सामुदायिक विद्यालयको दिवा खाजाः न त रोकियो जंकफुड, न त विद्यार्थिले खान पाए गतिलो खाजा

मिना बुढाथोकी

सल्यान/ बालबालिकाको स्वास्थ्य र पोषणलाइ मध्यनजर गर्दै सरकारले प्रत्येक सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागु ग¥यो । बालबालिका कुपोषणको सिकार हुनबाट बचाउन र विद्यालयमा नियमित उपस्थित गराउने उद्देश्यले दिवा खाजा संचालन गरेपनि जिल्लाका समुदायिक विद्यालयमा भने यो सेवा प्रभावकारी हुन सकेको छैन ।


सरकारले प्रत्येक व्यक्तिलाई दिवा खाजाको लागि दैनिक उपलब्ध गराउने १५ रुपैयाँ न्यून भएको र विद्यालयले उचित व्यवस्थापन गर्न नसक्दा आफ्ना बालबालिकाले नियमित पोषणयुक्त खाना खान नपाएको अभिभावकहरुले गुनासो गरेका छन् । विद्यालयले उपलब्ध गराएको खाजाले पेट नभरिने भएका कारण बालबालिका घरबाट पैसा लगेर पसलका जंकफुड किनेर खान नछाडेको बनगाड कुपिण्डे नगरपालिका–१२ का खुम बहादुर वलीले बताउनुभयो ।


अहिलेको महँगीमा सरकारले उपलब्ध गराएको १५ रुपैयाँले एउटा अन्डा समेत किन्ने पैसा नपुग्ने भएकाले उनीहरुले पेटभरी खाजा खान नपाएको उहाँले गुनासो गर्नुभयो ।


निर्देशिकामा प्रत्येक विद्यालयले समिति गठन गर्नुपर्ने भएपनि अहिलेसम्म जिल्लाका धेरै विद्यालयले समिति गठन गरेका छैनन् । विद्यालयले आफ्नै हिसाबले विद्यार्थीलाई खाजाको व्यवस्था गरेका छन् । शारदा नगरपालिका–१ शितलपाटीस्थित शिवजन माविका प्रधानाध्यापक हिरालाल नेपालीले सरकारले हरेक दिन के खाजा खुवाउने भन्ने वर्गीकरण गरेपनि उपलब्ध गराएको रकम धेरै कम भएकाले वर्गीकरण अनुसार खाजा खुवाउन नसकेको बताउनुभयो । विद्यालयले खुवाएको खाजाले नपुग्ने भएकाले विद्यार्थीहरु अझै पनि पसलमा गएर जंकफुड किनेर खाने गरेको उहाँले जानकारी दिनुभयो ।


‘स्थानीयस्तरमा उत्पादित वस्तुलाई खाजाको रुपमा प्रयोग गर्न गत वर्षसम्म अभिभावकलाई दिवा खाजाको व्यवस्था गर्न जिम्मा लगाउँदा बालबालिकाले राम्रोसँग खाजा खान पाएनन्, उहाँले भन्नुभयो, ‘अहिले विद्यालयले क्यान्टिनलाई जिम्मा दिएको छ ।तर सरकारले उपलब्ध गराएको १५ रुपैयाँले खाजा खुवाउन गाह्रो भएको छ ।’


कुनै विद्यालयले क्यान्टिन तथा स्थानीयलाई, कुनैले अभिभावकलाई जिम्मा दिएका छन् भने केहीले मात्रै आफैंले बनाएर खुवाउने गरेका छन् । पसलमा पाइने जंक फूड लाई प्रतिबन्ध लगाउँदै स्थानीयस्तरमा उत्पादित वस्तुबाटै दिवा खाजा खुवाउने भनेपनि अहिलेपनि बालबालिकाहरु बेलाखबत अझैपनि पसलबाट किनेका खाजा खान बाध्य छन् ।

जिल्लाका साढे चार सय सामुदायिक विद्यालयका १ देखि ६ सम्मका ३५ हजार बालबालिकाले दिवा खाजा खाने गरेको जिल्ला शिक्षा तथा समन्वय इकाइ कार्यालय सल्यानले जनाएको छ ।


