
शंकर केसी
सल्यान, १२ माघ ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर १ जोगिदेउखोलामा सञ्चालन भएको सोडारी कागज उद्योग अहिले बन्द छ । सल्यानमा कागज उत्पादन र यसको राम्रो बजारिकरणको सम्भावना देखेर उद्योग स्थापना गरेका काभ्रेका यम बहादुर सोडारीले सञ्चालन गर्न सकेनन् । जिल्लाकै देवस्थलमा बनमाराको झारलाई जलाएर खरानी बनाई त्यसबाट कोइला बनाउनका लागि सल्यानी वायो विर्केट उद्योग खोलिएको थियो । उक्त उद्योग पनि अहिले बन्द अवस्थामा छ । यहाँ नयाँ सोँच र फरक उत्पादन गर्ने उद्देश्यले विभिन्न उद्योग स्थापना तथा सञ्चालन गरिएपनि बन्द हुदै गएका छन् ।
जिल्लाको शारदा नगरपालिका वडा नम्बर १ श्रीनगर स्थित भगवतीखोलामा सञ्चालन गरिएको र निकै आशा गरिएको साबुन उद्योग (ग्लोबल लाईफ पिआर) पनि सञ्चालकहरुले बन्द गरेका छन् । ठूलो परिमाणमा चिउरी उत्पादन हुने जिल्लाको कालीमाटी गाउँपालिकामा वनजंगलमा त्यसै खेर गइरहेका चिउरीका विजुलालाई संकलन तथा उपयोग गर्दै प्रशोधन र घिउ उत्पादनका लागि राज्यको अनुदान समेतमा चिउरी मिल सञ्चालन गरिएको थियो । यद्यपी कालिमाटी गाउँपालिका वडा नम्बर ४ को उक्त चिउरी मिलको अवस्था पनि लथालिंग जस्तै छ ।

व्यवसाय प्रवद्र्धन हुन नसक्दा तथा कतिपय सञ्चालकले उद्योगको दिगोपनाका लागि भन्दा पनि अनुदान प्राप्त गर्ने मात्रै उद्देश्यले उद्योग स्थापना गरेका कारण यस प्रकारको समस्या देखिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका अनुसार हाल सम्म कार्यालयमा दर्ता भएका मध्ये १६७ वटा उद्योग बन्द भएका छन् । कार्यालयमा जम्मा तीन हजार ३७८ उद्योग दर्ता भएका छन् । उद्योग व्यवसाय सञ्चालन गर्न गर्न नसकेपछि सञ्चालकहरुले दर्ता भएका उद्योग, व्यवसायको लगत कट्टा गर्न थालेका छन् ।
जिल्ला उद्योग कार्यालयमा दर्ता नगरी आआफ्नो स्थानीय तहमा उद्योग, व्यवसाय दर्ता गरेर पनि सञ्चालन भएका छन् । तथापी स्थानीय तहमा दर्ता भएका उद्योग,व्यापार, व्यवसायको पनि अवस्था उस्तै छ । उद्योग, व्यवसाय नविकरण नगर्ने तथा सञ्चालन गर्न नसकेको अवस्था स्थानीय तहहरुमा देखिन्छ । स्थानीय तहहरुमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा छन् । यो कार्यक्रम तथा अन्य कार्यक्रम मार्फत स्थानीय तहहरुले र अन्य विभिन्न निकायहरुले उद्यमी र उद्यम श्रृजनाका लागि मोटो रकम लगानी गरिरहेका छन् । तर प्रतिफल खासै देखिदैन । सिपयुक्त जनशक्ति बेरोजगार बन्न पुगेको अवस्था छ भने यो जनशक्ति विदेश पलायन हुनुको विकल्प देखिदैन ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय तथा विभिन्न स्थानीय तहहरुको तथ्यांक अनुसार जिल्लामा सबै भन्दा बढी कृषि र पशुपालनमा आधारित उद्योग व्यवसाय सबैभन्दा बढी रहेको देखाउँछ । त्यसपछि निर्माण व्यवसायसंग सम्बन्धीत, पर्यटनसंग सम्बन्धीत होटेल रेष्टुरेन्ट र कटाइ सिलाई सम्बन्धी छन् । रोजगारीका अवसर सृजना गर्न उद्योग सञ्चालनमा ल्याइए पनि बजारिकरणको समस्या, कच्चा पदार्थको अभाव जस्ता कारणले धमाधम बन्द हुने गरेका छन् भने राज्यको लगानी पनि खेर गइरहेको छ । आर्थिक वर्ष २०७५।०७६ देखि अनुदान कार्यक्रम सुरु गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले मात्रै हाल सम्म पौने चार करोड रुपैयाँ उद्योग प्रवद्र्धनका लागि अनुदान उपलब्ध गराइसकेको छ ।

