कभर खबर

  • २८ आश्विन २०७९, शुक्रबार ०९:२३

सल्यानमा अझै हटेन् कुपोषण

२४ पटक हुनुर्पने बालबालिकाको वृद्धि अनुगमन मुस्किलले ५ पटक

मिना बुढाथोकी

सल्यान असोज २८
शारदा नगरपालिका–८ मार्केकी पार्वती विकको बुझाइमा पोषिलो खाना भन्नाले बच्चाहरुको लागी बजारमा पाइने वस्तु हो । उहाँलाइ घरमै उत्पादन गरिएको खाद्यान्न जस्तै हरियो सागपात, पहेँलो फलफुल, गेडागुडी, विभिन्न अन्न तथा गेडागुडी मिसाएको लिटो, जाउलो, अण्डा, माछामासु, दुध दही घिउको मात्रा मिलाएर बच्चालाइ खुवाउनु पर्छ भन्ने बारे त्यती जानकारी छैन् । एकदुई पटक सुनेको भएपनी घरको खानाप्रति उहाँलाई त्यति विश्वास छैन ।


हरेक बच्चालाई स्वस्थ्य र तन्दुरुस्त राख्न खानपान नै मुख्य कुरा हो । सन्तुलित भोजनको अभाव, कम उमेरमा बच्चा जन्माउनु, गर्भवती र शिशुले स्याहारसुसार नपाउनु जस्ता कारणले जिल्लामा अझैपनि बालबालिकामा कुपोषण हट्न सकेको छैन । कतिपय अभिभावकहरुले बच्चाहरुलाई सन्तुलित आहार खुवाउदै आएको भएपनि कतिपय अभिभावकलाइ अझै यस विषयमा जानकारी नै छैन् ।


ग्रामीण स्तरमा पोषणको बारेमा राम्ररी जानकारी नहुँदा सल्यानको ग्रामिण क्षेत्रका बालबालिकामा कुपोषणको समस्या अझै हट्न सकेको छैन् । सन्तुलित भोजनको अभाव, कम उमेरमा बच्चा जन्माउनु, गर्भवती र शिशुले स्याहार सुसार नपाउनु, चेतना स्तर माथी उठ्न नसक्नु लगाएतका कारणले जिल्लाको ग्रामिण क्षेत्रका बालबालिकामा कुपोषण अझै हट्न नसकेको हो ।


स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्यांक अनुसार जिल्लामा बर्षेनी कुपोषित बालबालिकाको संख्या घट्दै गएको छ । तर अपेक्षाकृत रुपमा भने अझै घट्न नसकेको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक बर्ष २०७६÷०७७ मा जिल्लामा २ दशमलव ४ प्रतिशत बालबालिकामा कुपोषण थियो ।

“आर्थिक अवस्था कमजोर हुँदा ग्रामीण क्षेत्रका बासिन्दाले सन्तुलित भोजन खाँदैनन भने बजार एरियामा जंकफुडको समस्या छ”


यस्तै आर्थिक बर्ष २०७७÷०७८ मा त्यो संख्या घटेर २ प्रतिशतमा आयो । गत आर्थिक बर्ष २०७८÷०७९ मा भने १ दशमलव ६ प्रतिशत बालबालिकामा कुपोषण भेटिएको छ । यो तथ्यांक जन्मेदेखी २ बर्षमुनिका बृद्धि अनुगमण गरिएका बालबालिकाको भएकाले जिल्लामा कुपोषित बालबालिकाको संख्या धेरै भएको अनुमान उहाँको छ ।


प्रोटोकल अनुसार जन्मेदेखी २ बर्षसम्ममा प्रत्येक बालबालिकाको २४ पटक बृद्धि अनुगमन गर्नुपर्छ । तर जिल्लाका एउटा बच्चाको सरदरमा ५ पटक मात्रै बृद्धि अनुगमन गर्ने गरिएको तथ्यांकमा उल्लेख छ । अघिल्लो बर्ष सरदरमा ४ पटक मात्रै बृद्धि अनुगमण गर्ने गरिएको थियो । जिल्लामा बृद्धि अनुगमन गरिएको मध्ये १.६ प्रतिशत बालबालिका कुपोषण रहेको कार्यालयका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो ।


