
कभरखबर १९, पुस । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यका आसपासका पहाडहरुसहित मुलुकभरका विभिन्न स्थानमा हिमपात भएको छ ।
चन्द्रागिरीमा हिउँ
चन्द्रागिरी डाँडामा हिउँ परेपछि हिउँ खेल्न जानेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । स्वदेशी र विदेशी पर्यटकहरुले खचाखच भरिएको चन्द्रागिरीमा हिउँ खेल्न युवायुवतीदेखि बालबालिकासम्म पुग्ने गरेका छन् । चन्द्रागिरीमा हिउँ परेपछि करिब ५ हजार भन्दा बढीको संख्यामा हिउँ खेल्न पुगेको हिल्सका म्यानेजर अभिषेक विक्रम शाहले जानकारी दिए । उनले भने–“चन्द्रागिरी आउनेहरुको संख्या बढेसँगै सुरक्षामा विशेष ध्यान दिएका छाै ।” यहाँ आउने अधिकांश पर्यटकहरु हिउँ खेल्नकै लागि आउने गरेकाले लडेर चोटपटक लग्ने तथा चिसोबाट विरामी हुने गरेकाले विशेष ध्यान दिईएको उनले बताए । मुलुकभर अत्याधिक चिसो बढेको शुक्रबारबाट बर्षासंगै हिमपात हुदाँ उपत्यका आसपासका चन्द्रागिरी, फुल्चोकी र शिवपुरी लगायतका डाडामा हिउँ परेको छ ।
मनाङमा खानेपानीका पाईप जमे
हिमाली जिल्ला मनाङमा भने तीन दिनदेखि निरन्तर हिमपात भईरहेको छ । हिमपातका कारण सडक अवरुद्ध हुँदा स्थानियलाई आवतजावतमा समस्या परेको छ । मनाङको नासोँ गाउँपालिकामाथिका सबै स्थानमा भारी हिमपात भएको हो । शनिबार बेलुकासम्म मनाङमा माइनस १२ डिग्री तापक्रम पुग्दा जनजीवन कष्टकर त बनेकाे छ नै, स्थानीय स्तरमा खानेपानीको समस्या भएको छ । अत्याधिक चिसो बढेपछि पानीका पाईपलाईनहरु जमेका छन् । पैदाल यात्रीलाई समेत बाटो पहिल्याउन कठिन भएपछि नेपाली सेना र सशस्त्र प्रहरी बलले सडक, झोलुङगे पुल, माटरेबल पुल र गोरेटो बाटो हिउँ पन्छाएका छन् ।
हिमपातले ३६ घण्टा सडक अवरुद्ध
भारी हिमपातका कारण विहिवार राती देखी अवरुद्ध डडेल्धुराका राजमार्ग सूचारु नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । सुदुरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा बिहीबार रातिदेखि हिमपात हुँदा भीमदत्त र दशरथचन्द राजमार्ग अवरुद्ध भएका हुन् । हिमपातले ३६ घण्टादेखी सडक अवरुद्ध हुँदा लामोदुरीका सवारीसधानमा यात्रुले गाडीमै रात विताउनु परेको छ । हिमपातका कारण यात्रुलाई सास्ती भएसंगै जिल्ला प्रशासन कार्यालय डडेल्धुराको पहलमा ३ वटा डोजर लगाएर बाटो खुलाइएको छ भने भीमदत्त राजमार्गमा पनि ४ वटा डोजर हिउँ सफा गर्नका लागि प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल जानकारी दिए ।
हिमपातले डडेल्धुरामा नेपाल टेलिकमको फोन, इन्टरनेट सेवा र विद्युत सेवा समेत अवरुद्ध छ । जिल्ला सदरमुकामका विद्यालयमा संचालित अर्धवार्षिक परीक्षासमेत प्रभावित भएको छ ।
प्रकाशित मिति: १९ पुष २०७६, शनिबार २०:४४