देशभर चिसो बढ्यो, शनिबारबाट मात्रै मौसममा सुधार हुने

सल्यान- पश्चिमी न्युन चापीय प्रणालीका कारण मंगलबार सल्यान सहित देशभर चिसो बढेको छ । यो प्रणाली सोमबार दिउँसोबाट नेपाल प्रवेश गरेको बताइएको छ । मंगलबार मौसममा आंशिक बदलि रही पश्चिमी उच्च हिमाली भूभागमा हिमपात तथा पश्चिमी पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यस प्रणालीका कारण बुधबार पनि देशका धेरै स्थानहरुमा बदलि रही उच्च हिमाली भूभागमा भारी हिमपात तथा पहाडी र तराईका केहि स्थानहरुमा वर्षाको सम्भावना छ । यो प्रणाली शुक्रबार सम्म नै रहनेछ। शनिबार बाट मौसममा सुधार देखिनेछ।
बिहिबार र शुक्रबार देशभर सामान्य बदलि रही उच्च हिमाली भूभागमा हिमपात हुनसक्ने तथा केहि स्थानहरुमा वर्षा हुन सक्ने हुँदा चिसो बढ्ने हुनाले सतर्क रहन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति: २२ पुष २०७६, मंगलवार ०९:१८