुन्थ्यो, बिरामी हेर्न गएको अवस्थामा माइती घरमा आएर मलाई कुटपिट गर्नु भयो, त्यसपछि मलाई घरबाट निकाल्नु भयो ।


जिल्ला अदालतमा अधिकांश मुद्दा सम्वन्ध विच्छेदकै


माथि उल्लेखित घटनाहरु सम्बन्ध विच्छेदकोे अवस्था र त्यसको अवस्था अनि असर झल्काउने प्रतिनिधि घटना मात्रै हुन् । जिल्ला अदालतमा चालू आर्थिक वर्षमा सबै भन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदका दर्ता भएका छन् । जिल्ला अदालत सल्यानमा अहिले सबैभन्दा बढी मुद्दा सम्बन्ध बिच्छेदको आउने गरेको अदालत श्रेस्तेदार हेमन्त ज्ञवालीले बताउनुभयो ।

आर्थिक बर्ष ०७८/०७९ मा मात्रै सम्वन्ध विच्छेदको संख्या बढेर २ सय ३५ पुग्यो ।


यहाँका महिला हरु सम्बन्ध विच्छेदे गर्ने भनेर दैनिक जसो नै आउने गरेका छन उहाँले भन्नुभयो –‘कहिले काँही त एक दिनमा २ देखी ३ वटा सम्म सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुन्छन ।’ सम्बन्ध विच्छेद गर्ने महिलाहरुको संख्या अहिले दिनानुदिन बढदै गएकोे छ । सम्बन्ध विच्छेद गर्न आउनेहरुको उमेर देख्दा दया लागेर आउछ उहाँले भन्नुभयो –‘बल्ल बिहे गर्ने उमेर भएकाहरु सम्बन्ध विच्छेद गर्न आएका हुन्छन, तर विवाह गरेको वर्षौँ भैसकेको हुन्छ ।’ सम्बन्ध विच्छेद गर्नेहरुको रेसियो यसरीनै बढ्दै गयो भने हाम्रो समाजको लागी दुर्भाग्यपुर्ण हुने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।


आर्थिक बर्ष ०७३/०७४ मा ९५ थान सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए । तर ६ वर्षको अन्तरालमा यो संख्या ह्वात्तै बढ्यो । आर्थिक बर्ष ०७८/०७९ मा मात्रै सम्वन्ध विच्छेदको संख्या बढेर २ सय ३५ पुग्यो । आर्थिक बर्ष ०७८/०७९ मा मात्रै २ सय ३५ बढि मुद्दा जिल्ला अदालत सल्यानमा सम्वन्ध विच्छेदका लागी दर्ता भएको श्रेस्तेदार ज्ञवालीको भनाइ छ ।

अभिभावककको सम्बन्ध विच्छेदले बालबालिका मारमा


सम्वन्ध विच्छेदपछि आमावुवा त आफ्नो स्वतन्त्र जिवन विताउछन् । तर त्यसकोे प्रत्यक्ष असर भने बालबालिकाहरुलाइृ पर्ने देखिएको छ । श्रेस्तेदार ज्ञवालीका अनुसार ‘सानै उमेरमा भएको विवाहका कारण, पछि आफु बुझ्ने भएपछि समस्या देखिदा सम्बन्ध विच्छेद गर्न आउने गरेका छन् । वैदेशिक रोजगारीको कारणले पति–पत्नी बीच वेमेल हुँदा पनि सम्बन्ध विच्छेदसम्म मुद्दा पुगेको उहाँको भनाइ छ ।


आमा–बाबुको सम्बन्ध विच्छेदले बालबालिकामा मनोवैज्ञानिक असर पारेको उहाँले बताउनुभयो । बच्चाहरु सानो छंदा अभिभावकहरु कुनै कारणवश सम्बन्ध विच्छेद गर्छन, त्यसपछि बच्चाको जिम्मेवारी एक्लैले राम्रो संग पुरा गर्न सकिदैन जस्को प्रत्यक्ष असर बच्चालाई पर्छ ।’ जसका कारणले सानै उमेरका बच्चाहरु अपराधिक क्रियाकलापमा सम्लग्न भएको भेटिन्छन भने कतिपय बाल विवाहको सिकार हुने गरेको उहाँले बताउनुभयो ।


