साढे २ वर्ष सम्म सल्यानका आधारभुत अस्पतालको काम अधुरै, शुरु हुन सकेन पालिकामै विशेषज्ञ सहितको स्वास्थ्य उपचार सेवा

मिना बुढाथोकी
सल्यान फागुन १
शिलान्यास भएको दुई बर्षभित्रमा अस्पताल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेका सल्यानका आधारभुत अस्पतालको काम अझै सम्म पनि सम्पन्न हुन सकेको छैन् । साढे २ वर्ष अघि २०७७ मंसिर १५ गते जिल्लाका आठ पालिकामा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो । आफ्नै पालिकामा आधारभरूत तहको अस्पताल निर्माण हुन थालेको भन्दै स्थानियहरु पनि खुसी भएका थिए । तर गाउँमै विशेषज्ञ सहितको स्वास्थ्य उपचार सेवा पाउने स्थानियको सपना भने पुरा हुन सकेको छैन् ।


जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाकी दिलमाया खत्रीले स्वास्थ्य उपचारका लागि जिल्ला अस्पताल खलंगा वा सुर्खेत जानुपर्ने बाध्यता रहेको बताउनु भयो । ‘पालिकामै बिशेषज्ञ उपचार सेवा पाउने आसमा बसेको २७ महिना भइसक्यो, तर अहिले सम्म पनि भवन निर्माण भएको छैन, उहाँले भन्नु भयो यसैबर्षदेखी मात्र भवन निर्माणको थालनी भएको छ, त्यो कहिले पुरा हुन्छ थाहा छैन् । आर्थिक अवस्था कमजोर भएकाहरुलाइ आर्थिक जोहो गरेर उपचार गर्न जानुपर्ने हाम्रो बाध्यता रहेको उहाँको भनाइ छ ।


छत्रेश्वरी गाउँपालिकाका महेश घर्तीको पिडा पनि दिलमायाको भन्दा फरक छैन् । तामझामको साथ शिलान्यास भएको भवन अलपत्र पर्दा उपचारका लागि जिल्ला अस्पताल वा निजि मेडिकलमा जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । ‘जनतालाई आश्वासन दिनकै लागि हतारमा भवन शिलान्यास भयो, तर अहिले काम हुन सकेको छैन, उहाँले भन्नुभयो पालिकामै विशेषज्ञ उपचार पाउनबाट नागरिक बञ्चित भएका छन् ।

यता बागचौर नगरपालिका र सिद्ध कुमाख गाउँपालिका बाहेक अरु ६ वटा पालिकामा भवन निर्माणको काम शुरु भएको थियो । तर केही पालिकामा काम रोकिएको छ । दार्मा गाउँपालिकाको भल्चौरमा आधारभूत अस्पतालको पहिलो तलाको ढलान सकेर दोस्रो तलाको ढलानको तयारी हुदैँ छ । कुमाख गाउँपालिकाको कालागाउँमा अस्पतालको पहिलो तलाको ढलानको तयारी छ । अस्पताल निर्माणको लागि शिलान्यास भएको २६ महिना हुदाँ पनि केही पालिका अझै जग्गा खोज्दै छन भने केही पालिकामा भवन निर्माण अलपत्र परेको छ । ६ वटा पालिकामा १५ शैया र २ वटा पालिकामा १० शैयाको अस्पताल निर्माणका लागि शिलान्यास भएको थियो ।


कालिमाटी गाउँपालिकाको रामपुरमा पनि भवन निर्माण कार्य जारी छ । शिलान्यास भएर पनि जग्गा अपुग हुदाँ निर्माण रोकिएको बन्गाड कुपिण्डे नगरपालिकामा अस्पताल निर्माणको काम यसैवर्षदेखी शुरु भएको स्वास्थ्य शाखा प्रमुख बासुदेव पोख्रेलले जानकारी दिनुभयो । ‘पहिले शिलान्यास गरिएको ठाउँमा जग्गा पुगेन, स्थानियबाट जग्गा प्राप्त भएपछि अम्रामा भवन निर्माणको थालनी भएको छ,उहाँले भन्नुभयो ।


छत्रेश्वरी गाउँपालिकाको लेखपोखरामा अस्पताल भवन निर्माण कार्य अलपत्र छ । निर्माण कम्पनीले जग्गा सम्याउने र छड लगाएतका सामाग्री निर्माण स्थल सम्म पुर्याएपनि बाँकी काम अघि बढ्न सकेको छैन् । शिलान्यास भएको स्थानमा जग्गा कम हुदाँ कपुरकोट गाउँपालिकाको धनवाङमा भवन निर्माण कार्य रोकिएको छ । अस्पतालका लागि ७ रोपनी जग्गा हुनुपर्नेमा करिब २ रोपनी जग्गामा नै शिलान्यास गरेर निर्माण शुरु भएकाले अहिले भवन निर्माण कार्य रोकिएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो ।


‘पहिले गरिएको डिपिआर स्वीकृत भएन, जग्गा कम हुदाँ रकम निकासामा पनि समस्या भएको छ, जग्गाको व्यवस्थापन नगरेर शिलान्यास गरेर कामको थालनी गर्दा समस्या भएको हो, उहाँले भन्नुभयो,अहिले समस्या समाधान हुदैँ छ, थप जग्गा प्राप्तिको लागि पहल पनि गरिरहेका छौँ । उता सिद्ध कुमाख गाउँपालिकाको कालालेखमा अस्पतालको शिलान्यास भएपश्चात थप काम हुन सकेको छैन ।


बागचौर नगरपालिकाले अस्पताल निर्माणको लागि जग्गा प्राप्तिको प्रक्रियामा रहेको जनाएको छ ।नगरप्रमुख जनकराज गौतमले १० शैयाको अस्पताल निर्माणका लागि वजेट आएको र भवन निर्माणको लागि जग्गा प्राप्तीको क्रममा रहेको बताउनुभयो । थारमारेका दुई ठाउँ र कोटमौलाबाट गरेर तीन ठाउँका स्थानिय जग्गादानको प्रक्रियामा रहेको जानकारी दिंदै उहाँल्े आफुहरुले सबै जग्गा हेरेर आवश्यक प्रक्रिया अघि बढाउने र यसैबर्ष देखी भवन निर्माण शुरु हुने बताउनुभयो ।

प्रकाशित मिति: १ फाल्गुन २०७९, सोमबार ११:३५