विकराल बन्दैै मानसिक स्वास्थ्य समस्याः नीति बनाएर समस्या रोकथाममा लाग्दै स्थानिय तहहरु

बेलैमा समस्या पहिचान भएमा न्यूनिकरण गर्न सकिने

मिना बुढथोकी

सल्यान,०७९ मङ्गसिर २ गते

हाम्रो समाजमा मानसिक तथा मनोसामाजिक समस्या पछिल्ला केहि वर्षदेखि बिकराल रुपमा बढ्दै गएको छ । घरेलु हिंसा, अशिक्षा, बाल विवाह, गरीबी, वैदेशिक रोजगारी, असतुष्टि लगाएतका विभिन्न कारणले समाजमा मानसिक तथा मनोसामाजिक समस्या बिकराल रुपमा बढ्दै गएको छ । जसका कारण मानिसहरु दैनिक रुपमा सामाजिक क्रियाकलापबाट टाढा हुँदै गएका छन भने आत्महत्याको जोखिम पनि उत्तिकै बढेको छ ।


जिल्ला प्रहरी कार्यालय सल्यानको तथ्याँक हेर्ने हो भने आत्महत्या तथा आत्महत्या प्रयासका घटनाहरुको अवस्था डरलाग्दो छ ।विगत दुइ वर्षको तथ्याँक अनुसार गत आर्थिक वर्ष ०७८।०७९मा जिल्लामा ५४ जनाले आत्महत्या गरेका छन् । यस्तै गत आर्थिक वर्ष ०७७।०७८मा ६९ जनाले आत्महत्या गरेका छन भने १सय ४० जनाले आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर सन्तोष खनालले जानकारी दिनुभयो ।


उहाँले आत्महत्या न्युनिकरण गर्न मानसिक तथा मनोसामाजिक सुस्वास्थ्यसँगै यसबारेमा सचेतना आवश्यक रहेको बताउनुभयो । डिप्रेशन भएका व्यक्तीमा आत्महत्याको जोखिम बढी हुने गरेको समेत उहाँले बताउनुभयो । डिप्रेशन भएका व्यक्तीलाइ परिवार र समाजले समयमै पहिचान गरी परामर्श गर्न सके आत्महत्या रोकथाम गर्न मद्दत पुग्ने उहाँले बताउनुभयो ।


मानसिक स्वास्थ्यलाई स्वास्थ्यको अभिन्न अङ्गको रूपमा लिएपनि यसको प्रवद्र्धनका लागि व्यक्तिगत तथा सामुदायिक स्तरमा धेरै काम भएको पाइँदैन । सामान्य भाषामा बुझ्दा मानसिक स्वास्थ्यलाई मनमा रहेका सोच र व्यवहारको स्वास्थ्य भनेर र बुझ्न सकिन्छ । मानसिक रूपमा स्वस्थ्य व्यक्तिले आफ्नो क्षमताको पहिचान गरी दैनिक जीवनयापन गर्नका लागि विभिन्न परिस्थिति सामना गर्दै उत्पादनशील तथा प्रगतिशील जीवनयापन गर्न सक्छ ।


टाउकोमा लाग्ने चोट, कुपोषण, लागू औषध दुव्र्यसन, जीवनका नराम्रा भोगाइ, दुर्घटना, यातना, आघात, हिंसा आदि कारणले मनका भावना, सोच र व्यवहारमा असर पुग्ने गरेको र यदि त्यस्तो असर लगातार रूपमा दुई हप्ताभन्दा बढी समयसम्म देखा परिरहेमा मानसिक स्वास्थ्य समस्या रहेको बुभ्mन सकिने जिल्ला अस्पताल सल्यानका डाक्टर शशि सिंहले बताउनुभयो । उहाँले अहिले स्वास्थ्य सेवा कार्यालय सल्यानबाट १ सय ६१ जनाले मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न औषधी र परामर्श सेवा ली रहेको उहाँले बताउनुभयो ।