शारदा नगरपालिकाकी शिक्षा शाखा प्रमुख संगीता भण्डारीले पालिकाका ५८ विद्यालयका ३ हजार ६ सय ९८ ले दिवा खाजा खाँदै आएपनि विभिन्न किसिमका गुनासो बढ्दै गएको र बालबालिकाले राम्रोसँग खाजा खान नपाएको बताउनुभयो । रकम कम भएकाले नै विद्यालयले उचित व्यवस्थापन गर्न नसकेको उहाँले बताउनुभयो । विद्यालयलेहरुले हप्तामा कुनबार कुन खानेकुरा खाने भनेर तालिका नबनाएका पनि होइनन तर यो सम्भव भएन ।


छत्रेस्वरी गाउँपालिका सल्यानका शिक्षा शाखा प्रमुख केशर ओलीले रकम कम भएकाले मापदण्ड अनुसार विद्यालयले खाजा खुवाउन नसकेको बताउनुभयो । नगरपालिकाले सबै विद्यालयमा गएर दैनिक अनुगमन गर्न नसक्दा पनि प्रभावकारी नदेखिएको उहाँको भनाइ छ । पालिकाका ४० विद्यालयका ३ हजारले खाजा खाइरहेको उहाँले बताउनुभयो ।

पालिकाले निगरानी गर्न नसक्नु, सरकारले उपलब्ध गराएको रकममा थप गर्न नसक्नु, विद्यालय र अभिभावकले कम चासो दिनुले अधिकांश विद्यालयका बालबालिकाले नियमित पोषिलो दिवा खाजा खान पाएका छैनन् ।


जबसम्म विद्यालय र अभिभावक जिम्मेवार बन्न सक्दैनन् तबसम्म दिवा खाजा कार्यक्रम प्रभावकारी हुन नसक्ने कपुरकोट गाउँपालिकाका प्राविधिक सहायक रमेश आचार्यले बताउनुभयो । पालिकाले सधैं अनुगमन गर्न नसक्ने भएकाले केही विद्यालयमा समस्या देखिएको उहाँले स्वीकार गर्नुभयो । ‘सरकारले उपलब्ध गराएको रकमले विद्यार्थीलाई खाजा खान पुग्दैन । अनुगमन नगर्दा कसले के खुवायो थाहा पाउन सकिँदैन, समस्या छ,उहाँले भन्नुभयो, ‘हामीले प्रत्येक महिनामा हुने बैठकमा प्रअलाई सल्लाह दिँदै आएका छौं । सबैले पालना गरेका छन् छैनन हेर्न बाँकी छ ।’


पालिकाले निगरानी गर्न नसक्नु, सरकारले उपलब्ध गराएको रकममा थप गर्न नसक्नु, विद्यालय र अभिभावकले कम चासो दिनुले केही विद्यालयका बालबालिकाले नियमित दिवा खाजा खान नपाएका जस्ता गुनासो सुन्न परेको बनगाड कुपिन्डे नगरपालिकाकी शिक्षा शाखा प्रमुख धुर्वाकुमारी थापाले बताउनुभयो ।


पालिकाका ६५ विद्यालयका झन्डै ५ हजार विद्यार्थीको खाजाको लागि अधिकांश विद्यालयले अभिभावकलाई जिम्मा लगाएका, अभिभावक कामकाजमा व्यस्त हुने गरेकाले समस्या सृजना भएको उहाँले बताउनुभयो ।


कतिपय विद्यालयहरुले घरबाटै खाजा ल्याउन भनेर मासिक रुपमा अभिभावकलाई नै पैसा पठाउने गरेका छन् । यो विधि पनि प्रभावकारी बनेको छैन । सरकारले दिवाखाजाको रकम बढाएर पोषिलो खाजाको लागी प्रोत्साहन गर्नुपर्ने र विद्यालयले त्यसकोे व्यवस्थापन गर्नुपर्ने सरोकारवालाहरुको धारणा छ ।

प्रकाशित मिति: ४ भाद्र २०७९, शनिबार २१:१९