रुकुम(प) मा जीप दुर्घटनाः १२ घाईते, तीनको अवस्था गम्भीर

सल्यान – बुधबार रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

डोल्पाको मुड्केचुला गाउँपालिका–७, का २३ वर्षीय राज बुढा, १८ वर्षीय आर्यन बुढा र डोल्पा ठूलीभेरी नगरपालिका–५, का ५२ वर्षीय चन्द्र बहादुर रोकाय गम्भीर घाइते भएका छन्।

डोल्पाको खदाङबाट रुकुम पश्चिमको गोतामकोटतर्फ आइरहेको ग १ ज ५२०१ नम्बरको जिप दुर्घटना भएको हो । बुधबार बिहान १० बजे जाजरकोट–डोल्पा सडकखण्डको मनका बगरमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाईते सबैजनालाई उपचारका लागि आठबीसकोट नगर अस्पतालमा ल्याइएको रुकुमका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कविराज रोकायले बताउनुभयो । गाडी चालक तिलक बिक भने फरार रहेको बताइएको छ ।

प्रकाशित मिति: २३ पुष २०७६, बुधबार १७:१३