
कृषिजन्य वस्तु निर्यातबाट साढे ७४ करोड आम्दानी
शंकर केसी
सल्यान, २४ साउन ।
खाद्यान्न, तरकारी र सुन्तलामा सल्यान जिल्ला आत्मनिर्भर बनेको छ । खाद्यान्न अन्तर्गत मकै, गहुँ, धान, कोदो, जौँ तथा ताजा तरकारी र सुन्तलामा यो जिल्ला आत्मनिर्भर देखिएको हो । सल्यानमा ४८ हजार ४१८ मेट्रिकटन खाद्यान्न आवश्यक पर्नेमा आर्थिक वर्ष २०७८।०७९ मा जिल्लाभर ९९ हजार ८३६ मेट्रिकटन उत्पादन भएको कृषि विकास कार्यालय सल्यानको तथ्यांकमा उल्लेख छ । खुद उत्पादनको ५ प्रतिशत भण्डारणमा लाग्ने रोगकिराबाट क्षती हुने गरेको र पशु आहारामा ३४ प्रतिशत र मादक पदार्थ बनाउन ७ प्रतिशत खाद्यान्न प्रयोग हुने गरेको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी रेशम कुमार वस्नेतका अनुसार सल्यानमा ४८ हजार ४१८ मेट्रिकटन खाद्यान्न उपभोग गरेर र क्षति घटाएर पनि पाँच हजार ५०७ मेट्रिकटन खाद्यान्न वचत छ ।
जिल्लामा गत आर्थिक वर्षमा १५ हजार २३७ मेट्रिकटन धान, ५८ हजार १३३ मेट्रिकटन मकै, २५ हजार २१४ मेट्रिकटन गहुँ, एक हजार २१ मेट्रिकटन कोदो र २५८ मेट्रिकटन जौँ खुद उतपादन भएको वस्नेतले जानकारी दिए । यद्यपी अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८।०७९ मा धान र मकै उत्पादन घटेको उनले जनाए । सूचना अधिकारी वस्नेतका अनुसार ७.१२ प्रतिशतले धान र २.५० प्रतिशतले मकै उतपादनमा कमी आएको छ । अत्यधिक वर्षातका कारण आर्थिक वर्ष २०७८।०७९ मा धान र मकै उत्पादनमा कमी आएको हो ।
जिल्लामा उत्पादन भएको मकै करिव ५० प्रतिशत वाहिरी जिल्लामा निकासी हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । आधिकारीक रेकर्ड नभए पनि जिल्लामा उत्पादित मकै मध्ये करिव ५० प्रतिशत जिल्ला वाहिर जाने गरेको र आर्थिक वर्ष ०७८।७९ मा १७५० मेट्रिकटन मकै र कोदो जिल्ला वाहिर निकासी भएको रेकर्ड कार्यालयमा रहेको सूचना अधिकारी वस्नेतले बताए ।
कृषिजन्य वस्तु निर्यातबाट ७४ करोड ४३ लाख ४३ हजार आम्दानी
सल्यानबाट वर्षेनी करोडौँ रुपैयाको ताजा तरकारी तथा फलफुल निर्यात हुने गरेको छ । जिल्लाबाट ताजा तरकारि, अदुवा तथा सुन्तला यहाँ खपत भएर पनि बचेको निर्यात हुनेगरेको कृषि विकास कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा तरकारी, सुन्तला, अदुवा, बेसार, आलु, मह, भटमास लगाएतका कृषि उपज निर्यात गरेर जिल्लामा ७४ करोड ४३ लाख ४३ हजार आम्दानी भएको कार्यालयले जनाएको छ । सल्यानबाट ६ हजार ६८४ मेट्रिकटन ताजा तरकारी र तीन हजार ५८० मेट्रिकटन सुन्तला विक्रि भएर वाहिरी जिल्लामा गएको छ । तरकारी विक्रिबाट २४ करोड तीनि लाख ३७ हजार रुपैयाँ र सुन्तला विक्रिबाट २० करोड ४० लाख ६० हजार रुपैयाँ आम्दानी भएको कार्यालयका सूचना अधिकारी वस्नेतले जनाए ।
यस्तै १३ करोड १९ लाख ९० हजार रुपैयाँ बराबरको चार हजार ४८५ मे.ट. अदुवा, दुई करोड ६७ लाख ९६ हजार बराबरको एक हजार २१८ मे.ट. बेसार, सात करोड ५० लाख ८० हजार बराबरको दुई हजार ६५० मे.ट. आलु निकासी भएको उनले जानकारी दिए ।
नयाँ नयाँ प्रविधि भित्रनु तथा व्यवसायिक खेतीको महत्व किसानले बुझ्नु र बजार व्यवस्थापन सजिलै हुनुजस्ता कारणले तरकारी, फलफुल तथा अदुवाको उत्पादन बढ्दै गएको छ । पछिल्लो समय कृषिकै कारण यहाको आर्थिक प्रणाली सुधार उन्मुख अवस्थामा रहेको छ । परम्परागत रुपमा चलीरहेको कृषि व्यवशाय विस्तारै व्यवसायीक र व्यवस्थीत बन्दै गइरहेको छ ।

सुन्तला उत्पादन वर्षेनी घट्दै
जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा आ.व. ०७८।०७९ मा तरकारी उत्पादनमा ८.१३ प्रतिशतले बृद्धि भएको छ भने अदुवा उत्पादनमा ९.०९ प्रतिशतले बृद्धि भएको छ । उन्नत वीउको प्रयोग, तरकारी र अदुवाको ब्लक र जोन लागू हुनु, क्षेत्रफल विस्तार हुनु जस्ता कारणले उत्पादनमा बृद्धि भएको बताइएको छ । यस्तै पछिल्लो वर्षहरुमा बेसारको पनि उत्पादन बढ्दै गएको छ ।
तर सुन्तला खेती गर्ने किसानहरुले भने पछिल्लो वर्षहरुमा क्षति व्यहोर्नुपरेको छ । पछिल्लो पाँच वर्षको अवधिमा सल्यानमा ३० देखी ३५ प्रतिशत सम्म सुन्तला उत्पादनमा कमी आएको कृषि विकास कार्यालयले जनाएको छ । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकोले यसतर्फ किसानको आकर्षण पनि बढेको थियो । तर विभिन्न रोगका कारण पछिल्लो समय सुन्तला उत्पादन भने घटदै गएको छ ।

व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेका किसानका सुन्तलाका बोट सुक्न थालेका छन् । आम्दानीको राम्रो स्रोतको रुपमा रहेका सुन्तलाका बोट धमाधम सुक्न थालेपछि किसानहरु चिन्तीत बनेका छन् । जरा कुहिने, हाँगा पहिलो हुँदै जाने, फल पनि राम्रो नहुने भएका कारण केही वर्ष यतादेखि सुन्तलाको उत्पादन घट्दै जान थालेको किसानहरु बताउँछन् ।
गत आर्थिक वर्षमा मात्रै ६.८० प्रतिशतले सुन्तला उतपादनमा कमी आएको सूचना अधिकारी वस्नेतले जनाए । आर्थिक वर्ष २०७७।०७८ मा आठ हजार १०१ मे.ट सुनतला उत्पादन भएकोमा गत आर्थिक वर्षमा सात हजार ५८५ मे.ट. मात्रै उत्पादन भएको उनले जानकारी दिए । जिल्लाभर एक हजार ५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो ।
प्रकाशित मिति: २४ श्रावण २०७९, मंगलवार १०:१२