
सरकारले पुरातत्व सम्पदाको पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई संग्राहलयमा राख्ने भएको छ ।
पुरातत्व विभागले आईतबार भूकम्पबाट क्षति भएका सम्पदाहरुको पुननिर्माणको अवस्थाबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु संग्राहलयमा राखिने बताउनु भएको हो ।
मन्त्री भट्टराईले नेपालमा संस्कृति, सभ्यता र प्राकृतिक पर्यटन मुख्य रहेको उल्लेख गर्दै पर्यटनको विकासका लागि पुरातात्विक सम्पदाको भूमिका बढाउनुपर्ने बताउनुभयो ।
भूकम्पले भत्काएका ९२० सम्पदामध्ये ४ सय सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । पुरातत्व विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार १२ वैशाख २०७२ को भूकम्पबाट भत्किएका सम्पदामध्ये ४ सय वटाको पुनर्निर्माण सकिएको हो, १ सय ५० वटा सम्पदा पुनर्निर्माणको काम चालु आर्थिक वर्षं भित्र सक्ने लक्ष्य रहेको विभागले जनाएको छ ।
सम्पदा पुनर्निर्माणमा खर्च हुँदैछ सवा ९ अर्ब
भूकम्पले भत्काएका सम्पदाको पुनर्निर्माणमा कूल लागत ९ अर्ब १८ करोड ७८ लाख रुपैयाँ हो । यसमध्ये आर्थिक वर्ष २०७५/७६ सम्म २ अर्ब ३९ करोड रुपैयाँ खर्च भइसकेको छ । चालु आव २०७६/७७ मा ३ अर्ब १७ करोड रुपैयाँ खर्च हुँदैछ ।
त्यसपछिको दुई आवमा सम्पदा पुनर्निर्माण सक्ने लक्ष्य लिइएको पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले जानकारी दिए । उनका अनुसार आगामी आव २०७७/७८ मा १ अर्ब ८१ करोड २ लाख र आव २०७८/७९ मा १ अर्ब ८१ करोड रुपैयाँ खर्च हुने भएको छ ।
पुननिर्माणमा नेपाल सरकारबाहेक भारतीय अनुदान सहयोग, भारतीय एक्जिम बैंक र जापान सरकार, एसियाली विकास बैंक, चीन सरकार, यूनेस्कोलगायतको लगानी रहेको छ ।
विश्व सम्पदा क्षेत्रका अधिकांश संरचना ठडिए
पुरातत्व विभागका अनुसार विभागले जिम्मा लिएका सम्पदामध्ये विश्व सम्पदा क्षेत्र भित्र भत्किएका सम्पदा मध्ये अधिकांश पुनर्निर्माण भइसकेका छन् । कूल १७० सम्पदा विश्व सम्पदा सूचि भित्र भत्किएका थिए । त्यसमध्ये १ सय १ संरचना पुनर्निर्माण सकिएको छ । ५४ वटा सम्पदा पुनर्निर्माणको प्रक्रियामा रहेका छन् । १५ वटा संरचनाको भने पुनर्निर्माण शुरु नै हुन सकेको छैन ।
प्रकाशित मिति: २६ माघ २०७६, आईतवार २२:०१