सामान्य तया विवाहपछि लोग्ने र स्वास्नी बिच कुनै ठुलै कारणले कुरा मिलेन भने सम्बन्ध विच्छेद हुन्छ । बाल विवाह न्युनिकरण अभियान जिल्ला संजालका संयोजक निम बहादुर नेपालीका अनुसार बाल विवाह, विपन्नता, मोबाईल फोनको दुरुपयोग, वैदेशिक रोजगारी, अशिक्षा जस्ता कारणले सम्बन्ध विच्छेद बढ्दै गएको देखिन्छ । यस्तै सम्बन्ध विच्छेदका अन्य कारणहरूमा कुटपिट, खान लगाउन नदिनु, कम उमेरमा बिहे हुँदा उत्पन्न पारिवारिक असमझदारी, वैदेशिक रोजगार गएका श्रीमान वा श्रीमतीबीच बढ्दो बेमेल, महिलाहरू डिपेन्डेन्ट भिसामा उच्च शिक्षा हासिल गर्न विदेश जानु, बच्चा जन्माउने विषयमा कुरा नमिल्नु र सम्पत्ति प्राप्तिमा लोभ हुनु रहेका छन्।


यस्तो खालको दुर्घटनाले विकृतिको रुपमा मौलाउन नदिनका लागी हामी सबैको उत्तिकै भुमिका हुनु पर्ने उहाँले बताउनुभयो । अभियन्ता नेपालीले यस विषयमा अभिभावक र सरोकारवाला सबैले बेलैमा सोच्नु पर्ने समय आएकोे बताउनुभयो ।


पिडित र पिडितका आश्रीतको पुर्नस्थापनामा समस्या, इन्सेकको सहयोग


सम्वन्ध विच्छेदका घटनाहरुलाई केलाउने हो भने अधिकांश मुद्धामा महिलाहरु पिडित बनेका हुन्छन् । बालबालिकाको जिम्मेवारी पनि प्राय महिलाहरुमै हुनुे भएकोले महिलाहरुसँगै उनिहरुसँग आश्रीत बालबालिकाहरु पनि पिडित बनिरहेका हुन्छन् । तर पिडित र पिडितका आश्रीतहरुको लागी पुर्नस्थापनामा निकै समस्या छ । तत्कालिन रुपमा पिडितले न्याय पाएपनि दिर्घकालिन रुपमा उनिहरुलाई पुर्नस्थापनामा समस्या रहेको देखिएको छ । पिडितहरुको तत्कालिनि समस्या समाधानको लागी इन्सेक लगायतका केहि अधिकारकर्मी संस्थाहरुले सहयोग गर्दै आएका छन् ।

पछिल्लो समय इन्सेकको परियोजना अन्तरगत जिल्ला स्तरीय सिफारिस संयन्त्रमा समेत निवेदन पुग्न थालेका छन् । इन्सेकको पहलमा ५ वटा घटनाका पीडितले अदालतमा मुद्दा दर्ता गराइ कानुनी प्रकृयामा समेत अगाडी बढेका छन् ।


न्यायको खोजीमा रहेका आर्थिक अवस्था कमजोर पीडितहरुलाई इन्सेकले कानुनी सहायता तथा अन्य परामर्श समेत दिंदै आएको छ । विगत ६ महिनाको अवधिमा इन्सेकले हिंसा पीडित महिला तथा पुरुष गरी ६ जनालाई सहयोग प्रदान गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कर्णाली प्रदेश प्रमुख नारायण सुवेदीले बताउनुभयो ।


पछिल्लो समय इन्सेकको परियोजना अन्तरगत जिल्ला स्तरीय सिफारिस संयन्त्रमा समेत निवेदन पुग्न थालेका छन् । इन्सेकको पहलमा ५ वटा घटनाका पीडितले अदालतमा मुद्दा दर्ता गराइ कानुनी प्रकृयामा समेत अगाडी बढेका छन् । तत्कालिन रुपमा इन्सेकले सहयोग गरेको भएपनि स्थानीय तह लगायत अन्य सरोकारवालाहरूले दिर्घकालिन रुपमा पीडितको पुर्नस्थापनाको लागि काम गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति: ३ श्रावण २०७९, मंगलवार ०७:५२