ग्रान्डी अस्पतालको लापरवाहीले १८ महिने वालक जीवन-मृत्यु संग लड्दै, जसको टाउकोमा ब्रेन नै छैन

काठमाडौं – चिकित्सकको लापरबाहीले १८ महिनाका एक बालक जीवन–मृत्युसँग लडिरहेका छन् । चार पटक शल्यक्रिया गरिएको रिहान न्यौपानेको टाउकोमा ‘ब्रेन’ नै छैन । रिहानमाथि भएको लापरबाहीको हदबारे मेडिकल काउन्सिलमा उजुरी पर्दासमेत पनि काउन्सिलले कसैमाथि कारबाही गर्न चासो दिएको छैन ।

२०७५ साल असार १२ गते काठमाडौंको ग्रान्डी अस्पतालमा जन्मिएका रिहानको ९ महिना पुग्दासम्म चारपटक टाउकोको शल्यक्रिया भयो । जन्मिएको केही समयपछि नै चिकित्सकले सास फेर्न समस्या भएको भन्दै ‘एनआइसीयु’मा राखे । समस्या बढेको भन्दै रिहानलाई ‘भेन्टिलेटर’मासमेत राखियो । त्यसपछि उनमा विभिन्न समस्या देखिन थाल्यो । चिकित्सक ‘शल्यक्रिया गर्नुपर्छ’ भन्न थाले ।

रिहानका बुवा सन्जिवले चिकित्सकको सल्लाह माने र रिहानको तीन महिनामा टाउकोको तीनपटक शल्यक्रिया भयो । रिहान जन्मिएको तीन महिनासम्म ग्रान्डी अस्पतालमा नै रहे । टाउकोमा ‘पिप जमेको छ’ भन्दै चिकित्सकले रिहानको पुनः ९ महिनामा नै टाउकोको चौथो शल्यक्रिया गरे । शल्यक्रियापश्चात् रिहानलाई औषधि दिन सुरु गरियो । जसमा नर्र्सले ‘६६ एमएल डोज’को सिटामोल दिन तयार हुँदा रिहानको आमा एकताले ‘त्यो त धेरै भयो, चिकित्सकलाई सोधेर आउनुहोस्’ भन्दै पठाइन् ।

नर्सले चार एमएलमात्र हो भन्दै आएपछि पुष्टि भयो, रिहानलाई ६६ एमएल डोजको सिटामोल दिइरहेको रहेछ । अस्पतालमा खैलाबैला सुरु भयो । रिहानको कलेजो, मिर्गौला परीक्षण गरियो । रिहानका बुवा सन्जिवले अस्पतालले गल्ती गरेको भन्दै प्रश्न गरे । अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले गल्ती स्वीकार गर्नुको साटो ‘हामी केही गर्न सक्दैनौं, चित्त बुझेको छैन भने काउन्सिल जाऊ’ भन्दै पन्छिए ।

रिहानको टाउको अस्वाभाविकरुपमा बढ्दै गयो । सन्जिवले गत जेठ ८ गते मेडिकल काउन्सिलमा उजुरी दर्ता गरे । पछि सन्जिवले रिहानको रिपोर्टहरु अन्य चिकित्सकलाई देखाउँदा पो थाहा भयो, रिहानको टाउकोमा त दिमाग नै छैन । सन्जिवको होस–हवास उड्यो । दोषीहरुमाथि कारबाहीको आशा बोकेर काउन्सिल पुगेका सन्जिवलाई तब धक्का लाग्यो, जब काउन्सिलले अस्पताल र चिकित्सकको गल्ती देखाएर पनि चिकित्सक र अस्पताललाई सचेत गराउने प्रतिवेदन बुझायो ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारी ‘चिकित्सकलाई सचेत गराउनु भनेको ठूलो कारबाही हो’ भन्दै विज्ञ टोलीले बुझाएको प्रतिवेदनअनुरुप नै आफूले गरेको भन्दै पन्छिन खोजे । तर, रिहानका बुवा सन्जिव ‘प्रतिवेदनले चिकित्सकको गल्ती देखाएर सचेतमात्र गराउनु न्यायपूर्ण होइन । मैले क्षतिपूर्ति माग गरेको छैन । अब मेरो बच्चालाई जस्तो अरुलाई नहोस् भन्ने मात्र मेरो चाहना हो’–भन्छन् । हाल रिहान बोल्न, रुन, हाँस्न, चल्न केही गर्न सक्दैनन् । उनलाई यो अवस्थामा पुर्‍याउनेहरुलाई कारबाही गराउन राज्यले तत्काल कदम चाल्नुपर्ने जरुरी छ ।

प्रकाशित मिति: ४ माघ २०७६, शनिबार १८:२७