उहाँले स्वास्थ्य संस्थाहरुमा गरिएको बालबालिकाहरुको बृद्धि अनुगमनाको आधारमा यस्तो तथ्यांक सार्वजनिक भएको बताउनुभयो ।‘अहिलेसम्मको तथ्यांकलाई हेर्दा १.६ प्रतिशत देखिएको छ, त्यो बृद्धि अनुगमन गरेका बालबालिकाको संख्या हो, गाउँघरमा त्यस्ता खालका बालबालिका अझै धेरै भएको हुन सक्छन्’ उहाँले भन्नुभयो । बृद्धि अनुगमन गरिएका बालबालिका मध्ये सबैभन्दा धेरै शारदा नगरपालिका भित्रका २.४ प्रतिशत बालबालिकामा कुपोषण भेटिएको छ भने सबैभन्दा कम कुमाख गाउँपालिकामा ०.६ प्रतिशत बालबालिकामा कुपोषण भेटिएको हो ।


यस्तै कपुरकोट गाउँपालिकाका १.३, दार्मा गाउँपालिकाका १.६, बन्गाड कुपिण्डे नगरपालिकाका १.५, सिद्ध कुमाख गाउँपालिकाका २.३, बागचौर नगरपालिकाका १.८, छत्रेश्वरी गाउँपालिकाका २.१, कालिमाटी गाउँपालिकाका १ र त्रिबेणी गाउँपालिकाका २.२ प्रतिशत बालबालिकामा कुपोषण भेटिएको हो ।


स्वास्थ्यसम्बन्धी सचेतनाको अभावका कारण कम उमेरमा बच्चा जन्माउनु, जन्मिएको बच्चालाई नियमित स्तनपानमा नगराउनु, खानपिन र स्याहारसुसारमा ध्यान नदिनुलगायत कारण कुपोषणको दर अपेक्षाकृत रुपमा घट्न नसकेको सूचना अधिकारी डिसीले बताउनुभयो । ‘आर्थिक अवस्था कमजोर हुँदा ग्रामीण क्षेत्रका बासिन्दाले सन्तुलित भोजन खाँदैनन भने बजार एरियामा जंकफुडको समस्या छ्’ उहाँले भन्नुभयो ‘अधिकांशले पेट भर्ने हिसाबले मात्र खाना खाँदा पनि कुपोषण घट्न नसकेको हो ।’ खाना खाने बानीमा सुधार नआएसम्म बालबालिकामा लाग्ने कुपोषणले जरा गाडी रहने उहाँको भनाइ छ । उनले बजार एरियामा व्यस्त अभिभावक र जंकफुडको धेरै भरले पनि कुपोषण बढि देखिएको हुन सक्ने बताए ।


कुपोषित बालबालिकाको लागि १३ स्थानमा बहिरंग उपचार केन्द्र

जिल्लामा कुपोषित बालबालिकाको संख्या अपेक्षाकृत रुपमा घट्न नसकेपछि १३ स्थानमा बहिरंग उपचार केन्द्र स्थापना गरेर सेवा प्रवाह गरिएको छ । केन्द्रमा कुपोषित बालबालिकाको उपचारको व्यवस्था मिलाइएको छ । ‘कडा खालको कुपोषण देखिएका बालबालिकालाई एक महिनासम्म दैनिक रुपमा पौष्टिक आहार खुवाउने व्यवस्था मिलाइएको शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र हमालले बताउनुभयो ।


स्थापना भएका वहिरंग उपचार केन्द्रहरुमा कडा शिघ्र र मध्यम शिघ्र कुपोषण भएका ६ देखि ५९ महिना सम्मका बालबालिकालाई तयार पारिएको उपचारात्मक खाना आरयुटीएफ मार्पmत उपचार थालिएको छ । समुदायमा रहेका ६ देखि ५९ महिना सम्मका सबै बालबालिकाहरुको पाखुरा मापन, कडा तथा मध्यम शिघ्र कुपोषण भएका बालबालिकाहरु पहिचान गरि पत्ता लागेका कडा तथा मध्यम शिघ्र कुपोषित बालबालिकाहरुलाई बहिरंग उपचार केन्द्रमा ल्याई एकिकृत रुपमा उपचार गर्ने गरिएको उहाँले बताउनुभयो ।


यसबाट गतबर्ष ३ सय १८ बालबालिकाले उपचार सेवा पाएका छन् । कडा तथा मध्यम शिघ्र कुपोषण भएका बालबालिकाको जिल्लामै उपचार भएपछि ग्रामीण भेगका हजार दिने आमाहरु खुसि भएका छन् ।

प्रकाशित मिति: २८ आश्विन २०७९, शुक्रबार ०९:२३