मानसिक स्वास्थ्य समस्याको उपचार सम्भव भए पनि यसप्रति रहेको अज्ञान, लाञ्छना, विभेद र कलङ्कका कारणले गर्दा समस्यालाई लुकाउने वा गलत उपचार खोज्ने प्रवृत्ति हाम्रो समाजमा व्याप्त छ, उहाँले भन्नुभयो । आत्महत्याका घटना दैनिक रुपमा बढ्दै जान थालेपछि जिल्लाका विभिन्न पालिकाहरुले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवर्धन बारे काम गर्न थालेका छन् । केही पालिकाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य नीति बनाउने काम समेत अन्तिम चरणमा पुगेको बताएका छन् ।


शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले फेल्म नेपालको आर्थिक सहयोग, सीएमसी नेपाल र शारदा नगरपालिकाको सहकार्यमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य निती २०७९ को मस्यौदा कार्यपालिका बैठक बाट पारित गर्ने तयारी भएको बताउनुभयो । मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य निती २०७९ मस्यौदाको लागी प्राविधिक सहयोग सीएमसी नेपालले गरेको उहाँले बताउनु भयो । पछिल्लो समय मानिसहरुमा मानसिक स्वास्थ्य समस्या प्रमुखताका साथ बढ्दै जान थालेपछि स्थानीय सरकारले पनि यस तर्फ चासो दिएको उहाँको भनाइ छ ।


सीएमसी नेपालले जिल्लाका चार वटा पालिका शारदा नगरपालिका,बागचौर नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा स्थानीय सरकारसंगको सहकार्यमा “प्रर्वधन” परियोजना संचालन गरेको छ । प्रवासी कामदार तथा तिनका परिवारको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवर्धन परियोजनाको परिकल्पना मानसिक स्वास्थ्य र मनोसामाजिक समस्या भएका ब्यक्तिहरु अन्य ब्यक्ति सरह आधारभूत अधिकार प्राप्त गरी सम्मानपूर्ण जीवन जीउन पाउने रहेको सीएमसी नेपालका कर्णाली प्रदेश संयोजक हिमाल गैरेले बताउनुभयोे ।


उहाँले परियोजना संचालन भएका सबै पालिकामा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य निती २०७९को प्रारम्भिक मस्यौदाको काम करिब अन्तिम चरणमा रहेको बताउनुभयो । मानसिक स्वास्थ्यको विषयमा धेरैलाई जानकारी नभएको र चेतनाको अभावले हेलचेक्र्याई गरिने तथा सामाजिक लाञ्छनाको डरले गर्दा आप्रवासी कामदार तथा तिनका परिवारलाई सारिरिक स्वास्थ्य विग्रदा भन्दा बढी असर मानसिक स्वास्थ्य राम्रो नहुँदा हुन्छ ।


त्यसैले अब एकछिन पनि ढिलो नगरीकन मानसिक स्वास्थ्य सम्बन्धी न्यूनतम जानकारी तथा चेतनामूलक सूचनाहरु समुदायसम्म पु¥याउनुपर्दछ । संक्षेपमा भन्दा मानसिक स्वास्थ्यको क्षेत्रमा हेरचाह, रोकथाम र सावधानीका विषयमा कसरी काम गर्ने भनेर तत्कालै आधारभूत कार्यक्रम तयार गर्नुपर्ने देखिएको सरोकारवालाहरुको भनाइ छ ।


मानसिक तथा मनोसामाजिक रुपमा प्रभावित भइ पुनः सामान्य जीवन यापन गरी रहेका व्यक्तीहरु संगठित भएर मानसिक स्वास्थ्य स्वावलम्बन समुह जिल्ला संजाल मार्फत पीडित व्यक्तीहरुका लागी आवाज उठाउँदै आएका छन् । मानसिक रुपमा प्रभावित व्यक्तीलाइ समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आफु एकजुट भएर अगाडी बढेको जिल्ला संजालका अध्यक्ष उत्तरा बिष्टले बताउनुभयो ।


विभिन्न कारणले मानसिक समस्या भोगी रहेका महिलाहरु जो खुलेर अझैपनि बाहिर आउन सक्नु भएको छैन्,उहाँहरुको पहिचान गरी अभिलेख राख्ने र मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने काम हामीले गर्दै आएका छौं, उहाँले भन्नुभयो ।

प्रकाशित मिति: २ मंसिर २०७९, शुक्रबार ०८:३५