प्रहरी र नागरिकको सम्वन्ध मजवुत बनाउदै प्रहरी

केही समय यता सल्यान प्रहरीले समुदायसंग सम्वन्ध निकट बनाउनका लागि बिभिन्न अभियानहरु सञ्चालन गर्दै आएको छ । बाल बिवाह न्युनिकरण होस या अबैध घरेलु मदिरा नियन्त्रणका लागि प्रहरीले अभियान नै सञ्चालन गर्दै आएको छ ।
पछिल्लो समय प्रहरीले बाल बिबाह न्युनिकरणका लागि सरोकारवालाहरुसंग समन्वय गरी जिल्लाका ४६ हजार भन्दा बढि घरधुरीहरुमा पुगेर महत्वपुर्ण टेलिफोन नम्बर सहितको सचेतनामुलक स्टिकर टाँसेको छ । जिल्लाका १० वटै स्थानीय तहसंग समन्वय तथा साझेदारीमा कार्य सम्पन्न गरिसकेपछि सडक सुरक्षाका लागि अभियान शुरु गरेको छ ।
सल्यान जिल्लाभित्र प्रवेश गर्ने तथा जिल्लाबाट बाहिर जाने सार्वजनिक सवारीका साधनहरुमा “यात्रुसंग ५ मिनेट” कार्यक्रम सञ्चलन गरिरहेको छ । सार्वजनिक सवारीसाधनहरुमा आफै पुगेर सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले यात्राका क्रममा हुने विभिन्न समस्याहरुका बारेमा जानकारी लिने र कानुन विपरित कार्य भएको भए कारवाही अगाडी वढाउने कार्य गरिरहनुभएको छ । यात्रुसंग प्रहरीले के तपाई यात्रा गर्दा गाडी चालक तथा सहचालकबाट दुव्र्यवहारमा पर्नु भएको छ ? तपाईसंग बढि भाडा लिएको छ ? यात्रा गर्दा चालक र सहचालकले मदिरा सेवन गरेका थिए ? के लामो दुरीको यात्रामा एउटा मात्रै चालकले गाडी चलाएको हो ? लगायतका प्रश्नहरु सोध्ने र त्यस्तो तलमाथी केही भएको भए कारवाही गर्ने भनेपछि यातायात व्यवसायी प्रालिहरु समेत सचेत हुन थालेका छन् । यसकै शिलशिलामा शुक्रबार छत्रेश्वरी गाउपालिकाको सहयोगमा जिल्लाका सवै सार्वजनिक सवारी साधनहरुमा स्टिकर टाँस्ने अभियान चलाएको छ ।
यात्राका क्रममा यात्रुहरुले कुनै पनि प्रकारको दुख भोग्न नपरोस र सुरक्षित यात्रा गर्न पाउँन भनेर अभियान चलाईको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडा बताउनुहुन्छ । “स्टिकरमा यात्रुुलाई कुनै पनि किसिमको दुव्र्यबहार भए नभएको मात्रै हैन प्रहरीले समेत कुनै किसिमको दुव्र्यवहार गरे स्टिकरमा भएका नम्वरहरुमा तत्काल सम्पर्क गरी सेवा लिन सक्नेछन्।” खतिवडाले भन्नुभयो ।
यति मात्र हैन यसरी टाँसिएका स्टिकरहरुको सुरक्षा सवारीसधानसंग सम्वन्धितहरुले लिनुपर्ने खतिवडाको भनाई छ ।“हामीले जिल्लाका सवै सार्वजनिक सवारी साधनहरुमा स्टिकर टाँस्ने छौ यो सुरक्षित छ की छैन भनेर नियमित अनुगमन गरिनेछ अनुगमनका क्रममा स्टिकर नभेटिएमा सम्वन्धित सवारीधनीबाट क्षतिपुर्ति असुल गर्ने छौ किनकी स्टिकरमा खर्च भएको पैशा राज्यको पैशा हो यसको दुरुपयोग हुन दिदैनौ” खतिवडाले भन्नुभयो ।
सडक सुरक्षामा प्रहरीको यो अभियानको चौतर्फी प्रशंसा गर्न थालिएको छ । स्थानीय तहसंगको समन्वयमा सल्यान प्रहरीले जनमुखी कामको थालनी गरेर मन जितेको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले वताउनुभयो ।“स्थानीय तह आफैले गर्ने काम प्रहरीले स्थानीय तहको समन्वयमा गरेर प्रहरीले समुदायको मन जितेको छ, यसका लागि प्रहरी प्रमुख आफै खटिएर उदाहरणीय बन्न सफल हुनु भएको छ ।” अध्यक्ष केसीले भन्नुभयो ।
