
मिना बुढाथोकी
सल्यान फागुन ३
छत्रेश्वरी गाउँपालिका –१ दमाचौर निवासी नन्दकली कवर अहिले पनि टाउकोमा बमका छर्रासंगै आफ्नो दैनिकी व्यतीत गर्दै आएकी छन् । ०५९ जेठ २९ गते छत्रेश्वरी गाउँपालिका –१ दमाचौर को गुराँसेमा सेना र तत्कालीन विद्रोही माओवादीबीच भीडन्त हुँदा स्थानीय नन्दकलीलाइ बमको छर्रा टाउकोमा लागेपछि घाइते हुनुभयो । टाउकोमा लागेका तीन छर्रामध्ये दुईवटा छर्रा चिकित्सकले निकालेर फालेको बताउनुभयो ।
एउटा छर्रा अर्को पटक फाल्न सल्लाह दिए पनि आर्थिक अभावका कारण उहाँले अहिलेसम्म त्यो छर्रा निकाल्न नसकेको उहाँले बताउनुभयो । ‘तत्कालीन जनयुद्धका बेला सहयोग गरेको माओवादीको सरकार पटकपटक बन्छ तर हामीलाई वास्ता गर्दैन उहाँले भन्नुभयो, तिनैका ठूला नेता सामान्य उपचारका लागि पनि राज्यको ढुकुटीबाट उपचार गराउन विदेश जान्छन, हाम्रो लागि को छ र ? अलिअलि काम गरेर जम्मा गरेको रकमले दुई छाक खर्च टार्न ठीकै हुन्छ । हाम्रो लागि उपचार गरिदिने को छ र ?
०६१ चैत २४ गते रुकुमको खारामा नेपाली सेना र माओवादीबीच भएको भीडन्तका क्रममा बम विष्फोट हुँदा कालीमाटी गाउँपालिकाको काप्रेचौर जुमखोलाका कृष्ण केसी घाइते हुनुभयो ।उहाँको शरीरभर ५४ वटा बमका छर्रा लागे ।घरजग्गा,श्रीमतीका गहना बेचेर उपचार गर्दा उहाँले २२ वटा छर्रा मात्रै फाल्न सक्नुभयो । सबै छर्रा निकाल्न डाक्टरले २० लाख नगद लाग्ने भनेपछि आर्थिक अभावकै कारण उपचार गराउन नसकेको उहाँले बताउनुभयो ।आप्mनो शरीरमा अझै ३२ वटा छर्रा त्यत्तिकै रहेको उहाँले बताउनुभयो । आफु अहिले पनि उपचारको लागि दाताको पर्खाइमा रहेको बताउनुहुन्छ।
नन्दकली र कृष्ण मात्रै नभएर सशस्त्र युद्धका बेला सेना र माओवादीबीच ठाउँठाउँमा भएका भीडन्तमा सल्यानमा २ हजार भन्दा बढी घाइते भएका थिए । तीमध्ये जिल्लाका विभिन्न पालिकाका झन्डै एक सय जनाले अहिले पनि शरीरमा रहेको बमका छर्रा फाल्न सकिरहेका छैनन् । शरीरमा रहेका बमका छर्राका कारण उनीहरुलाई बेलाबेलामा विभिन्न समस्या देखिनगरेपनि सहज रुपमा उपचार गर्न नसकेको उहाँहरुको भनाइ छ । २०६० साल चैत २४ गते रुकुमको खारामा नेपाली सेना र माओवादीबीच भीडन्तका क्रममा घाइते भएका दार्मा गाउँपालिकाको भल्चौरका ४५ वर्षीय मनबहादुर विकले अहिलेसम्म हात खुट्टा र शरीरमा भएको छर्रा फाल्न नसकेको बताउनु भएको छ । छर्राका कारण कामकाज गर्न नसक्दा आम्दानी पनि घटेको उहाँको गुनासो छ ।
घाइते अपाङ्ग जिल्ला समितिका अध्यक्षसमेत रहेका रत्नबहादुर ओलीले त्यसबेला सबैले खुलेर आफ्नो समस्या उजागर गर्न नसक्दा र आर्थिक समस्याकै कारण धेरैले अहिले पनि उपचार गर्न नसकी छर्रा शरीरमै पालेर राख्नु पर्ने अवस्था सिर्जना भएको बताउनु भएको छ । कान र आँखामा छर्रा पालेर बस्नुपर्दा पछिल्लो समय आँखाको ज्योति हराउँदै गएको उहाँको भनाइ छ । २०६१ मा घाइते भएका बेला पोखराको एक अस्पतालमा उपचारका लागि गए पनि ५० हजार धरौटी मागेपछि त्यो तिर्न नसक्दा उपचारबाट बञ्चित हुनु परेको उहाँले बताउनुभयो ।
कुमाख गाउँपालिका ५ कालागाउँका धर्मे बुढाथोकी पनि २० वर्षदेखि शरीरमा छर्रका लुकाएरै बस्नु परेको बताउँछन् । २०५९ चैत ७ गते म्याग्दीको सदरमुकाम बेनीमा भएको भीडन्तमा दुई खुट्टामा बमको छर्रा लागेका बुढाथोकी अहिले पनि छर्रा निकाल्न ननसकेको बताउनुहुन्छ । घाइते तथा अपांग समितिका केन्द्रीय सदस्यसमेत रहेका उहाँले आफ्ना दुबै खुट्टामा अहिले पनि दर्जनभन्दा बढी सानासाना बमका छर्रा रहेको बताउनुभयो ।
बुढाथोकीका अनुसार उनीहरूले माओवादी युद्धका बेला शरीरमा बमका छर्रा लागेर घाइते भएकाहरूलाई उपचार गर्ने भनी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको अस्पतालसँग सम्झौता गरेका थिए । तर कसैले पनि सहज उपचार पाउन नसकेको बुढाथोकी बताउनुहुन्छ । सम्बन्धित निकायले पनि चासो नदेखाएको उनको गुनासो छ ।
प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार १२:११