
काठमाण्डौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि सोमबार अपरान्हबाट नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने पश्चिमी न्युन चापीय प्रणालीका कारण सोमबार बेलुका र मंगलबार देशका पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ ।
आईतबार आज विशेष बुलेटिन जारी गर्दै महाशाखाले पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी पहाडी तथा तराईका केही भूभागमा हल्का वर्षा हुने सम्भावना रहेको समेत उल्लेख गरेको छ । यस प्रणालीको प्रभाव देशको पश्चिमी भूभागमा मंगलबारसम्म नै रहने हुनाले सतर्क रहन अनुरोध गर्दै महाशाखाले मंगलबार रातीबाट उक्त पश्चिमी न्युन चापीय प्रणाली कमजोर हुने र मौसममा सुधार हुने जनाएको छ ।
तराई क्षेत्रमा भने आज हुस्सु र कुहिरो लागेको समेत पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । महाशाखाले आज देशका पहाडी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
प्रकाशित मिति: २७ पुष २०७६, आईतवार १०:४५