सल्यानमा कमी आएनन् बलात्कारका घटनाः निसानामा बालिकाहरू धेरै, नजिकका आफन्त र चिनेजानेकाको संलग्नता बढि


मिना बुढाथोकी,सल्यान,०७९ साउन ३१
गत साउन २६ गते ८ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा शारदा नगरपालिका निवासी काका नाता पर्ने १५ वर्षीय बालकलाइसाउन २७ गते प्रहरीले गिरफ्तार ग¥यो । घरमा कोही नभएको समयमा बालिकालाइ ललाइ फकाइ बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिए । अभिभावकहरु घर नजिकै बारीमा काम गर्न गएको समयमा काकाले शौचालयमा लगेर बलात्कार गरेको थाहा पाएपछि घटना बाहिरिएको हो ।


पीडित पक्षले साउन २७ गते दिएको उजुरीका आधारमा आरोपितलाइ घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर सन्तोस खनालले जानकारी दिनुभयो । बालिकाको स्वास्थ्य परिक्षण स्वास्थ्य सेवा कार्यालय सल्यानमा साउन २७ गते गरिएको र बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । हाल आरोपितलाइ हिरासतमा राखी घटनाका विषयमा थप अनुसन्धान भइ रहेको इन्सपेक्टर खनालले बताउनुभयो ।


असार २२ गते सल्यानको कुमाख गाउँपालिका निावासी– १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भयो । ठूलीआमाको घरमा सुत्न गएकी बालिकालाइ अपरिचित दुइ जना व्यक्तिले बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि घटनाका आरोपित जाजरकोटका दुई युवालाई प्रहरीले गिरफ्तार ग¥यो ।


बलात्कारको आरोपमा जारजरकोट भेरी नगरपालिका–१२ का अन्दाजी २२ वर्षिय रमेश भण्डारी र सोही ठाउँका २० वर्षीय डिल्ली बस्नेतलाइ असार २३ गते घरबाटै जाजरकोट प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी इन्सपेक्टर सन्तोस खनालले जानकारी दिनुभयो । आरोपित दुबैजनालाइ असार २४ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याइयो । पीडित पक्षले असार २३ गते जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन दर्ता गराए ।

राती ११ बजेको समयमा आरोपित दुबैजनाले पीडित सुती रहेकै समयमा जबरजस्ती घर भित्रै गएर बलात्कार गरि भागेको पीडित बालिकाले इन्सेक प्रतिनिधिलाइ बताउनुभयो । आफ्नो घर नजिकै रहेको आफ्नो ठुलीआमाको घरमा सुत्न गएकी थिएँ,उहाँले भन्नुभयो घरमै सुतेको स्थानमा पुगेर ति दुई जनाले जबरजस्ती करणी गरेर भागे । घटना भए लगतै परिवारले प्रहरीलाई खबर गरेका थिए । निवेदन दर्ता गर्न सदरमुकाम पुगेका उनिहरुलाइ इन्सेकको पहलमा जिल्ला स्थित सुरक्षित आवास गृहमा राख्ने व्यवस्था मिलाइयो । पीडितको स्वास्थ्य परिक्षण असार २३ गते जिल्ला अस्पताल सल्यानमा भयो ।

पछिल्लो समय सल्यानमा बलात्कार तथा बलात्कार प्रयासका घटना वर्षेनी बढ्दै गएका छन् । सरकारले बलात्कारमा संलग्नलाई कारबाहीको दायरामा ल्याइ रहेको छ तर पनि जिल्लामा यस्ता घटना घट्नुका सट्टा बढेका बढ्यै छन् । कतिपय घटनामा त आफन्तकै संलग्नता पाइएको छ ।
सल्यानमा गत आर्थिक वर्ष ०७८।०७९मा जिल्ला प्रहरी कार्यालय सल्यानमा ३७ वटा बलात्कार घटनाका उजुरी दर्ता भएका जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर सन्तोष खनालले जानकारी दिनुभयो । उहाँका अनुसार ०७८।०७९ मा सबै भन्दा बढी १६ देखी २५ वर्ष उमेर समुहका १८ महिला तथा बालबालिका पीडित भएका छन् । १६ वर्ष मुनीका १३ बालबालिका रहेका छन् ।


