नयाँ पत्रकार सदस्यताको लागि आवेदन आह्वान, योग्य र ईच्छुकले फाराम भर्न सक्ने

सल्यान– नेपाल पत्रकार महासंघ सल्यान शाखाको नयाँ सदस्यताको आवेदन खुल्ला गरिएको छ । जिल्ला शाखाले नयाँ सदस्यता आह्वान सम्बन्धी सूचना जारी गरे संगै सल्यानका विभिन्न सञ्चार संस्थामा कार्यरत पत्रकारहरुका लागि साधारण सदस्य बन्ने बाटो खुलेको हो ।

महासंघको विधान अनुसार १२ कक्षा पास भै नियमित रुपमा मिडियामा काम गर्दै आएका सञ्चारकर्मीले आवश्यक कागजपत्रसहित फारम भर्न सक्ने महासंघका जिल्ला प्रतिक ईच्छुक शर्माले बताए । यही माघ ९ गतेसम्म पत्रकार महासंघ सल्यानको सदस्यता फारम भर्न सकिने उनले बताए । सदस्यताको टुंगो पत्रकार महासंघको कार्य समिति बैठकले लगाउनेछ ।

 

जिल्ला शाखा सचिव शंकर के सीले जारी गरेको सूचनामा पत्रकारिता वा अरू कुनै विषयमा स्नातक उत्तीर्ण गरी एक वर्षदेखि पत्रकारिता पेशामा लागेको व्यक्ति , पत्रकारिता वा अन्य कुनै विषयमा उच्च माध्यमिक तह वा सो सरह उत्तीर्ण गरी दुई वर्षदेखि पत्रकारिता पेशामा लागेको व्यक्तिले सदस्य बन्नका लागि आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।

‘तर, महिला, आदिवासी जनजाति, दलित, मधेशी, थारू, मुस्लिम, अपाङ्गता वा अन्य पहिचान भएका व्यक्ति र अल्पसंख्यक, उत्पीडित वा पिछडिएको क्षेत्रको हकमा एक वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील भए पुग्नेछ’, पत्रकार महासंघ सल्यानको सूचनामा भनिएको छ । महासंघको सदस्य हुन १८ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्ने छ । नयाँ सदस्यताका लागि फारम पत्रकार महासंघ नेपालको वेभसाइट वा पत्रकार महासंघ सल्यानमा सम्पर्क गरी लिन सकिनेछ ।

नयाँ सदस्य बन्न चाहने योग्य र ईच्छुक पत्रकारले तोकिएको ढाँचाको आवेदन साथ शैक्षिक योग्यताको प्रतिलिपि, नियुक्तिपत्रको प्रमाणित प्रतिलिपि, अनुभव खुल्ने सिफारिस पत्र, नागरिकताको प्रमाणित प्रतिलिपि, गएको वर्षमा प्रकशित, प्रशारित समाचार सामग्रीको प्रतिलिपि पेश गर्नुपर्ने जनाइएको छ ।

सदस्यताका लागि आवेदन ढाँचा हेर्न यहाँ क्लिक  गर्नुहोला

प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार १२:०२