यात्री बोकेको विमान इरानमा दुर्घटना हुँदा एक सय ७६ जनाको मृत्यु

एजेन्सी– एक सय ७६ जनाको मृत्यु हुने गरी इरानमा एक यात्रीवाहक विमान दुर्घटना भएको छ । राजधानी तेहरानको इमाम खोमेनी अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै बोइङ ७३७ विमान दुर्घटनामा परेको अन्तर्रा्ष्ट्रिय सन्चारमध्यमहरुले जनाएका छन् । युक्रेनको सो विमान बुधबार बिहान तेहराननजिकै दुर्घटना भएको हो ।

इरानको उड्डयन संगठनका प्रवक्ताकाअनुसार विमानमा १६७ जना यात्री र चालकदलका ९ सदस्य सवार थिए । उनीहरु सबैको मृत्यु भएको जनाइएको छ । सुरुमा विमानमा १८० जना सवार रहेको समाचार आएको थियो ।

विमान युक्रेनको राजधानी किभका लागि उडेको थियो । दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन । इरानी समाचार एजेन्सी ‘फार्स’ले भने प्राविधिक समस्याका कारण विमान दुर्घटना भएको जनाएको छ । दुर्घटनास्थलमा उद्धार टोली खटाइएको छ ।

प्रकाशित मिति: २३ पुष २०७६, बुधबार १३:३१