जिल्लाकै वडागाउँमा रहेको कपडा बनाउने उद्योग, शारदा नगरपालिका ६ बरलामा सामुहिक रुपमा केही ब्यक्तिले आर्थिक लगानी गरेर सञ्चालन गरेको ह्युम पाईप उद्योग लगाएत यहाँका सिस्नुको पाउडर, मैनवत्ति बनाउने उद्योग बन्द हुदै गएका छन् । उद्यमीले स्थीर भएर काम गर्न नसक्दा र विदेसमा बढि पैसा कमाउन सकिन्छ भन्ने लालचले गर्दा उद्योग धेरै टिक्न नसकेका जानकारहरु बताउँछन् । जिल्लामा टमाटर सस, गु“रासको जुस, सुन्तला जुस, पाउरोटी ,चाउमिन, दालमोट, अचार, अदुवाकेन्डी, बा“स तथा निगालोका बिभिन्न सामग्री, मुढा लगायत कपडा, ढाका उद्योग, हाते होजियरी, हाते कागज, रेसम, फर्निचर, ईटा, टायल, होटल ब्यवसाय जस्ता घरेलु र मध्यम खालका उद्योग संचालनमा आएका थिए । यी उद्योगहरु क्रमिक रुपमा बन्दको अवस्थामा छन् ।
‘अनुदान खाने’ गलत नियतका साथ उद्योग दर्ता
जिल्लामा दर्ता भएका कतीपय उद्योग कागजमै सीमित देखिएका छन् । सरकारी अनुदान र सहुलियतपूर्ण कृषि कर्जा पाउने आशामा धेरै उद्योग दर्ता भएको पाइन्छ । सरकारी सुविधा दुरुपयोग गर्ने उद्देश्यले कतीपय उद्योग दर्ता भएको देखिन्छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका सूचना अधिकारी ध्रुव कुमार खत्री भन्छन्, ‘कतीपयले राज्यबाट ठूलो अनुदान खाने गलत उद्देश्यले उद्योग दर्ता गरेको पनि देखियो । लागत सहभागिताको रकम समेत जम्मा गर्न उहाँहरु तयार हुनुभएन ।’ साबुन उद्योगका लागि गत वर्ष आएको १३ लाख रुपैयाँ सम्बन्धीत उद्योगले लागत सहभागिताको ३० प्रतिशत रकम जम्मा गर्न नमानेपछि फ्रिज भएको कार्यालयले जनाएको छ ।
सल्यानमा वास्तविक उद्योगी व्यवसायीले भन्दा राजनितीक दल, नेताहरुको पहुँचमा उद्योग व्यवसाय दर्ता गरेर उनीहरुले नै लाभ लिन खोज्ने गलत उदाहरण देखिएको सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष कुमार बुढाथोकी बताउँछन् । उनले भने, ‘राज्यको उद्योगी छनौट प्रक्रीया पनि गलत देखिन्छ, राज्यको प्रणालीबाट पनि केही गलत भएको छ की, यसबारेमा पनि ध्यान दिन जरुरी छ ।’ जिल्लामा उद्योग दर्तामा आकर्षण बढेपनि कामै नगरी पहुँचवालाले सरकारी अनुदान पोल्टामा पार्ने दुखद अवस्था छ ।

यसका साथै अन्य विभिन्न कारणले उद्योग सञ्चालनमा समस्या देखिएको छ । छिमेकी जिल्लाबाट उत्पादन भएका वस्तुसंग प्रतिष्पर्धा गर्न नसक्नु, स्थानीयस्तरमा कच्चा पदार्थको अवस्था, बजारको अवस्था र व्यवसाय सम्बन्धी पूर्व सम्भाव्यता अध्ययन नगरेर व्यसयास सुरु गर्दा असफलता हात पर्ने गरेको उद्योग कार्यालयका सूचना अधिकारी खत्री बताउँछन् । एउटा उद्योग, व्यवसाय फस्टाएको देखेर त्यतै हामफाल्ले गर्नाले वा उद्योगीहरु आफैं पनि लहडमा लाग्दा खेरीे दुष्परिणाम भोगिरहेको पाइन्छ ।
बजारको अवस्था नहेरी लगानी नै जोखिममा पर्ने गरी लहडमा उद्योग खोल्ने चलनलाई निरुत्साहित गर्न राज्यका निकाय चनाखो हुनुपर्ने, मूल्यमा प्रतिस्पर्धा हुने र लगानीकर्ताले प्रतिफल लिन सक्ने क्षेत्रमा लगानी गर्ने वातावरण राज्यले निर्माण गर्नुपर्ने तथा सरकारले संरक्षणको नीति ल्याएर उद्योगहरुलाई बचाउनुपर्ने नीजि क्षेत्रको सुझाव छ । उद्योग वाणिज्य संघका अध्यक्ष बुढाथोकी भने राज्यको तर्फबाट वास्तविक उद्यमीलाई उचित लगानी नहुनु, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबाट पनि लगानी नहुनु, उत्पादित वस्तुको बजारिकरणको समस्याले गर्दा जिल्लामा उद्योगहरु बन्द हुदै गएको बताउँछन् ।
उद्योग वाणिज्य संघमा आवद्ध उद्योग, व्यवसायको संख्या चार हजार ५०० को हाराहारीमा भए पनि हाल तीन हजार चार सयजती मात्रै सक्रिय रहेको उनी बताउँछन् । संघको निर्वाचनलाई मात्रै लक्षित गरेर व्यवसायलाई उद्योग वाणिज्य संघमा दर्ता नविकरण गराउने समस्या छ । तर अध्यक्ष बुढाथोकीले यसको सुधारमा आफुहरु लागिपरेको बताउँछन् । ‘विगतमा यस्तो समस्या थियो होला । तर अहिले मैले नेतृत्व गरिरहेको उद्योग वाणिज्य संघले वास्तविक मापदण्डमा रहेर यवसाय गर्नुहुन्छ, उहाँहरु मात्रै संघमा आवद्ध हुनुहुन्छ भन्ने कुराको प्रमाणित गर्छ, अव आउने निर्वाचनमा पनि यो देखिनेनै छ’, उनले भने ।

प्रकाशित मिति: १२ माघ २०७९, बिहीबार १०:३५