विवाहको फजुल खर्च कटाएर विद्यालयमा अक्षयकोष

सल्यान, २७ फागुन ।

पछिल्लो समय विवाह कार्यमा भोज भतेर लगाएतमा फजुल खर्च बढिरहेको सन्दर्भमा सल्यानका एक दम्पतीले भने खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ६ निवासी किरण जंग बस्नेत दम्पतीले विवाहको खर्च कटाएर ५० हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।

किरण कपुरकोट ५ स्थित कृषि प्राविधिक धार सञ्चालन भइरहेको जिवनज्योती माध्यमिक विद्यालयमा ल्याव प्राविधिक पदमा कार्यरत छन् । सोही विद्यालयमा उनको दम्पतीले अक्षयकोष स्थापनाका लागि ५० हजार रुपैयाँ शुक्रबार हस्तान्तरण गरेका हुन् । अक्षयकोषको लागि आगामी वर्षमा रकम बढाउने जनाउदै किरणले विद्यालय परिवारसंगको समन्वयमा आवश्यक कार्यविधि बनाएर टुहुरा, विपन्न, गरिव र जेहेन्दार विद्यार्थिलाई छात्रवृति संगै शैक्षिक सामग्री वितरण गरिने बताए ।

यसका साथै आफुले अध्ययन गरेको कपुरकोट ६ स्थित भवानी माध्यमिक विद्यालय छायाँनाथमा पनि आगामी नयाँ वर्षमा ५० हजार रुपैयाँ राशीको अक्षयकोष स्थापना गर्ने उनको तयारी छ । किरण शारदा नगरपालिका २ निवासी सुनिता थापासंग वैवाहिक जिवनमा बाँधिदैछन् ।

प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार १०:०७