सोलार पम्पीङ खानेपानी योजनाले घर–घरमा धारा

सल्यान – खानेपानीको तिब्र समस्या झेलीरहेका सल्यान उनवाङका ७४ घरपरिवार लिफ्ट प्रणाली मार्फत खानेपानीको सुविधा पाएपछि खुशी भएका छन । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर १ उनवाङमा सोलार पम्पीङ खानेपानी योजना सञ्चालन भएपछि उनीहरु खुसी भएका हुन् । अहिले सम्म खानेपानीको जोहो गर्दैमा समय वितेको गुनासो गर्ने उनवाङ निवासि पानसरी दमाई वस्ती भन्दा धेरै तलको पानी माथी तानेर खान पाईने भएपछि निकै हर्षित भएकि छिन् । काददुरी एग्रीकल्चर एशोशियसन ब्रिटिस गोर्खा नेपालले योजना सञ्चालन गरेको हो । जसमा ७४ घरपरिवारले पनि ७५ दिन सम्म जनश्रमदान गरेका छन् ।

खानेपानीको निकै समस्या झेलेका उपभोक्ताहरुले स्वस्फुर्त रुपमा ३८ लाख ८५ हजार रुपैयाँ बराबरको श्रमदान गरेको कपुरकोट १ का वडा अध्यक्ष बालाराम खड्काले जानकारि दिए । उनका अनुसार हरेक घरमा धारा निर्माण गरिने छ । सोलार पम्पीङ खानेपानी योजनाको सफल परीक्षण भइसक्यो, एक घर एक धारा निर्माण गरिएको छ, वडाध्यक्ष खड्काले भने, हाल सम्म ४५ घरमा धारा निर्माण भइसकेको छ ।

योजनाको अन्य काम पनि सम्पन्न भइसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष लिल बहादुर रावतले बताए । ५ सय ४ मिटर तल धारापानीबाट वस्ती माथी बयलडाँडामा लिफ्ट प्रणालीबाट पानी तानिएको उनले बताए । मुहानमा १२ हजार लिटर क्षमताको पम्प हाउस निर्माण गरिएको छ भने विचमा ८ हजार लिटर क्षमता र माथी बयलडाँडामा १४ हजार लिटर क्षमताको रिजर्व टंकी निर्माण गरिएको छ ।
यस अघि गाउँलेहरुलाई आधा घण्टा देखी एक घण्टा सम्म समय लगाएर गाग्रीमा डाठै उकालीमा पानी बोक्नुपर्ने बाध्यता थियो । स्थानीय डिलसरि रावतले अव आफुं र आफु पछाडीका सन्तानले खानेपानीका लागी दुख ब्यहोर्न नपर्ने भयो भन्दै खुसि ब्यक्त गरिन् । उनले भनिन्, ‘घर आँगनमा धारा निर्माण भएको छ, घर अगाडीकै धारामा पानी आउने भएपछि हामी त दंग छौँ ।’ यस अघि पोखरीमा जम्मा भएको पानी पिउने गरेको उनले सुनाईन् ।

कादुरी एग्रीकल्चर एशोशियसन ब्रिटिस गोर्खा नेपालको सहयोग र स्थानीयको जनश्रमदानबाट उनवाङमा लिफ्ट प्रणालीबाट वृहत खानेपानी योजना सञ्चालन भएपछी स्थानीयको पानी पिउने सपना पुरा भएको हो । ८ सेकेन्डमा १० लिटर पानी रिजर्व टंकीमा जम्मा हुने गरेको वडा नं १ का वडाध्यक्ष खड्काले जनाए । उनले गाउँपालिकाको सहयोगमा आफ्नो वडाको लामपोखरा र सारपानीमा पनि लिफ्ट प्रणालीबाट तलको पानी माथी रहेको वस्तीमा तानिएको बताएका छन् ।

प्रकाशित मिति: ९ माघ २०७६, बिहीबार १३:३७