जिल्लामा शान्ति सुरक्षा कायम गर्न मात्रै हैन प्रहरी हाम्रो साथी हो भनेर प्रमाणित गर्नका लागि प्रहरीले यात्रा अगाडी बढाएको छ । कुनै न कुनै अभियान लिएर प्रहरी समुदायमा छिरेर जनतासंग नजिक हुने कोसिसमा प्रहरी रहेको छ । सडक सुरक्षाका लागि जिल्लामा प्रहरीले कडा नीति लिएको छ । सडकमा बिना लाइसेन्स सवारी नपाउने भएकोले सडकमा जाँचका लागि जिल्लाका ९ वटा स्थानहरुमा ट्राफिक प्रहरीबाट चेकजाँचको व्यवस्था गरेको छ । यति मात्र हैन प्रहरीले सवारी साधनहरुमा सडक सुरक्षा सम्वन्धी भिडियो हेर्ने व्यवस्था भएका सवारीहरुमा भिडियो हेर्ने ब्यवस्था गरेको र अडियो मात्र भएका सवारी साधनहरुमा अडियोको व्यवस्था गरी सडक सुरक्षा सम्वन्धी जानकारी दिइरहेको छ ।
यसरी प्रहरीले गरेको यो कार्य प्रशंसनिय भएको सल्यान रुकुम यातयात प्रालिका अध्यक्ष अरविन्द राई बताउनुहुन्छ ।“प्रहरीले सार्वजनिक सवारीका साधनहरुमा स्टिकर टाँस्ने कार्य एकदमै स्वागत योग्य छ यसले यात्रा गरिरहेका यात्रुहरुलाई आफुले कुनै पनि किसिमको असुरक्षा महशुस गरेमा तत्काल प्रहरीलाई फोन गर्न सक्नेछन् ।” अध्यक्ष राईले भन्नुभयो “हामीले पनि धेरै कुराहरुमा सचेत गराएका हुन्छौ तर पनि कहिलेकाँही यस्ता गुनासाहरु आउने भएकोले अव यात्रु स्वयमले सिधै प्रहरीको सहयोग लिन सक्नेछन् यसले यात्रुहरुलाई मात्र हैन सवारी साधनसंग सम्वन्धित व्यक्तिहरुलाई समेत गराउने छ ।”
प्रहरीले यो अभियान चलाउदा सल्यान जिल्लाबाट यात्रा गर्ने कुनै पनि यात्रुले समस्या भोग्नु नपर्ने विस्वास आफुले लिएको सल्यान उद्योग बाणिज्य संघका अध्यक्ष बिर वहादुर चलाउनेले वताउनुभयो । “प्रहरीले गरेको यो कदम स्वागतयोग्य छ यसले यात्रु र सवारीधनी तथा चालक र सहचालकहरुलाई जिम्मेवार बनाउन मद्दत पुग्ने छ , समस्यामा परेका यात्रुहरुले सहयताका लागि कतै सम्पर्क नगरी स्टिकरमा रहेका नम्वरहरु मध्ये आफुलाई पायक पर्ने स्थानमा सम्पर्क गरी सहयता लिन सक्नेछन् ।”
प्रहरीले चलाएको यो अभियानबाट सवारी दुर्घटनामा कमी आउने विस्वास गरिएको छ । यो भन्दा अगाडी नै चालक अनुमति पत्र नभएका अटो चालकहरुलाई सचेत गराउने र अटो समेत नियन्त्रणमा लिएपछि अहिले श्रीनगर खलंगा सडकमा चल्ने अटोहरु चालक अनुमति पत्र नभएका छैनन । यसका साथै उनिहरुले क्षमता भन्दा बढि यात्रुहरु चढाउने गरेका छैनन । यस भन्दा पहिले क्षमता भन्दा बढि यात्रुहरु बोकेकै कारण अटोहरु दुर्घटनामा पर्ने गरेका थिए अहिले भने अटो दुर्घटनाका समाचार सुन्नु परेको छैन ।
जिल्लामा भएको प्रहरीका हरेक कदमले जिल्लाको शान्ति सुरक्षा कायम हुने मात्र हैन यसले प्रहरी र नागरिकबीचको सम्वन्ध समधुर बनाउछ भन्ने कुरा भन्दा अतियुक्ती नहोला ।

प्रकाशित मिति: ९ फाल्गुन २०७६, शुक्रबार २२:१९