
पातलो बस्तीले सुरक्षा चुनौती बढ्दै
मिना बुढाोकी
सल्यान ३ पुस
एक दशक अघिसम्म बाक्लो बस्ती भएका गाउँ बसाइसराइका कारण पातलिदै गएका छन् । बितेको एक दशक यताको अवस्था भने पूरै फेरिएको छ । सल्यानको काप्रेचोर, काल्चे, रामपुर, निगालचुला, लक्ष्मीपुर, माझकाँडा, कुपिण्डे, फलाबाङ, लेखपोखरा, छायाँक्षेत्र लगायतका क्षेत्रबाट सबैभन्दा बढी बसाइसराइ भएको छ ।
कतिपय स्थानमा त गाउँमा केही समस्या आइहाले हारगुहार गर्दा सुन्ने र सहयोग गर्ने छिमेकी समेत नपाइने अवस्था सिर्जना भएको छ । गाउँघरमा कसैको घरमा कुनै घटना भयो भने पनि थाहा पाउने मानिस छैन झिम्पेका रेमन्त डिसिले भन्नुभयो झिम्पेमा मात्रै यो १० वर्षमा एकान्त बस्तीमा भएका घरमा आधा दर्जन बढि हत्याका घटना भए । एकान्तका घरहरुमा मानवअधिकार हनन, महिला हिंसाका घटनाहरु जति भएपनि कसैले थाहा नपाउने भएकोले कतिपय घटनाहरु बाहिर आउन नसकेको उनले बताए ।
एकदशक अघि ४२ घरधुरी भएको कालीमाटी गाउँपालिका –७ आमवासमा अहिले १९ घरधुरी मात्रै छन् । त्यस्तै काप्रेचौरका नैनसिंह रानाले चार सय घरधुरी भएको काप्रेचौर क्षेत्रबाट ८० परिवारले बसाइ सरेको बताउनुभयो । कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल बस्नेतले लक्ष्मीपुर क्षेत्रबाट पाँच वर्षको अवधिमा ४० बढी परिवारले बसाइ सरेको जानकारी दिनुभयो । गाउँमा विकासले विस्तारै गति लिदै गरे पनि बसाइ सर्नेको संख्यामा भने कमी आउन सकेको छैन ।
गाउँमा समस्या पर्दा सहयोग गर्ने छिमेकी समेत पाइन छोडेको काप्रेचौरका टेकबहादुर बिक बताउनुहुन्छ । बसाइ सरेर जाने क्रमले गाउँमा विकास निर्माणको काम गर्न समेत समस्या हुने गरेको उहाँको भनाइ छ ।सल्यानबाट प्रायः दाङ, बाँके, बर्दिया, सुर्खेतलगायत तराईका जिल्लामा बसाइ सर्ने गरेका छन्। गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, लगानी, उद्योग व्यवसाय, सुरक्षा, सामाजिक सम्बन्ध र समानता खोज्दै तराई झर्ने क्रम तीब्र बन्दै जाँदा ग्रामीण भेगका बस्ती शून्य बन्दै गएका हुन्।
संघीयता कार्यान्वयनमा आएसँगै सेवा र सुविधा खोज्दै गाउँबाट शहर झर्ने क्रम रोकिने अपेक्षा गरिएको थियो । तर गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सेवा समेत नपाइने भएपछि बसाइसराइ घट्नुको साटो बढिरहेको छ । स्वास्थ्य, शिक्षा, रोजगारलगायतको कारण बसाइ सर्ने क्रम बढेको लेखपोखराका नरेन्द्र पुनले बताउनुभयो ।‘मौसम, हावापानीको हिसाबले बस्नलाई त यतै ठीक हो नि तर के गर्ने ? बिरामी भयो दाङ झर्नु पर्ने, छोराछोरी पढाउन दाङ झर्नुपर्ने, सुविधासम्पन्न अस्पताल छैन, राम्रो शिक्षा दिने स्कुल कलेज छैनन्,अनि बसाइ नसरेर पनि त भएन– उहाँले भन्नुभयो ।
गाउँघरको बढ्दो बसाइसराइले गाउँघर खालि बन्दै गएका छन् पातलो बस्तीले सुरक्ष चुनौती बढ्दै गएको छ छत्रेश्वरी २ का वडा अध्यक्ष प्रेम बहादुर खड्काले भन्नुभयो एकान्त बस्तीका घरहरुमा हत्या र हिंसाका घटना बढि देखिन्छन् ।
प्रायः छोराहरु वैदेशिक रोजगारीमा जाने र पैसा कमाएपछि सपरिवार शहर झर्ने गरेको उहाँको भनाइ छ । कतिपयले गाउँमा भएको घर, खेतवारी बेचेर शहर झरेका छन भने केहीले खेतवारी बाँझै छोडेर शहर झरेका छन् । आमाबुवा पनि छोराछोरीकै साथ लागेर शहर झर्ने क्रम बढ्दा गाउँका खेतीयोग्य भू–भाग जंगलमा परिणत हुँदै गएका छन् ।
अहिले जिल्ला बाहिरमात्र नभई जिल्लाभित्रै पनि गाउँ छोडेर बजार क्षेत्रमा बसाइ सर्नेक्रम बढ्दो छ । जसका कारण जिल्लाकै प्रमुख व्यापारिक केन्द्र श्रीनगर, सल्लीबजार, थारमारे, बागचौर, लान्ती, लुहाम, रामपुरलगायतका बजारक्षेत्रमा जनघनत्व बढ्दै गएको छ । द्वन्द्व, झैझगडा, जंगली जनावरको आतंकलगायतका कारण वर्षौं पहिलेदेखि शुरु भएको बसाइसराइ गाउँ–गाउँमा सडक, बत्ती, खानेपानी पुग्दा पनि रोकिएको छैन ।
२०७१ सालमा जिल्लाबाट चार हजार सात सय ७४ जनाले बसाइ सरेको एक तथ्यांकले देखाएको छ । तर पछिल्लो पाँच वर्षमा कति नागरिकले गाउँ छोडेर बसाइ सरे ? किन बसाइ सरे भन्ने एकिन तथ्यांक भने कतै पनि छैन । त्यसैले स्थानीयको बसाइसराइ रोक्नेतर्फ पनि कसैको चासो देखिदैन । काप्रेचौरका धनवीर बुढाले गाउँमा सम्भावना नदेखेर बसाइ सरेको बताउनुभयो ।

‘गाउँमा सोचेजस्तो विकास भएन, जंगली जनावरको आतंक रोक्न कसैले पहल गरेन– उहाँले भन्नुभयो– ‘शहरको तुलनामा गाउँमा विकास हुन धेरै समय लाग्ने देखियो । भोगचलन गर्दै आएको जग्गाजमिन र बस्दै आएको घर नै छोडेर बसाइसराइको कागजात लगेर बर्दिया झरेको उहाँको भनाइ छ । गाउँघरको बढ्दो बसाइसराइले गाउँघर खालि बन्दै गएका छन् पातलो बस्तीले सुरक्ष चुनौती बढ्दै गएको छ छत्रेश्वरी २ का वडा अध्यक्ष प्रेम बहादुर खड्काले भन्नुभयो एकान्त बस्तीका घरहरुमा हत्या र हिंसाका घटना बढि देखिन्छन् ।
प्रकाशित मिति: ३ पुष २०७९, आईतवार ०९:१८