यस्तै गत आव ०७७।०७८ मा जिल्ला प्रहरी कार्यालय सल्यानमा ३८ वटा उजुरी दर्ता भएका छन् । यस वर्ष सबै भन्दा बढी १३ देखी १७ वर्ष उमेर समुहका बालिका बलात्कार तथा बलात्कार प्रयासका घटनाका पीडित रहेको प्रहरीको तथ्याँकमा उल्लेख छ । सबै भन्दा शारदा नगरपालिकामा १० वटा तथा सबै भन्दा कम कपुरकोट गाउँपालिकामा १ वटा जबरजस्ती तथा जबरजस्ती करणी उद्योगका घटना दर्ता भएको इन्सपेक्टर खनालले बताउनुभयो ।


यस्तै गत ०७६।०७७ सालमा २६ वटा र ०७५।०७६ सालमा १७ वटा जबरजस्ती करणी तथा उद्योग अन्तरगत मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ । विगत चार वर्षको तथ्याँक विष्लेषण गर्ने हो भने जिल्लामा यस्ता प्रकृतीका घटना बढ्न थालेको देखिन्छ ।


बलात्कार, बलात्कार प्रयास तथा महिलामाथि हुने विभिन्न हिंसाका घटनाका मुख्य कारणको रुपमा मदिरा सेवन नै रहेको अनुसन्धान बाट खुल्न आएको प्रहरीले जनाएको छ । कतिपय बलात्कार र बलात्कार प्रयासका घटना प्रेम सम्बन्धका कारण पनि हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ भने अधिकाँश घटनामा आफन्तकै संलग्नता देखिएको छ । बलात्कारसँगै सबै यौन हिंसाका घटना प्रहरी कार्यालयसम्म आउन नसकेको उहाँले बताउनुभयो ।

जिल्ला अदालत सल्यानमा ०७८ साउनदेखि ०७९ असारसम्म ६४ वटा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका छन् । ती मध्ये ३० वटा फछ्र्योट भएका छन्, भने ३४ वटा मुद्दा विचाराधीन छन् ।


उमेर नपुग्दै बालबालिकाबीच प्रेम सम्बन्ध हुने र पछि अभिभावकले थाहा पाएपछि त्यसलाई जबरजस्ती करणीको रुपमा मुद्दा हाल्ने प्रवृत्तिले पनि घटनामा वृद्धि देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसरा यस्ता घटनामा तत्काल उजुरी गर्न र अनुसन्धानमा सहयोग गर्न प्रहरीले पीडित पक्षसँग अनुरोध गरे पनि ढिलो गरि उजुरी आउनुले अपराधी उम्कने खतरा बढेको देखिन्छ ।


जिल्ला अदालत सल्यानमा ०७८ साउनदेखि ०७९ असारसम्म ६४ वटा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका छन् । ती मध्ये ३० वटा फछ्र्योट भएका छन्, भने ३४ वटा मुद्दा विचाराधीन छन् ।


अदालतको तथ्यांक अनुसार धेरैजसो घटनामा बालिका पीडित भएको देखिएको सल्यान अदालतका श्रेस्तेदार हेमन्त ज्ञवालीले बताउनुभयो ।बलात्कार तथा बलात्कार प्रयासका मुद्दा दर्ता गरे पनि कतिपय भने होस्टाइल भइदिने गरेको उहाँको भनाइ छ । बलात्कार र बलात्कार प्रयास नियन्त्रण गर्न आवश्यक कानुन निर्माण र सजायको माग भए पनि घटनामा कमी आउन नसकेको जिल्लामा अधिकारको क्षेत्रमा कृयाशील अधिकारकर्मीहरुको भनाइ छ ।

प्रकाशित मिति: १ भाद्र २०७९, बुधबार १३:०९