२५ वर्षदेखि लालपुर्जा विनाको घर जग्गामा बास, जग्गा पाएका सुकुम्वासीलाई अझैँ लालपुर्जाको आश

मिना बुढाथोकी

सल्यान असोज ३
सल्यान जिल्लाका सुकुम्बासी परिवारहरुले लालापुर्जा नपाएको गुनासो गरेका छन् । अधिकाँश सिमान्तकृत समुदायका परिवारहरुले घर पाएपनि लालपुर्जा नपाएको गुनासो गरेका हुन् ।


सुकुम्बासी आयोगले २०३८, २०५२ र २०५४ सालमा शारदा नगरपालिकाको शान्तीनगर, छत्रेस्वरी गाउँपालिकाको लान्ति र भोटेचौर, त्रिवेणी गाउँपालिका, बनगाडकुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकाको आसपासका क्षेत्रमा बस्दै आएका झण्डै ५ सय भूमिहीनहरूलाई जग्गा उपलब्ध गराएको थियो । जग्गा पाएकामध्ये अहिलेसम्म २५ जनाभन्दा बढीले लालपुर्जा पाउन सकेका छैनन् ।


सरकारले २०३८ सालदेखि हालसम्म २२ पटक आयोगको कार्यालय स्थापना गरिसकेको छ । तर २२ पटक कार्यालय स्थापना भएपनि सुकुम्वासीलाई लालपुर्जा हात पर्न सकेको छैन ।छत्रेश्वरी गाउँपालिका निवासी गणेश भारतीले ०५४ सालमा आफुले सुकुम्बासी आयोगबाट १० मिटर लम्बाइ र ५ मिटर चौडाइ भएको जग्गा पाएको बताउनुभयो । सुकुम्बासी आयोगले जग्गा उपलब्ध गराएपछि ७ लाख खर्च गरी घर बनाएर बस्दै आएको उहाँले बताउनुभयो ।आयोग गठनपछि लालपुर्जाको लागी निवेदन दिने काम निरन्तर चली रहेको छ उहाँले भन्नुभयोे, ‘सबैले जग्गा दिन्छौं भनेर निवेदन लेख्न लगाउँछन, तर लालपुर्जा कहिल्यै दिँदैनन् ।


छत्रेस्वरी गाउँपालिका–६ लान्तिकै अर्का स्थानीय ४० वर्षीय भुवन बादीले २०५२ सालमा स्थापना भएको सुकुम्बासी आयोगबाट घर बनाउन ५ मिटर लम्बाइ र १० मिटर चौडाइ भएको जग्गा पाएको बताउनु हुन्छ । २०५४ सालमा आयोगका पदाधिकारीले लालपूर्जा दिने भनेपछि ५ जनाको परिवारका लागि ऋण लिएर एक तले टिनले छाएको घर बनाएको उहाँको भनाइ छ ।


माछा मारेर र मजदुरी गरेर गुजारा चलाउँदै आएका भुवनकोे परिवार अहिले त्यही घरमा बसिरहेको छ । तर जग्गाको पुर्जा अझै सम्म पनि पाउन नसेको उहाँको गुनासो छ । ‘सरकार बदलिएसँगै आयोगका पदाधिकारी बदलिरहन्छन, पुर्जाको आश्वासन पनि दिन्छन, तर हामी कहिल्यै पाउँदैनौं, उहाँले भन्नुभयो, ‘अहिलेसम्म कम्तीमा १० पटक निवेदन दिइयो होला, पुर्जा नहुँदा ढुक्कले आफ्नै घरमा पनि बस्न सकिएको छैन । सवैलाई आफुहरुको समस्या राजनिति गर्ने थलो बनेको उहाँले बताउनुभयो ।

स्थानीय तहले सुकुम्बासी पहिचानका लागि खासै चासो नदिँदा भूमिहीनहरू झनै गरिब बनिरहेको राष्ट्रिय भूमि आयोग सल्यानका अध्यक्ष वीरबहादुर सेजवालले बताउनुभयो । उहाँले जिल्लामा कति सुकुम्बासी छन भन्ने तथ्यांक कसैसँग नहुँदा पनि पुर्जा वितरण लगायत काममा समस्या भइरहेको बताउनुभयो ।


आफूहरूका लागि स्थानीय सरकारले पनि लालपुर्जा उपलव्ध बनाउन चासो नदिएको छत्रेस्वरी गाउँपालिका ६ भोटेचौरका सन्देश नेपालीको भनाइ छ । सुकुम्बासी आयोगबाट ०३८ सालमा घर बनाउने जग्गा पाएको जानकारी दिंदै उहाँले भन्नुभयो, ‘लालपुर्जा पाउने आशामा घर बनाए, पहिला टहरोमा बस्दै आएकालाई अहिले केही राहत त भएको छ, तर अहिले पैसा त्यत्तिकै खेर गएजस्तै लाग्न थालेको छ ।, उहाँले थप्नुभयो ‘घर छ भन्ने मात्र छ , लालपुर्जा भए कर्जा निकालेर केही व्यवसाय गर्न सकिन्थ्यो ।


लालपुर्जा नपाउँदा कसैले मेरो जग्गा भन्दै हडप्ने हो कि भन्ने चिन्ता सधैं भइराख्ने गरेको शारदा नगरपालिका–१ शान्तिनगरका पूर्ण बादी बताउनुभयो । ‘घर त बनाइएको छ, तर यसको स्वामित्व आफ्नो नाममा छैन, उहाँले भन्नुभयो, ‘सुकुम्बासीका नाममा टाठाबाठाले मात्र बढी फाइदा लिँदा हामी वर्षौंदेखि पुर्जाबाट वञ्चित भयौं ।


स्थानीय तहले सुकुम्बासी पहिचानका लागि खासै चासो नदिँदा भूमिहीनहरू झनै गरिब बनिरहेको राष्ट्रिय भूमि आयोगका अध्यक्ष वीरबहादुर सेजवालले बताउनुभयो । उहाँले जिल्लामा कति सुकुम्बासी छन भन्ने तथ्यांक कसैसँग नहुँदा पनि पुर्जा वितरण लगायत काममा समस्या भइरहेको बताउनुभयो ।


‘स्थानीय तहले जति छिटो प्रक्रिया सुरु गरे, भूमिहीनहरूले चाँडो जग्गा पाउँछन्न, उहाँले भन्नुभयो, ‘हामीले भूमिहीनहरूको तथ्यांक मागेको लामो समय भइसक्दा पनि पालिकाहरूले विवरण अझै पठाएका छैनन् । उहाँका अनुसार १० स्थानीय तहमध्ये त्रिवेणी र कपुरकोट गाउँपालिकाले मात्र पुर्जाका लागि आवश्यक प्रक्रिया अघि बढाएका छन् ।


आयोगले लालपुर्जा नपाएका सुकुम्बासीलाई निवेदन दिनको लागी गत असारमा ३५ दिने सूचनासमेत प्रकाशन गरिसकेको छ । तर एक जनाले मात्र निवेदन दर्ता गराएको उहाँले बताउनुभयो ।कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले भूमिहीनहरूको तथ्यांक संकलन भइरहेको बताउनु भयो । उहाँका अनुसार पालिकाभरि झण्डै १ हजार सुकुम्बासी छन् । कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले सुकुम्बासी पहिचान र उनीहरूको समस्या समाधानको लागि कागजी प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: ३ आश्विन २०७९, सोमबार १८:४३