मण्डलिका पास्टरले परमेश्वरको त्रास देखाएर युवतीको बलात्कार गरे

काठमाण्डौँ –  ललितपुरको कुसुन्तीस्थित क्रिस्चियन धर्मको आशा मण्डलीका पास्टरले एक युवतीको शारीरिक अस्वस्थतालाई निको पार्ने भन्दै बलात्कार गरेको खुलेको छ । सोमवार बलात्कारको उजुरी परेपछि महानगरीय प्रहरी परिसर ललितपुरले ध्रुबबाबु भनिने विश्वास जोशीलाई पक्राउ गरेको थियो ।

पास्टर जोशीले २१ वर्षीया युवतीलाई शारीरिक सम्बन्ध राखे ‘पाप पखालिने’ भनेर पटक–पटक यौन सम्बन्ध राखेको खुल्न आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष तामाङले बताए । ‘पास्टर बताउने विश्वास जोशीले युवतीलाई धर्मको नाममा प्रलोभनमा पारेर पटक–पटक अनैतिक यौन सम्बन्ध राखेको देखिन्छ,’ उनले भने । जोशीले चर्च्भित्र परमेश्वरको प्रार्थना गर्न लगाएर होटलमा लैजाँदै जबरजस्ती करणी गर्ने गरेको खुलेको छ ।

‘तिमीले सानैमा धेरै पटक यौन सम्पर्क राखेकाले पाप लागेर शारीरिकरुपमा यस्तो अवस्था भएको हो,’ पास्टरले शुरूमै आफूलाई भनेको भनाई उदृत गर्दै सुनिताले प्रहरीसमक्ष बयानमा भनेकी छन्, ‘यदि तिमी निको हुने र पापबाट मुक्त हुने भए मसँग यौन सम्पर्क राख्नुपर्छ ।’

परमेश्वरको त्रास देखाएर बलात्कार !

ललितपुरकी सुनिता (नाम परिर्वन) सानैदेखि शारीरिक रुपमा अस्वस्थ थिइन् । परिवारबाट समेत उनलाई खासै सहयोग थिएन । त्यसैले गर्दा उनले एसएलसी पास गर्न पनि पाइनन् । उनले सानैमा बालविवाह गरिन् तर दीगो भएन । उनी फेरि माइतमै आइन् । त्यसपछि उनी विक्षिप्त भइन् । माइती घरपरिवारको दिनदिनैको गालीले गर्दा उनी आफैं केही गर्ने सोचमा थिइन् तर शारिरीक अस्वस्थताले जे पायो त्यही काम गर्न सक्ने अवस्था भने थिएन । त्यति नै बेला उनी कोटेश्वरमा रहेको महिलालाई सीपमूलक तालिम दिएर स्वावलम्बी बनाइदिने संस्थाकी सञ्चालक अन्जनाको सम्पर्कमा आइन् ।

संस्थामा सीप सिकेर सुनिताले नखिपोटमा संस्थाकै सहयोगमा कस्मेटिक पसल खोलेर चलाउन थिइन् । नखिपोटबाट नजिकै कुसुन्तीमा थियो पास्टर विश्वास जोशीको आशा मण्डली चर्च । शारीरिकरुपमा अशक्त रहेका व्यक्तिलाई पास्टरले निको पार्दै आएको कुरा पसलमा आउने ग्राहकबाट सुनेपछि आफू चर्चमा गएको सुनिताले प्रहरीलाई बताएकी छन् । गत मंसिर २० गते उपचार हुने आशमा सुनिता जोशीको चर्चमा पुगिन् । चर्चमा आएपछि उनी अस्वस्थ रहेको थाहा पाएको जोशीले प्रहरी समक्ष बयान दिएका छन् ।

‘तिमीले सानैमा धेरै पटक यौन सम्पर्क राखेकाले पाप लागेर शारीरिकरुपमा यस्तो अवस्था भएको हो,’ पास्टरले शुरूमै आफूलाई भनेको भनाई उदृत गर्दै सुनिताले प्रहरीसमक्ष बयानमा भनेकी छन्, ‘यदि तिमी निको हुने र पापबाट मुक्त हुने भए मसँग यौन सम्पर्क राख्नुपर्छ ।’

शारीरिकरुपमा निको हुने आश बोकेर आएकी सुनिताले पास्टरलाई सजिलै विश्वास गरिन् । गोरखा नगरपालिका–६ छहरे घर भएका विश्वास जोशीले सोही दिन सुनितालाई ललितपुरको महालक्ष्मीस्थान नजिकै रहेको सिटी गेस्ट हाउसमा लगे । सुनिताले प्रहरीलाई दिएको बयानअनुसार पास्टरले त्यो गेस्ट हाउसमा रजिस्टरमा दर्ता नगरी नै कोठामा लगेका थिए ।

गेस्ट हाउसमा नाम दर्ता नगराई कोठामा प्रवेश गर्न पाइँदैन । पास्टर जोशी समय–समयमा होटलमा जाने भएकाले उनले रजिस्टरमा नाम दर्ता नगरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पास्टर जोशी समय–समयमा गेस्ट हाउसमा आउने, १५ मिनेट आधा घण्टा बस्ने र १ हजार रुपैयाँ दिएर जाने भएकाले दर्ता नगरेको गेस्ट हाउसका सञ्चालकले जनाएका छन् ।

‘उहाँ बेला–बेलामा केटीहरू लिएर आउने, १ हजार रुपैयाँ दिएर १५–३० मिनेट जति बस्ने र जाने गर्नुहुन्थ्यो । त्यो दिन पनि लगभग १५ मिनेट जति बस्नुभएको थियो,’ उनले भने । गेस्ट हाउसमा पास्टरले ‘परमेश्वरले भनेको’ भन्दै जबरजस्ती गरेर २ पटक पसलमै बलात्कार गरेको सुनिताले प्रहरीलाई बयान दिएकी छन् ।

स्वास्थ्य निको नभएपछि सुनिताले पास्टरसँग शारीरिक सम्पर्क गर्न मानिनन् तर पास्टरले धम्की दिँदै र परमेश्वरको आदेश भन्दै जबरजस्ती शारीरिक सम्पर्क राखिरहे । ‘यदि कसैलाई भनिस् भने तँलाई मारिदिन्छु भन्दै पास्टरले धम्की दिएका थिए,’ उनले भनेकी छन् । सुनिता १ महिनासम्म सहेर बसिन् । १ महिनापछि सुनिताले आफूलाई सहयोग गर्ने संस्थाकी सञ्चालक अन्जनालाई सबै बेलिविस्तार बताइन् ।

सञ्चालक अन्जनाको सहयोगमा सुनिताले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिइन् । प्रहरीले पास्टर विश्वास जोशीलाई पुस २८ गते पक्राउ ग¥यो । प्रहरीले जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप गरी घटनाको अनुसन्धान गरिरहेको छ । –लोकान्तर बाट

प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार ०९:४३